बैतडीमा चितुवा र मान्छेबीच लामो समयदेखि द्वन्द्व छ। जिल्लाको मेलौली नगरपालिका, तल्लोसोराड चितुवाले तर्साएको क्षेत्रका रूपमा चिनिन्छ। यहाँ चितुवाको आक्रमणबाट २०६८ सालदेखि अहिलेसम्म कम्तीमा २७ जनाको ज्यान गएको सरकारी तथ्यांक छ।
चितुवाले आक्रमण गरेर मान्छेका बस्तीमा आतंक मच्चाउने गरेको छ। यस ठाउँमा मानव र चितुवाको द्वन्द्व व्यवस्थापन निकै ठूलो चुनौती बनेको छ।
सरकार र स्थानीयस्तरबाट चितुवा र मानवबीचको द्वन्द्व व्यवस्थापन गर्न पहल भए पनि दिगो र प्रभावकारी नभएको स्थानीय बासिन्दा भागरथी बिष्टको भनाइ छ।
बैतडीको पाटन नगरपालिका–९ का धीरेन्द्र चन्द पनि बाल्यकालदेखि नै चितुवाले किन मानिसलाई आक्रमण गर्छ भन्ने कुरा सोच्थे। किन मान्छेसँग चितुवा रिसाउँछ र चितुवासँग किन मान्छे रिसाउँछन् भन्ने प्रश्न उनको मनमा खेलिरहन्थ्यो। त्यो ठाउँमा बालबच्चा, वृद्धवृद्धा र अरू पनि चितुवाको आक्रमण पर्दा उनको मनमा डर लाग्थ्यो।
'यस्ता घटना हुँदा हामी सानोमा धेरै डराउथ्यौं। किन यस्तो भयो होला जस्तो लाग्थ्यो, केही बुझेका थिएनौं,' उनले भने, 'हाम्रो गाउँ त्यहाँभन्दा टाढा भए पनि आफन्त र इष्टमित्र आक्रमणमा परेका घटनाले डर लाग्थ्यो।'
तिनै धीरेन्द्र अहिले वन्यजन्तुको खोज, अनुसन्धान र संरक्षण कार्यमा सक्रिय छन्। सुदूरपश्चिमबाट यस्तो खोज–अनुसन्धानसहित सक्रिय रूपमा लाग्ने थोरैमध्येका एक व्यक्ति उनी। विगत सातवर्षदेखि उनी चितुवा र अन्य वन्यजन्तुको पछि लागेर अध्ययन गरिरहेका छन्।
मध्यम वर्गीय परिवारमा हुर्केका र पढाइमा लगनशील धीरेन्द्रले विज्ञान विषय पढे। जूलोजी अर्थात प्राणीशास्त्र मुख्य विषय बनाएर स्नातक तह पूरा गरे। कलेजको विद्यार्थी छँदै उनले वन्यजन्तु संरक्षण र खोज–अनुसन्धानमा लाग्ने लक्ष्य बनाए।
उनले भने, 'त्यो बेला मास्टर (शिक्षक) बन्छु भन्ने सोचेर विज्ञान विषय लिएको थिएँ। पढ्दै गएपछि संरक्षणको आवश्यकता बुझेँ।'
दस वर्षअघि उनले विज्ञानमा स्नातक अर्थात बिएससी पूरा गरे। त्यसपछि उनी थप पढाइका लागि काठमाडौं गए। प्राणीशास्त्र केन्द्रीय विभागमा पढाइ सुरू गरे। दोस्रो सेमेस्टर पुगेपछि उनलाई जीवजन्तुको खोज र संरक्षणमा चासो बढ्यो। त्यहाँका केही प्राध्यापकहरू यस्तै खोज–अनुसन्धान र संरक्षणमा संलग्न थिए।
धीरेन्द्रले आफ्ना प्राध्यापकहरूबाट हौसला पाए।
उनले भने, 'किताबको ज्ञान अरूलाई पनि सिकाउँला भन्ने सोचेको थिएँ तर प्रोफेसरहरूको प्रेरणाले मलाई आफ्नै ठाउँमा फिल्डमा काम गर्न प्रेरणा दियो।'
धीरेन्द्र सुदूरपश्चिममा वन्यजन्तुको वैज्ञानिक अनुसन्धान कम भएकाले यतै काम गर्ने निष्कर्षमा पुगे। तेस्रो सेमेस्टर पढ्दै गर्दा उनी पहिलो पटक त्यस बेलाको शुक्लाफाँटा वन्यजन्तु आरक्ष गए। आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएको छ।
