यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः
ज-जसले जे भने पनि कमैया भएर आमाबाबुसँगै काम गर्ने वा घर छाडेर हिँड्नेमध्ये एउटा विकल्प रोज्नुपर्ने भयो उनले।
स्कुलमा आफ्नै साथीहरूले 'हिजडा' भनेर उडाए, कसैले 'छक्का' भने। गाउँघरका मान्छेहरू आमाबुबालाई 'तिमीहरूको छोरो के भएको हो, सम्झाओ' भन्न थाले।
उनी स्कुल जानै सकेनन्। आठ कक्षा पढ्दा पढ्दै १५ वर्षको उमेरमा स्कुल छाडे। यही समय हो उनले दुईमध्ये एक विकल्प रोज्नु परेको।
कमैया बन्ने मन भएन।
त्यो समय भारतीय ठेकदारहरू मजदुर खोज्दै उनको गाउँमा आउँथे। घर बनाउने कामका लागि भन्दै गाउँका युवाहरूलाई भारत लैजान्थे।
'म पनि एक जना भारतीयको पछि लागेँ। काम गर्दै घुम्दै सिम्ला पुगेँ,' बर्दिया, गुलरियाका रामु चौधरीले सुनाए।
रामु २०४४ सालमा गुलारियामा जन्मेका हुन्। उनका आमाबाबु मालिकको घरमा कमैया थिए। चौधरी समुदायमा छोराछोरी पढाउनुपर्छ भन्ने चेतना बढ्दै थियो। बुबाले बगलामुखी विद्यालयमा उनलाई भर्ना गराए।
त्यति बेलाको समाजमा घरभित्रको काम छोरीले गर्नु पर्छ भन्ने मान्यता थियो। रामु घरभित्रको काम गर्न रमाउँथे। झाडु लगाउने, तरकारी काट्ने, भाँडा धुने जस्ता काम बडो खुसीले गर्थे। आमाले यस्तै काम गरेको देखेका थिए।
उनको उमेरका केटाहरू खेत जोत्न थालेका थिए। गाउँभरिका केटा जम्मा भएर भलिबल खेल्थे। रामु घरमै लुटुपुटु गर्थे।
'साथीहरूले तँ किन केटीजस्तो भएको भन्न थालेका थिए। घरमा पनि गाली गर्न थालेका थिए,' उनले सुनाए।
चौधरी समुदायमा दसैंको नवरात्रमा नाचगान गर्ने चलन थियो। त्यो समयमा केटाहरू नै केटीको पोसाक लगाएर केटीको भूमिकामा नाच्थे। घटस्थापनादेखि दशमीसम्म यो नाच चल्थ्यो। रामुलाई पनि केटीको हुलियामा बस्न मन लाग्थ्यो। दसैं नाचको समयमा उनी केटीको पोसाक लगाएर बस्थे। घरकाले गाली गरिहाले भने नाच्न जाने बहाना बनाउँथे।
'मलाई केटीको कपडा लगाउन मन लाग्थ्यो। नाचको बहाना बनाएर म त्यही लुगा लगाउँथेँ,' उनले भने, अनुहार पनि केटीको जस्तै देखिने गरी गाजल, टीका र लाली लगाएर शृंगार गर्थेँ।'
दसैं सकिएपछि रामुको मन खिन्न हुन्थ्यो।
रामुमा केटीको आनीबानी विकास हुँदै गएपछि उनी साथीहरूबाट एक्लिँदै गए। न केटीको साथी भए न केटाको साथी रहे। कक्षामा पनि एक्ला भए।
उनले भने, 'कक्षामा पनि मलाई सबैले घृणा गर्न थाले। छक्का र हिजडा भन्न थाले अनि मलाई स्कुल जानै मन लागेन।'
अन्ततः आठ कक्षा मात्र पूरा भए पछि नौ कक्षा पढ्न स्कुल गएनन्। स्कुल छाडेर मात्रै सुख भएन। 'छोरो सुधार' भनेर गाउँलेहरूले आमाबुबालाई भन्न थाले। उनका दाइलाई पनि 'रामु तेरो भाइ हो कि बहिनी' भनेर सोध्थे। यसरी रामुको आनीबानीकै कारण घरमा झगडा पनि हुन्थ्यो।
स्कुल छुट्यो। गाउँघरमा बसी साध्य भएन। के गर्ने!
