पद्मसुन्दर जोशीलाई भेट्न हामीले शुक्रबार दुई बजेको समय लिएका थियौं। उनी आधा घन्टा ढिला आए र हतारिँदै ढिला आउनुका दुई कारण बताए।
पहिलो कारण, शंखमुलको जाम।
दोस्रो, काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्ने परम्परागत बाटो (राजकुलो) र परम्परागत हिति प्रणाली ब्युँताउनेबारे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग बैठक।
पहिलो कारण त काठमाडौंको नियमित समस्या भइहाल्यो। दोस्रो चाहिँ हाम्रो चासोको विषय थियो। जोशीको विज्ञता पनि यसैमा हो। हामी यही विषयमा कुराकानी गर्न उनलाई भेट्न आएका थियौं।
सहरी विकासमा लामो समय काम गरेका जोशीले करिब डेढ दशक काठमाडौं उपत्यकाको हिति प्रणालीमाथि अध्ययन गरेका छन्। उनले लेखेको 'हिति प्रणाली' किताब बुधबार नेपालयबाट सार्वजनिक हुँदैछ।
हामीले दायाँबायाँ विषयान्तर नगरी जोशीलाई पहिलो प्रश्न सोध्यौं, 'के ललितपुरको हिति प्रणाली ब्युँताउन सम्भव छ?'
'एकदम सम्भव छ,' जोशीले आत्मविश्वासका साथ भने, 'ललितपुरका मेयरले टीकाभैरव राजकुलो ब्युँताउछु भन्नुभएको छ। अध्ययन गर्ने जिम्मा मैले पाएको छु। यसपालिको बजेटबाट ध्वोंलाहितिदेखि पाटनसम्मको राजकुलो बनाउन प्रयास गर्दै हुनुहुन्छ। यो वर्ष नभए अर्को वर्षसम्म त यहाँ राजकुलो बन्छ होला।'
काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न विभिन्न ठाउँबाट राजकुलो बनाएर भित्री बस्तीसम्म ल्याउने चलन लिच्छविकालदेखि नै सुरू भएको हो। यसको निर्माण तत्कालीन राजाहरूले गर्न लगाएकाले राजकुलो भनियो। समय-समयमा कुलो मर्मतसम्भार गर्न गुठीको बन्दोबस्त गरिएको हुन्थ्यो। कसैले बिगारेमा दण्ड-सजाय गरिन्थ्यो।
उपत्यकामा धेरै राजकुलो छन्। तीमध्ये तीनवटा सहरका लागि निर्माण गरिएको तीनवटा राजकुलो प्रमुख छन्। काठमाडौंका लागि पानी आपूर्ति गर्ने राजकुलो बुढानिलकण्ठदेखि आउँछ भने भक्तपुरका लागि बागेश्वरी र पाटनका लागि टीकाभैरवबाट आउँछ।
यी तीन प्रणालीमध्ये हामी पहिला टीकाभैरव राजकुलोको कुरा गरौं जुन ललितपुर महानगरले ब्युँताउदैछ।
टीकाभैरवबाट आउने पानी सोह्र किलोमिटर बगेर पाटन पुग्छ। पाटनका जति पनि पोखरी छन्, ती सबै भर्ने यही राजकुलोले हो। पोखरी भरिएपछि ढुंगेधाराहरू रसाउँछन्। पाटनको पानी प्रणाली भनेको यही हो।
टीकाभैरव राजकुलो लिच्छवि राजा शिवदेव र अंशुवर्माको समयअघि नै सञ्चालनमा आइसकेको ऐतिहासिक अभिलेखहरूले पुष्टि गर्छन्।
पाटनको मीननाथ मन्दिरअगाडि भेटिएको जयदेव द्वितीयको शिलापत्रमा कुलोबाट पानी ल्याएको वर्णन छ। अंशुवर्माको लेले शिलापत्रमा गोष्ठी प्रणालीबारे चर्चा गरिएको छ। त्यस्तै जयदेव वर्माले विक्रम सम्बत् ७८१ मा पाटनमा राखेको शिलालेखबाट टीकाभैरव प्रणालीले लिच्छविकालमै व्यापकता पाइसकेको बुझिन्छ।
