प्रादेशिक अस्पताल जनकपुरधाम, बर्न वार्ड, बेड नम्बर १३९। यसमा छिन् १९ वर्षीया राधिका कार्की।
राधिकाको खुट्टा, पेट र छातीसम्मै ब्यान्डेज बेरिएको छ। हातबाट चौबीसै घन्टा सलाइन चढाइएको छ।
उनी बोल्न सक्दिनन्। कमजोरीले आँखा खोल्न सकेकी छैनन्। अन्न नखाएको हप्ता दिन हुन लाग्यो। हातखुट्टा चलाउने तागत छैन।
सिन्धुलीकी राधिका जीवन–मरणको दोसाँधमा छिन्। राधिकालाई उनकै प्रेमी भनिएका युवकले यस्तो हालतमा पुर्याएका हुन्। उनका प्रेमीले करेन्ट लगाइदिए। जिउमा आइरन दलिदिए। राधिकाको छातीमा आइरनले पोलेको छ। हातखुट्टा र शरीरका अन्य भागमा करेन्ट लगाइएको छ।
दुखाइ सहिनसक्नु छ। पीडाले बेलाबेला छटपटाउँछिन्, रुन्छिन्।
दुई महिनाभन्दा अघि, गत जेठ १६ गते राति ८ बजे धनुषा प्रहरीले राधिकालाई बेहोस अवस्थामा अस्पतालको इमेर्जेन्सी वार्डमा भर्ना गराएको थियो। उपचारमा संलग्न नर्सहरूका अनुसार राधिका भर्ना भएको १० दिनमा मात्र बोल्न सक्ने अवस्थामा आइन्। पन्ध्र दिनसम्म त उनका आफन्त पनि सम्पर्कमा थिएनन्। अस्पतालका सुरक्षा गार्डले औषधि किनेर ल्याइदिने, खाना खुवाउने, दिसापिसाब गराउने लगायतका सबै हेरचाह गरेका थिए।
शल्यक्रियापछि राधिकाको अवस्था झन् गम्भीर बनेको छ। उनी अस्पतालको बेडमा जीवनका लागि संघर्षरत छिन्। स्याहार सुसारमा राधिकाकी आमा अम्बिका खटेकी छन्।
छोरीको अवस्था देखेयता अम्बिकाका आँखा ओभाना भएका छैनन्। राधिका कहिलेसम्म अस्पतालमा बस्नु पर्ने हो भन्ने डाक्टरलाई नै थाहा छैन, अम्बिकालाई थाहा हुने कुरै भएन। डाक्टर र नर्स बेलाबेलामा आउँछन्, जाँच गर्छन्, दबाई लेख्छन् र जान्छन्।
उपचारमा संलग्न डा. अश्विनी रञ्जनका अनुसार राधिकाको दोस्रो सफल शल्यक्रिया गरिएको छ। पहिलो अपरेसनमा जलेको छाला हटाएर शरीरको अन्य भागको छाला प्रत्यारोपण गरिएको थियो। दोस्रोमा पैतालाको एउटा औंला काटेर फाल्नु पर्यो।
डा. रञ्जनले भने, ‘उनलाई हात, खुट्टा, पेट लगायत विभिन्न भागमा इलेक्ट्रिक शक लागेको थियो, अपरेसन गरेका छौं। बिस्तारै सुधार हुँदैछ। राम्रो हेरचाह आवश्यक छ।'
राधिका सिन्धुलीको गोलञ्जर गाउँपालिका–२ की बासिन्दा हुन्। उनी झन्डै आठ महिनादेखि आफ्ना प्रेमीसँग जनकपुरमा बसेकी थिइन्।
राधिकाले प्रहरी र सञ्चारकर्मीलाई बताएअनुसार उनका प्रेमी धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, महेन्द्रनगरका अरुण साह हुन्। तर राधिकाले भनेको ठाउँमा अरुण नामका कोही युवक नभेटिएको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप क्षेत्री बताउँछन्।
क्षेत्री भन्छन्, ‘उस (केटा) ले आफ्नो नाम के भन्यो, घर कहाँ भन्यो यिन (राधिका) लाई केही थाहा छैन।'