सबै अपमान सहेर गाउँघरमै बस्ने र गाउँ छाड्नेमध्ये दोस्रो विकल्प रोजे। अनि भारत पसे उनी।
सिम्लामा उनले पुरुषका रूपमा जन्म भए पनि महिला हुलियाका केही मान्छे भेटे। कोही पुरुष जन्मबाट महिला भएका त कोही महिला जन्मबाट पुरुष भएका। ती मान्छेसँग चिनजान र कुराकानी भयो। रामुले बल्ल आफूलाई चिने, म पनि पारलैंगिक महिला हुँ भन्ने थाहा पाए।
उनले नभे, 'त्यहाँ (सिम्ला) पुगेपछि म आफू पुरुष नभएर महिला रहेछु भन्ने कुरामा प्रष्ट भएँ।'
रामु पुरुष हुलिया बदलेर महिला भए, नाम अबिना चौधरी। सिम्लाको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमा उनी अबिनाका रूपमा चिनिइन्।
अबिना सिम्लाबाट हरेक वर्ष आमाबाबु भेट्न दसैंमा बर्दिया जान्थिन्। नेपालमा कमैयामुक्तिको घोषणा भइसकेको थियो। आमाबाबु जमिनदारको घरबाट बाहिरिएपछि अबिनाको काँधमा जिम्मेवारी थपिएको थियो।
वर्षभरि कमाएको पैसा घर लैजान्थिन्।
उनले भनिन्, 'आफूले कमाएको पैसा लिएर दसैंमा घर जान्थेँ। आमाबा खुसी हुन्थे। पारिवारिक कुरा पनि मिल्दै गयो।'
नेपाल आउँदा पहिरनको समस्या हुन्थ्यो। उनी मौका अनुसार गर्थिन्। नेपाल आएको बेला नेपालगञ्ज जान्थिन्। त्यहाँ लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका केही व्यक्तिहरूसँग चिनजान भएको थियो। नेपालगञ्जकै साथीहरूमार्फत 'साथी शिक्षक' नामको गैरसरकारी संस्थाबारे थाहा पाइन्।
साथी शिक्षक नेपालगञ्ज सहर र आसपासमा एचआइभी एड्स रोगबारे जनचेतना फैलाउने काम गर्थ्यो। उनले त्यहीँ काम गर्ने अवसर पाइन्। पाँच वर्ष सिम्ला बसेपछि उनी नेपाल फर्किन्।
स्वाभाविक रूपमा उनलाई सिम्लामा मजदुरी गर्नुभन्दा नेपालमा जनचेतना अभिवृद्धिको काम सजिलो भयो। भारतको अनुभव सुनाउँदै उनले भनिन्, 'त्यहाँ (सिम्ला) धेरै गाह्रो हुन्थ्यो। समयमा पैसा नपाउने, ठेकदार पनि पैसा लिएर भागिदिने समस्या थियो। नेपाल आएर संस्थामा काम गर्न सजिलो भयो।'
साथी शिक्षक लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको हित रक्षाका लागि काम गर्ने नीलहीरा समाज (ब्लु डाइमन्ड सोसाइटी) कै शाखा थियो। अबिनाले गर्भ निरोधक तथा यौनरोग सर्न रोक्ने साधनबारे बुझाउनु पर्थ्यो। तलब आउँथ्यो महिनाको तीन हजार रूपैयाँ। यही तलबमा एक वर्ष काम गरिन्।
नीलहीरा समाजले बर्दियामा 'सुन्दर संसार' नाम राखेर अर्को गैरसरकारी संस्था सुरू गर्यो। यसले पनि साथी शिक्षकले जस्तै काम गर्थ्यो। उनी सुन्दर संसारको सचिव भएर गुलरिया गइन्। उनको तलब दस हजार रुपैयाँ पुग्यो।
सुन्दर संसारमार्फत एचआइभी एड्सबारे जनचेतना अभिवृद्धि गर्ने काम त गर्नु नै थियो। अबिना यतिमा मात्रै सीमित रहिनन्। उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचानको कुरा पनि उठाउन थालिन्।
बर्दियाका स्थानीय सरकारसँगको सहकार्यमा सुन्दर संसारले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचानका लागि सडक नाटक प्रस्तुत गर्यो। यो समुदायप्रति समाजको धारणा सकारात्मक थिएन। अबिनाले संस्थामार्फत् आफ्नो समुदायको पहिचानको अभियान नै चलाइन्।
'हामीलाई पनि मानवजस्तो व्यवहार गर, तिमीहरूका छोराछोरी हामीजस्तै हुन सक्छन्' भन्ने सन्देशका साथ सडक नाटक देखायौं। अभियानको सकारात्मक प्रभाव पर्यो,' अबिनाले भनिन्, 'हामीप्रतिको व्यवहार बदलिन थाल्यो। मानिसहरूले हामीलाई पनि मानिसका रूपमा व्यवहार गर्न थाले।'