प्राचीनकालदेखि चलिआएका यिनै राजकुलो सहरीकरण र सडक निर्माणले मासिँदै गएका छन्। कतिपय हिस्सा स्थानीयको निजी घरमुनि परे भने कतिपय हिस्सा सडकमुनि पुरिए। त्यस्ता राजकुलो ब्युताउँने कुरा धेरैले असम्भव मान्छन्। जोशी भने कम्तिमा ललितपुरको टीकाभैरव प्रणाली पुरानै अवस्थामा फर्काउन सकिने सम्भावना देख्छन्।
त्यसो भयो भने पाटनका परम्परागत पोखरीहरूमा फेरि लबालब पानी भरिनेछ। परम्परागत हितिहरूबाट फेरि छङछङ पानी झर्नेछ।
पाटनको मंगलबजारस्थित मंग हिति। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटीजोशीले यो सम्भावना पुष्टि गर्न केही समयअघि काठमाडौंमा मेलम्ची पानी बाँड्दाको घटना सुनाए।
चैत-वैशाखको कुरा हो। दुई महिना मेलम्ची पानी बाँड्दा इनारबाट तान्ने क्रम ह्वात्तै घटेको थियो। यसले भूमिगत पानीको सतह बढ्यो र सुख्खा याममा पनि हितिहरूबाट पानी झर्न थाल्यो, जोशीले भने, 'इनारबाट तान्नुपर्ने परिस्थिति अन्त्य हुने हो भने भूमिगत पानीको सतह बढेर हितिहरू रसाउन थाल्छन्।'
बर्खा याममा त यसै पनि पाटनका धेरै हितिबाट पानी आइरहेको हामी देख्छौं। पानी नआउने सुख्खा याममै हो। मेलम्चीले पानीको केही माग पूरा गरेपछि सुख्खामा पनि हितिहरू रसाउन सक्छन्। राजकुलो पुनर्स्थापना गर्न सके बाह्रै महिना हितिबाट पानी झार्न सकिने जोशी बताउँछन्।
उनका अनुसार टीकाभैरवबाट सुरू राजकुलो चापागाउँ, थेच्व, सुनागुथि, ध्वोंलाहिति हुँदै लगनखेल आइपुग्छ। पछिल्लोपटक २०१९ सालमा यसको जिर्णोद्धार भएको थियो। भारत सरकारको सहयोगमा गरिएको जिर्णोद्धारमा लेले मुहानमा बाँध बाँधेर पक्की मुहान बनाइएको थियो।
चक्रपथ निर्माण गर्दा उक्त राजकुलो थुनियो। त्यति बेला ह्युप पाइप प्रयोग गरेर पाटनसम्मै राजकुलो जीवित राख्न सकिन्थ्यो। तर निर्णयकर्ता र सहरी योजनाकारहरूले राजकुलोको महत्व बुझेनन्।
अहिले टीकाभैरवदेखि ध्वोंलाहितिसम्म राजकुलो बाँकी छ। २०७५–७६ सालमा सडक विभागले चापागाउँ जाने बाटो चौडा गर्दा यहाँको राजकुलोलाई ह्युम पाइपमा जोडेको थियो।
'ह्युम पाइप राख्नु सही काम होइन तर कम्तिमा यसले राजकुलो जीवित राखेको छ,' जोशीले भने, 'मुख्य समस्या चाहिँ त्यति बेला सुरू भयो जब वरिपरिका स्थानीयले आफ्नो घरको ढल सिधै यही कुलोमा ल्याएर जोडिदिन थाले।'
यति हुँदा हुँदै टीकाभैरव राजकुलो पुरानै अवस्थामा फर्काउन सकिन्छ। यसको निम्ति सबभन्दा पहिला टीकाभैरवदेखि ध्वोंलाहितिसम्मको राजकुलोमा जहाँ जहाँ ढल मिसाइएका छन्, त्यसलाई रोक्नुपर्छ। बिग्रेका ठाउँ मर्मत गर्नुपर्छ।
