तिहारको लक्ष्मी पूजाको दिन थियो, २०७७ साल कात्तिक २९ गते। बसाइ थियो डेराको, जनकपुरधाम–७ मा।
त्यसदिन बिहान एक छोरीकी आमा आरती साहलाई उनका श्रीमान सञ्जीव साहले अचानक एसिड छ्यापे।
एसिडको छिटाले छोरी रियाको एउटा हात र टाउकोको भाग जल्यो।
चिकित्सकका अनुसार आरतीको अनुहारको ३० प्रतिशत भाग जलेको छ। दाहिने भागमा छाला प्रत्यारोपण गरिएको छ।
माइतीको सहयोगमा धेरै उपचार त भयो तर अझै घाउ पूरा निको भएको छैन। एसिडले पोलेको छाला चर्को घाम र गर्मीमा चिरिन्छ। चिरिएको छालाबाट पानी निस्किन्छ। असैह्य दुःखाइ हुन्छ।
एसिड लागेर दाहिने आँखो गुम्यो। अनुहारको दाहिने भाग, कान, घाँटी, छाती, पेट र हातखुट्टा जलेका छन्। उपचारको निरन्तरताका लागि महिनैपिच्छे काठमाडौंको कीर्तिपुरस्थित अस्पताल पुग्नु पर्छ। यसको लागि पैसाको अभाव छ।
आरती जनकपुरको पेठियामा आमाबुबाका छेवैमा छोरी लिएर बसेकी छन्। गुजाराका लागि पेठिया बजारका व्यापारी सञ्जीव साहको पसलमा तरकारी बेच्ने काम गर्छिन्।
बिहान पाँच बजे तरकारी पसल पुग्नुपर्छ। राति नौ बजेसम्म काम गर्नुपर्छ। एसिडले पोलेको अनुहार सलले छोप्छिन्। यति गर्दा पनि जिस्क्याउने र कुरा काट्नेहरू हुन्छन्।
‘धेरैले हेप्छन्। कोही केटा नराम्रो कुरा बोल्छन्। बजारमा धेरैले चुटकी लगाउँछन्,’ आरती भन्छिन्, ‘जरलहैया मुहबाली (जलेको मुख भएकी) भन्छन्। जसको तरकारी बेच्छु उसको रखैल हो पनि भन्छन्। म कति जनासँग झगडा गरूँ!’
तन र मनमा जति पीडा भए पनि बाँच्नका लागि काम गर्नै पर्यो। उनले छोरी पढाउनु पनि छ।
उनी भन्छिन्, ‘बिहानदेखि रातिसम्म काम गर्छु। घरमा गएर रून्छु। छोरी पनि मसँगै रून्छे। रूँदारूँदै सुत्छु अनि फेरि बिहानैदेखि काममा खटिहाल्छु।’
एसिड प्रहारको घटनापछि मधेस प्रदेशको मुख्यन्यायाधीवक्ताको कार्यालयले आरतीलाई जागिर दिने भनेको थियो। विडम्बना! नागरिकता प्रमाणपत्र नहुँदा उनले जागिर पाइनन्।
नागरिकता अझै बनेको छैन। आरतीकी आमासँग वंशजको नागरिकता छ। बाबुले जन्मसिद्ध नागरिकता पाएका छन्। बाबुको नागरिकता अघि सारेर जिल्ला प्रशासनले आरती नागरिकता बनाउने काम रोकिदिएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन सर्वोच्च अदालतले रोक लगाएकाले आरतीलाई पनि दिन नसकेको बताए।
उनले भने, ‘जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन सर्वोच्च अदालतले आदेश जारी गर्नुपर्यो। अथवा नागरिकतासम्बन्धी नयाँ कानून आउने बित्तिकै हामी दिइहाल्छौं।’
जलेको शरीर लिएर आरती नागरिकता र जागिरका लागि पाँच महिना मधेस प्रदेशका मन्त्रालय, सरकारी कार्यालय र स्कुल धाइन्। अहँ, जागिर कतै मिलेन।