एक दिनको कुरा हो, सुन्दर संसारले गुलरियामा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको भेला आयोजना गरेको थियो। भेलामा सबै आआफ्नो लैंगिक पहिचान झल्किने पोसाक र शृंगारमा जम्मा भएका थिए। सबै खुसी देखिन्थे।
अबिना पनि आँखामा गाजल, ओठमा लाली र अन्य शृंगारका साथ सारीचोलो लगाएर उपस्थित थिइन्। त्यही दिन थियो जहाँ उनले आफ्नो गाउँठाउँमा स्वतन्त्रताको उच्चतम अनुभव गरिन्। अबिना यही पोसाकमा बेलुका घर फर्किन्। आमाबुबाले उनको स्वतन्त्रता र खुसीमा साथ दिए। उनको हिम्मत र आत्मविश्वास बढ्यो।
अबिनाले शारीरिक रूपमा पनि महिला बन्न साथीहरू र चिकित्सकको रायअनुसार हार्मोन लिन थालिन्। बिस्तारै उनको स्वर महिलाको जस्तो मसिनो हुँदै गयो। स्तन बढे।
संस्थामा काम गर्दै जाँदा अबिनाको आर्थिक अवस्था सुधार हुँदै गयो। उनले भनिन्, 'काम गरेर पाँच कट्ठा जग्गा जोडेकी छु। आमाबाबालाई घर बनाइदिएकी छु, उहाँहरूको हेरचाह गर्छु।'
अबिना आजकाल अक्सर कुर्तासुरुवाल लगाएर हिँड्छिन्। सवारीसाधान छ मोटरसाइकल। कामका सिलसिलामा धेरै जसो घरबाहिर हुन्छिन्। उनी कामको सजिलोका लागि बजारमा डेरा लिएर बसेकी छन्। फुर्सद पाउनासाथ आमाबुबा भेट्न जान्छिन्।
मोटरसाइकलमा राखेर आमाबुबालाई यताउता लैजान्छिन्।
उनी भन्छिन्, 'आमाबाबालाई बाइकमा चढाएर हिँड्दा खुसी लाग्छ। त्योभन्दा धेरै त उहाँहरूले मलाई छोरीका रूपमा स्वीकार गरिदिनु भएकोमा खुसी छु।'
अबिना महिलाकै रूपमा बिहे गरेर सन्तान जन्माउन चाहन्छिन्।
'कसैले हामीलाई सच्चा प्रेम गर्दैनन्। गरे पनि यौन तृष्णा मेटाउन मात्र गर्छन्। बिहे गर्ने त उनीहरूले कहिल्यै पनि सोच्दैनन्,' उनले भनिन्, 'हामीजस्ता महिलालाई पनि बुहारीका रूपमा स्वीकार गर्ने वातावरण हुनुपर्छ।'
अबिनाको अनुभव छ, मानिसले जागिर गरेर मात्र उसको जीवन पूरा हुँदैन। अधिकारको कानुनी प्रत्याभूति हुनुपर्छ। आफ्नो लैंगिक पहिचानमा प्रष्ट भए पनि उनलाई नागरिकताको समस्या छ। नागरिकतामा उनको पुरुष पहिचान छ।
नागरिकता देखाउनु पर्ने ठाउँमा सधैं झमेला आइलाग्छ। सरकारी कर्मचारीहरूले निहुँ खोज्छन्। कानुनमा लिखितम चल्छ, बकितमले हुँदैन।
अबिनाले नागरिकतामा महिला लेखाउन प्रयास नगरेकी होइनन्। त्यति बेला सम्भव भएन। अब लैंगिक पहिचान फेर्न जिल्ला प्रशासन कार्यालयले मेडिकल प्रमाण मागेको छ।
'मेडिकल प्रमाण ल्याउन धेरै पैसा चाहिन्छ। शरीर पनि कमजोर हुन्छ,' अबिना भन्छिन्, 'मैले महिला पहिचानको नागरिकता बनाउन सकिनँ।'
उनी आफू बाँचुन्जेल लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हित खातिर काम गर्न चाहन्छिन्।
कुनै बेला रामु भनेर चिनिने उनी अबिना चौधरी बनेर आफ्नो वास्तविक पहिचानमा खुलेपछि धेरैथोक बदलिएको छ। समस्याहरू नभएका होइनन्, त्योभन्दा धेरै खुसी छ। आफूले चिनेको आफू भएर सम्मानित रूपमा बाँच्न पाउनुको सन्तोक छ।
यी पनि पढ्नुहोस्ः
पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ'
'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ'
'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ'
अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो
'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ'
उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्
'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ'
'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ'
६५ वर्षे छुटकनु भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो
'आमा र दाइले मलाई कहिले अँगालो हाल्नुहोला?'
'आमा बन्न चाहन्छु तर कानुनी बाटो छैन'