त्यसपछि ध्वोंलाहितिबाट ह्युप पाइप प्रयोग गरेर राजकुलोको पानी पाटनको लगनखेल ल्याउन सकिन्छ।
यो राजकुलोको पानी जम्मा हुने ठाउँ लगनखेल हो। यसका लागि लगनखेलमा सप्तपाताल पोखरी, पलेस्वाँ पुखु (कमलपोखरी) र न्हु पुखु (नयाँ पोखरी) थिए। समयक्रममा ती पोखरी मासिए। कति अतिक्रमणमा परेर साना भए।
'ललितपुर महानगरले अब यी तीनैवटा पोखरी पुरानै स्वरूपमा ब्युँताउदै छ। त्यसपछि टीकाभैरवबाट आउने पानी पहिलेजस्तै लगनखेलमा जम्मा हुन्छ,' जोशीले भने, 'यी पोखरी ब्युँतिएपछि पाटनको भित्री बस्तीमा रहेका कुतिसौगः पुखु, खपिंछे पुखु, च्यासः पुख लगायत साना साना पोखरीमा पनि पानी भरिन थाल्ने छन्।'
पोखरीहरूमा पानी भरिएपछि पाटनका थुप्रै हितिबाट प्राकृतिक रूपले नै पानी आउन थाल्ने जोशी बताउँछन्।
'ललितपुर महानगरले जुन ढंगमा राजकुलो र हिति प्रणाली पुरानै स्वरूपमा फर्काउन खोजेको छ, त्यसबाट ऊ पछाडि नहट्ने हो भने पाटनको पानी आपूर्ति प्रणालीमा धेरै सुधार आउनेछ,' उनले भने, 'यसले पाटनको जलवायु प्रणालीमा पनि सकारात्मक असर पार्नेछ।'
पद्मसुन्दर जोशीललितपुरपछि अब हामी कुरा गरौं काठमाडौंको।
जसरी टीकाभैरवबाट लगनखेल आउने राजकुलो फिर्ता ल्याउन खोजिँदैछ, के बुढानिलकण्ठबाट काठमाडौं आउने राजकुलो फिर्ता ल्याउन सम्भव होला?
ललितपुरको राजकुलो ब्युँताउने खबरले सकारात्मक भइरहँदा हामीले काठमाडौंमा पनि त्यस्तै सकारात्मक उत्तर अपेक्षा गरेका थियौं। तर जोशीले निराशाजनक उत्तर फर्काए, 'सकिन्न।'
उनले अगाडि भने, 'काठमाडौंको राजकुलो र हिति प्रणाली पाटनको जस्तो सग्लो अवस्थामा छैन। पोखरीहरू खुम्चिएर साना भइसके। हितिहरू पुरेर निजी घर बनिसके। कतिपय हितिको मूल (पानीको स्रोत) माथि निजी घर बनेको छ। त्यस्तो ठाउँमा पानीको मूल पुनर्स्थापना गर्नु निकै चुनौतीपूर्ण कुरा हो। राजकुलोको त झन् नामनिसान छैन।'
काठमाडौंमा पोखरी पुरेर घर बनेको एउटा उदाहरण ठमेलको छायादेवी कम्प्लेक्स हो। त्यस्तै हिति पुरेर घर बनेको उदाहरण हात्तिसारको हिति हो। ती ठाउँमा प्राचीन पोखरी र हिति रहेको थाहा हुँदा हुँदै घर बन्न रोकिएन। पुरातत्वको टोलीले समेत रोक्न सकेन।
यसरी पोखरी र हितिको संरचना मासेर निजी घर वा कम्प्लेक्स बनाउनुलाई जोशी 'अपराध' मान्छन्।
संरचनामाथिको अतिक्रमणबाहेक बुढानिलकण्ठ राजकुलो फिर्ता ल्याउन नसक्नुमा प्राविधिक कारण पनि रहेको जोशी बताउँछन्।
तपाईंहरूले टीकाभैरवबाट चापागाउँ, थेच्व, सुनागुथि, ध्वोंलाहिति हुँदै पाटन आउने बाटो हेर्नुभयो भने ओरालै ओरालो देखिन्छ। त्यसैले यो बाटोबाट पानी सजिलै आउन सक्छ। यस्तै अवस्था बुढानिलकण्ठ राजकुलोमा छैन।