‘झाडुपोछा लगाउन मैले धेरै स्कुलमा काम खोजेँ। सरहरूले तिम्रो अनुहार जलेको रहेछ विद्यार्थी डराउँछन् भनेर फर्काए,’ उनले भनिन्, ‘अफिस र बैंकहरूमा पनि धाएँ तर सबैले जलेको अनुहारको कुरा गरे। काम कसैले दिएनन्।’
कतै पार नलागेपछि आरतीले तरकारी व्यापारी सञ्जीव साहसँग हारगुहार गरिन्। आखिर सञ्जीवले नै दिनको पाँच सय रुपैयाँ पाउने गरी काम दिए।
आमाछोरी पालिनु आरतीको मुख्य आवश्यकता हो। कमाएर पैसा जोगाउँदै छोरीलाई धेरै पढाउने उनको धोको छ।
भन्छिन्, ‘मैले पाँच कक्षामात्र पढ्न पाएँ। मेरो जिन्दगी बर्बाद भयो। मेरी छोरीलाई राम्ररी पढाउने र उसको सपना पूरा गर्ने मेरो सपना छ।’
एसिड प्रहारको घटनापछि आरतीलाई मुख्यमन्त्री कार्यालयले उपचारका लागि पाँच लाख रुपैयाँ दिएको थियो।
आरतीका अनुसार यो पैसा पाउनुअघि आमाबाबुले ऋण काढेर उपचार गराएका थिए। यसरी खर्च भएको रकम सरकारी सहयोगबाटै फिर्ता गरिन्। बाँकी रकममध्ये पटक-पटकको उपचार एक लाख ८० हजार खर्च भइसकेको छ।
बाँकी रहेको ७० हजार रुपैयाँ उनले जोगाएर राखेकी छन्। उनी यही रकम बढाउँदै छोरी रियालाई पढाउन चाहन्छिन्।
एसिड लागेर घाइते भएकी छोरीको पनि अनुहार र टाउमा दाग छ।
घटनापछि तत्कालीन वडाध्यक्ष जानकीराम साहले छोरी पढाउन सहयोग गर्ने वाचा गरेका भए पनि अहिले वास्ता नगरेको उनको गुनासो छ।
आरती छोरीलाई निजी विद्यालयमा पढाउन चाहन्छिन्। स्कुल जाने उमेर पनि भयो तर उनले पठाउन सकेकी छैनन्। उनले आफू र छोरी असुरक्षित रहेको महसुस गरेकी छन्।
एसिड प्रहार गर्ने उनका श्रीमान र एसिड बेच्ने व्यापारी नागेन्द्र साहले मिलापत्र गर्न दबाब दिने गरेका छन्। बेलाबेला धम्की पनि दिन्छन्।
उनले भनिन्, ‘जेलबाट मेरा श्रीमानले पटकपटक फोन गरेर आफूलई छुटाइदिन भनिराख्छन्। मेरा सासू र जेठाजुले पनि नागरिकता बनाइदिने लोभ देखाएर छुटाइदिन भन्छन्। धम्की पनि दिइराख्छन्।’
घटनाको झन्डै एक वर्षपछि २०७८ भदौ १० मा धनुषा जिल्ला अदालतले आरतीका श्रीमान सञ्जीवलाई १० वर्ष ६ महिना कैद गर्ने र ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला सुनायो।
सोही फैसला अनुसार सञ्जीव अहिले रामेछाप जिल्ला कारगारमा छन्। एसिड बेच्ने व्यापारी नागेन्द्रले सफाइ पाए।
जिल्ला अदालतको फैसलामा चित्त नबुझेको भन्दै आरतीका भाइ सञ्जयकुमार साहले २०७८ फागुन १५ गते उच्च अदालतमा मुद्दा दर्ता गराए। उच्च अदालतले यही असार ८ गते एसिड व्यापारी नागेन्द्र साहलाई झिकाउन आदेश दिएको छ।
नागेन्द्रले मिल्न दबाब दिने गरेको आरतीको भनाइ छ।
उनले भनिन्, ‘नागेन्द्र ६ लाख रुपैयाँ लिएर मिल भन्दैछ। एक हप्ताअघि पेठिया बजारमै आएर मिलेनौ भने भारी पर्छ भनेको छ।’