ती युवकले गलत नाम र ठेगाना बताएर राधिकालाई बिहे गरेर जनकपुर ल्याएको हुन सक्ने उनकी आमाको र स्याहारसुसारमा सघाउने अस्पतालका सुरक्षा गार्डको आशंका छ।
ती सुरक्षा गार्ड भन्छन्, ‘महेन्द्रनगरको सरस्वती ज्ञान मन्दिर कलेज छेउमा घर हो भनेको रहेछ। बदमासी गर्ने मान्छेले नाम, थर सबै झुक्याउँछन् नि! राधिकालाई पनि झुक्याएको जस्तो छ।'
अम्बिकाका अनुसार प्रेमी भनिएको केटालाई उसका साथीहरूले गीरेन्द्र नामले पनि बोलाउने गरेको राधिकाले भनेकी थिइन्। राधिकाको मोबाइल फोनसेटमा उनका प्रेमीको फोटो र फोन नम्बर थियो। भर्ना भएको केही दिनमा राधिकालाई भेट्न भनेर आएका एक अपरिचित युवकले राधिकाको फोन चोरेर लगेको अम्बिकाले बताइन्।
कामको सिलसिलामा सिन्धुली पुगेका एक युवक र राधिकाको भेटघाट भएको थियो। यही क्रममा उनीहरूको चिनजान प्रेमसम्बन्धमा बदलियो।
गत वर्षको तीजमा राधिकाको गाउँमा मेला लागेको थियो। मेला हेर्न जाने भनेर घरबाट हिँडेकी राधिका ती युवकसँगै गइन्। उनीहरूले मन्दिरमा बिहे गरे। युवकले तत्कालै घर जाँदा आमाबुबाले स्वीकार नगर्ने सम्भावना देखाएर राधिकालाई जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोकमा भाडाको कोठामा राखे।
केही दिन दुवै जना सँगै बसे। विस्तारै कोठामा युवकको आउजाउ पातलो भयो। आठ महिनासम्म पनि राधिकालाई घर लान नमानेपछि उनीहरूबीच विवाद सुरू भएको थियो।
दुई साताअघि राधिकाले सञ्चाकर्मीहरूसँग भनेअनुसार उनका प्रेमीले बिहे गरेको केही दिनमै घर लगौंला, अहिले केही दिन जनकपुरै बसौं भनेका थिए। सुरूमा बस्न, खान पैसा पनि दिएको थिए। तर केही दिनमै पैसा दिन छाडे र पिडाररी चोकमा होटलमा काम लगाइदिए।
राधिका प्रेमीको घर जान खोजेपछि उनीहरूबीच झगडा चर्किएको थियो।
उनले भनेकी थिइन्, 'मैले घर लैजाऊ भन्दा मानेको थिएन। त्यही विषयमा झगडा भयो। कोठामा बिजुलीको तार बोर्डमा जोडेर पहिला मेरो खुट्टामा करेन्ट लगायो। म बेहोस भएपछि के गर्यो मलाई थाहा भएन। कसरी हस्पिटल पुगेँ त्यो पनि थाहा पाइनँ।'
प्रहरीसमक्ष भने राधिकाले फरक कुरा बताएकी छन्। उनले प्रहरीलाई एक पटक आफूलाई करेन्ट लागेको बताइकी थिइन्। अर्को पटक फेरि केटाले लगाइदिएको भनेकी छन्।
‘सुरुमा आफैं करेन्ट लागेको भनिन्। पछि केटाले लगाइदियो, पोलिदियो भनेपछि हामीले मुद्दा दर्ता गर्यौं तर मुद्दा तामेलीमा जालाजस्तो छ,' डिएसपी क्षेत्रीले भने, ‘राधिका निको भएर आएपछि मात्रै सबै अनुसन्धान हुन सक्छ।'
प्रेमी भनिने ती युवक र उनका केही साथीको दबाब र त्रासका कारण राधिकाले बयान फेरेको हुन सक्ने उनकी आमा अम्बिका र राधिकालाई सुरूदेखि स्याहारेका सुरक्षा गार्डको अनुमान छ।