यहाँ पानी आउने बाटो समयक्रममा भासियो। त्यसैले बुढानिलकण्ठबाट बग्दै आएको पानी बाँसबारीनिर पुगेपछि अगाडि बढ्न सक्दैन। त्यहाँबाट काठमाडौं सहर जान उकालो चढ्नुपर्छ। पानीले प्राकृतिक रूपमा यो उकालो उक्लिन सक्दैन।
'सम्भावना हुँदै नभएको होइन,' जोशीले भने, 'भौगोलिक कारणले पाटनमा जस्तो सर्रर पानी ल्याउन नसके पनि घुमाएर वा अन्य विकल्प खोजेर ल्याउन सकिन्छ। त्यसको निम्ति बृहत् अध्ययनको खाँचो छ।'
बुढानिलकण्ठ राजकुलो प्रणाली पाटनको भन्दा पुरानो हो। यो लिच्छविकालको सुरूआती चरणमै बनेको इतिहास छ।
लिच्छवि राजा मानदेवका बुवा धर्मदेवकै पालामा बुढानिलकण्ठबाट पानी तानेको मानिन्छ। राजा धर्मदेवले बुढानिकलकण्ठ राजकुलोलाई तत्कालीन राजधानी हाँडीगाउँसम्म ल्याएका थिए। हाडीगाउँको विशालनगरमा आगलागी भएपछि राजधानी भक्तपुर सर्यो। यसैबीच काठमाडौंको जुन क्षेत्रलाई अहिले 'कोर सिटी' भनिन्छ, त्यहाँ लिच्छविहरूले नयाँ नगर बसाए र हाँडीगाउँतिर गएको राजकुलो यता फर्काए।
पाटनमा जस्तै यहाँ पनि राजकुलोले बोकेर ल्याउने पानी जम्मा गर्न सहरका किनारमा थुप्रै पोखरी थिए। तीमध्ये लैनचौरको पोखरी, ठमेलको पलेस्वाँ पुखु र छत्रपाटीको इखापुखु प्रमुख छन्। यी तीनैवटा पोखरीमा अहिले पानी छैन। पलेस्वाँ पुखु त नामेट भइसक्यो। छायादेवी कम्प्लेक्स बनेको यहीँ हो।
काठमाडौंको छत्रपाटीस्थित इखा पुखु। फाइल तस्बिर: नारायण महर्जन/सेतोपाटीपोखरीको मात्र कुरा होइन, काठमाडौंका हितिहरू ब्युँताउनु पनि चुनौतीपूर्ण छ।
धेरै हितिका मूल मासिएका छन्। धेरैजसो निजी घरमुनि पुरिएका छन्। यहाँको हिति प्रणाली फर्काउने हो भने सबभन्दा पहिला मूल खोज्दै जानुपर्छ। निजी जग्गा वा घरमा परेको छ भने जग्गाधनी वा घरधनीसँग समन्वय गर्नुपर्छ। उनीहरूको सहमतिपछि मात्र त्यस्ता मूल उत्खनन् हुनसक्छ।
'यसका लागि लामो समय मात्र होइन, धेरै पैसा पनि लाग्छ,' उनले भने, 'हिति ब्युँताउने काममा 'ट्रायल एन्ड एरर' धेरै हुन्छ। प्रशस्त समय र पैसा लगानीपछि पनि पानी झर्छ कि झर्दैन यकिन हुँदैन। गरेको मिहिनेत यसै खेर जान सक्छ।'
उनले अगाडि भने, 'पानीको मूल अर्काको घरजग्गामा परेको छ भने उनीहरूसँग छुच्चो हुनुपर्ने हुन्छ। यस्तो काम सकभर कोही गर्न चाहँदैन।'
काठमाडौंको हिति प्रणालीको कुरा गर्दा भित्री बस्ती (कोर सिटी) मात्र होइन, बाहिरी बस्तीका हितिको पनि कुरा आउँछ।
भित्री बस्तीका मरू हिति, यंग हिति लगायतमा अझै पानी आउँदैछ। त्यसलाई संरक्षण गर्न सकिन्छ। बाहिरी बस्तीका कतिपय हिति लोपै भइसकेका छन्।
जोशीले हामीलाई एउटा प्रश्न सोधे, 'तपाईंहरूलाई थाहा छ, बानेश्वर भनेको खासमा कुन ठाउँ हो?'
हामी अलमलियौं।
उनले सजिलो बनाउँदै भने, 'तपाईंहरूलाई बाँणगंगा हिति थाहा छ?'
