सागर डाँगी शनिबार बिहान ८ बजेतिर आँप टिप्न रूख चढेका थिए।
आँप खसाल्दा खसाल्दै खुट्टा चिप्लियो। उनी सिधै भुइँमा बजारिए। उनको दाहिने हात चलाउनै नसक्ने भयो।
प्यूठानको सरूमा रानी गाउँपालिका- १, बाँगेसालका १३ वर्षीय सागरको परिवारको आर्थिक स्थिति कमजोर छ। उनका बुवा दुर्गाबहादुर डाँगी दैनिक मजदुरी गरेर परिवारको गर्जो टार्छन्।
छोरा दुर्घटनामा परेपछि उनीसँग अस्पताल लग्ने खर्च थिएन।
छरछिमेकसँग पाँच हजार रूपैयाँ सापट लिएर उनले सागरलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याए।
त्यहाँ एक्सरे गरेपछि हात भाँच्चिएको थाहा भयो। डाक्टरले भाँच्चिएको हात शल्यक्रिया गर्नुपर्छ भने।
दुर्गाले सोधे, 'कति खर्च लाग्ला?'
डाक्टरले भने, '२५-३० हजार।'
यो सुनेर दुर्गाले हरेस खाए। उनी छोरालाई डोर्याउँदै सुटुक्क बाहिर निस्किए।
सागरलाई असह्य पीडा भइरहेको थियो। उनी पीडाले कराउँदै थिए।
यो देखेर तुलसीपुर उपमहानगरपालिका- ५, बसपार्कका कृष्ण खड्काको मन पग्लियो। उनी आफ्नी ६० वर्षीया आमा दिलसरा खड्काको उपचार गराउन आएका थिए।
कृष्णले के भएछ भनेर दुर्गासँग सोधपुछ गरे।
समस्या थाहा पाएपछि उनी सागरको उपचारमा लाग्ने खर्च आफैं बेहोर्न कस्सिए। उपचार क्रममा बस्नेखाने बन्दोबस्त पनि गरिदिए।
आइतबार दिउँसो १ बजेतिर सागरको शल्यक्रिया भयो।
उपचारमा २५ हजार रूपैयाँ खर्च भयो। तर यो रकम कृष्णले बेहोर्नुपरेन। उनी सहयोग गर्न अघि सरे पनि अस्पतालकै कर्मचारी रश्मी अधिकारीले खर्च बन्दोबस्त गरिदिन पहल गरेका थिए।
उनले विपन्न नागरिकको उपचारका लागि छुट्याइएको कोषमार्फत् खर्च बेहोर्न सिफारिस गरे। त्यही कोषबाट सागरको शल्यक्रिया गरिएको हो।
सागरलाई अहिले अस्पतालको जनरल वार्डमा सारिएको छ। सोमबार डिस्चार्ज गर्ने तयारी छ।
'म त भोलि घर गएर पर्सि स्कुल गइहाल्छु,' ७ कक्षा पढ्ने सागरले भने।
उनका बुवा दुर्गा पनि मनकारीहरूको सहयोग पाएर छोराको उपचार सम्भव भएको बताउँछन्।
'सहयोगी हातहरू फेला नपरेका भए छोराको भाँच्चिएको हात जोडिने थिएन,' उनले भने, 'सुरूमा खर्च सुन्दा त मैले माया मारिसकेको थिएँ।'