ती सुरक्षा गार्ड भन्छन्, ‘राधिका भर्ना भएदेखि नै केटाहरूको समूह बारम्बार आइरहन्थ्यो। उसलाई सायद धाकधम्की पनि दिइरहेका थिए। ज्यान मार्ने, पर्सनल भिडिओहरू सार्वजनिक गरिदिने धम्की दिएपछि प्रहरीमा कुरा फेरेको हुनुपर्छ।'
आफैंले शरीरको त्यतिधेरै भागमा करेन्ट लगाउने, आइरनले पूरै छाला डढ्ने गरी बेस्सरी पोल्ने कुरा पत्याउन नसकिने ती सुरक्षा गार्डको भनाइ छ। कुनै कारणले प्रहरीले बहानाबाजी गरेको हुन सक्ने शंका पनि छ उनलाई। सुरूमै प्रहरीले घटनालाई गम्भीरतापूर्वक नलिएका कारणले पनि दोषी उम्किएको उनको भनाइ छ।
बाहिरी केटाहरूको निरन्तर आवतजावत हुने गरेपछि प्रहरीले चौबीसै घन्टा आफ्नै एक जना गार्ड खटाएको छ तर कोही पक्राउ परेको छैन।
राधिकाको उपचार निःशुल्क गरेको अस्पतालका प्रशासन प्रमुख डा. केडी दासले बताए। राधिकालाई ‘बिभिएस (बर्न भायोलेन्स सरभाइभर) नेपाल' एक नामक संस्थाले औषधि उपलब्ध गराएको छ। सुरूआती दिनमा राम्रो आशा भरोसा दिइराख्ने बिभिएसका कर्मचारीले पछिल्लो समय दुर्व्यवहार गरेको राधिकाकी आमा अम्बिकाले गुनासो छ।
उनले भनिन्, ‘हाम्रो वडाध्यक्षले उतै लगेर उपचार गराउने भनेपछि उनीहरूले उपचारको जिम्मा हाम्रो भयो; औषधि, उपचार खानपिन सबै व्यवस्था गर्ने भने। तर अहिले छोरीकै अगाडि मरे मरोस् भन्छिन्।'
यसबारे बिभिएसका कर्मचारीलाई सोध्दा उनले अम्बिकाको आरोप खण्डन गरिन्। आफ्नो संस्थाले र व्यक्तिगत रूपमा राधिकाका लागि सकेसम्म सहयोग गरेको उनले बताइन्।
पैसा नहुँदा छोरी भेट्न एक हप्ता ढिलो
राधिकाको गाउँ सिन्धुलीको विकट क्षेत्रमा पर्छ। उनका आफन्त खोज्ने क्रममा धनुषा प्रहरीले वडाध्यक्ष दौलत कार्कीलाई सम्पर्क गरेको थियो। राधिका अस्पताल भर्ना भएको झन्डै दुई सातापछि घटनाबारे थाहा पाएका वडाध्यक्ष कार्की तुरन्त राधिकाका आमाबालाई भेट्न गए। खेतमा काम गरिरहेकी राधिकाकी आमा छाँगाबाट खसेझैं भइन्। आँखाबाट आँसुको भेल बग्न थाल्यो। बिरामले थला परेका बुबा पनि तनावमा परे।
बिरामी बाबु घर छाडेर हिँड्न सक्ने अवस्थामा थिएनन्। भागेर बिहे गरेको भनेर राधिकाका दाइहरू रिसाएका थिए। आमा तुरुन्तै जनकपुर आउन चाहन्थिन् तर पैसा भएन। उनीहरूको परिवार निकै विपन्न छ। उनले कसैको सहयोग पनि पाइनन्।
अम्बिकाले भनिन्, ‘जनकपुर आउन खर्च जुटाउन सकिनँ। वडाअध्यक्षलाई रोइकराइ गरेपछि उहाँले पैसा ल्याइदिनुभएछ। भाइले दुई हजार रूपैयाँ सापट दियो।'
यसरी छोरी भेट्न आइपुगेकी अम्बिका दिनदिनै झन् सकसमा पर्दैछन्। एकातिर कति दिन अस्पताल बस्नु पर्ने हो थाहा छैन, अर्कातिर छोरीको शरीर कसले किन पोल्यो त्यो पनि पत्तो लागेको छैन।