आरतीले ज-जसले धम्की दिए पनि आफू नडराउने बताइन्।
‘उस (नागेन्द्र) ले एसिड नदिएको भए मेरो यस्तो हालत हुँदैनथ्यो,’ आरतीले भनिन्, ‘उसकै छोरी यस्तो परेको भए पैसा लिएर मिल्थ्यो त! जति लोभ दिए पनि म फस्दिनँ।’
एसिड प्रहार गर्नेले कठोर सजाय नपाए धेरै महिलाहरू आक्रमणमा पर्नेछन् भन्ने आरतीको चिन्ता छ। केही दिनअघि पेठिया बजारमा एक व्यक्तिले सामान्य विवादमा श्रीमतीलाई एसिड छ्यापिदिने धम्की दिएको पनि उनले बताइन्।
‘मैले त्यो केटालाई झपारेँ। तँलाई पनि एसिड छ्यापिन्छिौं भनेपछि अलिक डरायो,’ आरतीले भनिन्, ‘मेरा श्रीमानले कठोर सजाय पाएनन् भने त्यस्ता धेरै युवकको मनोबल बढ्छ। महिलामाथि अत्याचार बढ्छ।’
उनको विचारमा यस्तो कठोर सजाय होओस् कि एसिड छ्याप्ने विचार आयो भने दसपटक सोचोस् र पछि हटोस्।
मिलापत्र गर्न आरतीका बुबा सुबोध साहलाई धम्की आउने गरेको छ। उनी पनि पछि हटेका छैनन्।
उनले भने, ‘मेरी छोरीलाई उनीहरू (आरतीको घरपक्ष) ले हत्या नै गर्न खोजेका हुन्। त्यस्ता व्यक्तिसँग कसरी मिल्नु र!’
आरतीका अनुसार एसिड प्रहारको घटनापछि उनलाई स्थानीय सामाजिक अभियान्ता उज्ज्वल थापाले सहयोगको आश्वासन दिएका थिए। पछि सहयोग नगरेको उनले बताइन्।
उनले भनिन्,‘ममाथि आक्रमण भएका बेला उहाँ (उज्ज्वल) ले हस्पिटलमा मिडियासँग ठूला कुरा गर्नुभएको थियो। मेरी छोरीलाई पढाउने व्यवस्था गर्ने, मेरो आँखा बनाइदिने। उपचारमा कुनै कमी हुन नदिने भन्नुभयो तर केही पनि सहयोग गर्नुभएन।’
आरतीका अनुसार उनलाई एसिड आक्रमणमा परेकी अभियान्ता मुस्कान खातुनले सँगै मिलेर संघर्ष गरौं भनेकी थिइन्। आफ्नो पीडा सञ्चार माध्यमहरू र सबै सरोकारवालालाई सुनाउन सल्लाह दिएकी थिइन्।
उज्ज्वलले मुस्कानको कुरामा नलाग्न सल्लाह दिएको आरतीले बताइन्। उज्ज्वलको कुरा मान्दा आफूले सबैतिरको सहयोग पाउन नसकेको आरतीको निष्कर्ष छ।
सानै उमेरमा आफ्नो बिहे गर्न दबाब दिने स्थानीय समाजसँग पनि आरतीको गुनासो छ।
‘पहिलो दोषी यहाँको समाज हो जसले मेरो उमेर नपुग्दै बिहे गर्न दबाब दियो। छोरी जवान भइसकी, बिहे गरिदिएनन् भनेर कुरा कुरा काट्न थाले,’ आरती भन्छिन्, ‘मेरा आमाबुबाले पनि अरूको कुरा सुनेर १४ वर्षमै मेरो बिहे गराइदिनुभयो।’
आखिर बिहे भयो। रक्सी खाएर मारपिट गर्ने श्रीमान पर्यो। उसैले एसिड अर्थात् तेजाब खन्याइदिएर मर्नु न बाँच्नु पारिदियो।
एसिडले पोलेको शरीरको पीडाले थकित भएका बेला कुनै दिन आरतीले विष खाएर मर्ने पनि सोचिन् तर छोरी हेरेर आफूलाई बचाइन्।
एसिडले जलेको पीडा शान्त भएको छैन तर आरतीमा बाँच्ने र गरिखाने हिम्मत बढेको छ।