हामी फेरि अलमलियौं।
जोशीले उत्तर आफैं दिए, 'अहिले रत्नराज्य स्कुल जहाँ छ, बाँणगंगा हिति त्यहीँ छ। खासमा बानेश्वर भनेको त्यहीँ हो। बाँणगंगा हितिबाटै बानेश्वर नाम रहेको हो।'
उनले अगाडि भने, 'हिति ब्युँताउन हिति प्रणालीलाई समग्र रूपमा बुझ्नुपर्छ। प्रायः मान्छे दाचि आप्पाले सजाउनु, कलात्मक बुट्टाहरू कुँद्नु वा आवरण सरसफाइ गर्नु नै हिति पुनर्स्थापना हो भन्ठान्छन्। यो एउटा अंश मात्र हो। हामीले पुनर्स्थापना गर्दा पानीको मूल पत्ता लगाउन र त्यसलाई प्राकृतिक रूपमै हितिबाट खसाल्न विशेष लगानी गर्नुपर्छ।'
काठमाडौंको मरू हिति। फाइल तस्बिर: नारायण महर्जन/सेतोपाटीहिति प्रणाली ब्युँताउने काम आफैंमा जटिल भएको र सबै काम अदृश्य हुने भएकाले राजनीतिमा लाग्ने मान्छेलाई खासै प्रिय नलाग्ने उनको भनाइ छ।
हितिको काममा लामो समय मिहिनेत गर्दा पनि परिणाम नआउन सक्छ। पानीको मूल खोज्ने भनेको जमिन मुनिमुनि गरिने काम हो। परिणाम आएन भने मिहिनेत गरेको कसैले देख्दैन। राजनीतिमा लागेका मान्छेलाई सबैले छर्लंग देख्ने र परिणाम आउने काम बढी मन पर्छन्। त्यसैले धेरै नेताहरू सानो-ठूलो जस्तो भए पनि सडक बनाउनमा जोड दिन्छन्।
काठमाडौं महानगरपालिकाले परम्परागत हितिहरू ब्युँताउने भनेको छ। मेयर बालेन शाहको चुनावी घोषणापत्रमै हिति ब्युँताउने कार्यक्रम थियो। यसलाई सफल बनाउने हो भने हिति प्रणालीलाई राष्ट्रिय सम्पदाका रूपमा परिभाषित गरेर अतिक्रमण गर्ने वा मास्नेलाई सम्पदा संरक्षण ऐनअनुसार कारबाहीको प्रावधान ल्याउनुपर्ने जोशी बताउँछन्।
'हितिको संरचना र मूलसमेतलाई राष्ट्रिय सम्पदा घोषणा गर्नेबित्तिकै निजी व्यक्ति वा संस्थाहरूले अतिक्रमण गर्न पाउँदैनन्। कसैको घर छ भने त्यसलाई हटाएर पनि हिति पुनर्स्थापना गर्ने अधिकार राज्यलाई हुन्छ,' उनले भने।
यति मात्र होइन, हिति प्रणाली जोगाउन कुन हितिको मूल कहाँ छ भनेर नक्सांकन गर्नु पनि जरूरी हुन्छ। धेरै मान्छेले यो काम गर्न दिँदैनन्। भोलि आफ्नै घर वा जग्गामा मूल फेला पर्यो भने राज्यले अधिग्रहण गर्ला भन्ने डरले पनि यो काममा स्थानीयबाटै अवरोध आउन सक्ने जोशी बताउँछन्।
यस्ता तमाम चुनौतीका कारण काठमाडौंको हिति प्रणाली ब्युँतिएला कि नब्युँतिएला थाहा छैन। यहाँका हितिमा कलकल पानी बग्ला कि नबग्ला थाहा छैन। पोखरीहरूमा पहिलेजस्तै लबालब पानी भरिएला कि नभरिएला थाहा छैन। तर कम्तिमा यो प्रणालीको अभिलेख पछिसम्म रहोस् र भोलि कुनै सरकारले हिति प्रणाली फर्काउने इच्छाशक्ति देखायो भने काम गर्न सजिलो होस् भनेर किताब लेखेको जोशी बताउँछन्।
'कुनै बेला हामी यति सम्पन्न होलाऔं, हामी साझा भवन र छायादेवी कम्प्लेक्स भत्काउन सकौंला। ती भवन आवश्यक पनि नहोलान्,' उनले भने, 'कुनै दिन त्यस्तो चेत आयो भने नयाँ पुस्तालाई हिति प्रणाली भनेको के हो र यसलाई कसरी पुनर्जीवित गर्न सकिन्छ भनेर थाहा दिन मैले यो किताब लेखेको हुँ।'
सायद त्यति बेलासम्म ललितपुरको राजकुलो पुरानै स्वरूपमा ब्युँतिसक्ला!
पाटनका पुराना हितिहरूबाट कलकल पानी बग्न थालिसक्ला!
त्यो बेला काठमाडौंका जनप्रतिनिधिहरू पनि राजकुलो फर्काउन र हिति प्रणाली ब्युँताउन कम्मर कस्लान् कि!