त्यहाँ धीरेन्द्रले विश्वमै दुर्लभ मानिएको लघुकर्ण खरायोको अध्ययन गरे। उनका अनुसार खोज–अनुसन्धान आफैंमा कठिन काम हो। धीरेन्द्रलाई त आर्थिक स्रोत पनि अभाव थियो। उनीसँग क्यामरा थिएन र अन्य अत्यावश्यक उपकरण पनि थिएनन्।
उनले राष्ट्रिय प्रकृति संरक्षण कोषमा एउटा प्रस्ताव पेस गरे। उनको प्रस्ताव स्वीकृत भयो। यसबाट उनले ५० हजार रूपैयाँ पाए। यही पैसाले शुक्लाफाँटामा सात महिना काम गरे। प्राणीशास्त्रमा स्नातकोत्तर गरेपछि पनि धीरेन्द्रले फिल्डमै काम गर्ने अठोट गरे। अरू साथीहरू झैं जागिरतिर लागेनन्।
उनले भने, 'मलाई फिल्डमै काम गर्नु थियो, त्यसैलाई निरन्तरता दिने सोच बनाएँ।'
बाल्यकालमै बैतडीमा मानिस र चितुवाबीच हुने द्वन्द्वबारे मनमा जिज्ञासा थियो। उनले यसलाई आफ्नो अनुसन्धानको विषय बनाए।
'मेरा लागि यो अनुसन्धान एउटा अवसर थियो। आफ्नै ठाउँमा जटिल विषयको खोज, अनुसन्धान गर्न पाउँदा म निकै खुसी थिएँ,' उनले भने।
काम गर्न त्यति सहज थिएन। चितुवाको अवस्था, यसले मान्छेलाई आक्रमण गर्ने कारण र समाधानको उपाय पत्ता लगाउने उनको उद्देश्य थियो। यति गहन अध्ययनका लागि उपकरण र बजेट अभाव थियो। उनले जिल्ला वन कार्यालय, प्रदेश सरकारको वन मन्त्रालय र अन्य केही सरकारी निकायमा आर्थिक सहयोग माग्दै प्रस्ताव पेस गरे तर कतैबाट पनि सहयोग पएनन्।
उनले भने, 'म सुरूआती अनुसन्धानकर्ता भएकाले कसैले सहयोग गरेनन्। अनुसन्धानका उपकरण धेरै महँगा हुन्छन्। काम पनि कठिन हुन्छ तर म निराश भइनँ। प्रयास जारी राखेँ।'
उनले सोही अवधारणाको वैज्ञानिक प्रस्तावना पत्र अन्तर्राष्ट्रिय संस्था रूफर्डमा पेस गरे। रूफर्डले पाँच हजार डलर सहयोग गर्यो। त्यो पैसाले उनले क्यामरा र जिपिएस किने। क्यामरा ट्र्याप किन्न सकेनन्। केही उपकरण आफ्नै प्रोफेसरहरूसँग मागे।
अब उनले मेलौली नगरपालिकाको तल्लो सोराड क्षेत्रमा अनुसन्धान गर्ने भए। गाउँलेहरू देवीदेउतामा विश्वास गर्छन्। धीरेन्द्रलाई पनि सम्झाए। उनीहरू देउता रिसाएपछि चितुवाले मान्छेलाई आक्रमण गर्छ भन्ने विश्वास राख्छन्। जंगल पसेर चितुवाका बारेमा खोजी गर्दा झन् अनिष्ट हुुन सक्छ।
उनले गाउँलेका कुरा गम्भीर रूपमा लिएनन्, 'म निडर भएर गएँ। चितुवाले आक्रमण गरेका ठाउँहरूमा गएर बुझेँ। दुई सय वटा पर्चा छापेर गाउँमा बाँडेँ। प्रश्नोत्तरबाट धेरै कुरा फेला पारेँ।'
उनका अनुसार चितुवाको अनुसन्धान निकै जोखिमपूर्ण छ। उनले पूरा एक वर्ष बैतडीमा चितुवाबारे खोज, अनुसन्धान र अध्ययनमा बिताए। चितुवा कुन समय बढी सक्रिय हुन्छ, कति संख्यामा छन्, के–कारणले गाउँमा पसेर आतंक मच्चाउँछ, इत्यादि खोजी गरे।
सुरूमा उनले चितुवाले धेरै आक्रमण गर्ने गरेका ठाउँका बासिन्दासँग कुरा गरे। कतिपयले देवीदेउताको सरापले चितुवा गाउँ पस्ने गरेको पनि भने। धीरेन्द्रका अनुसार सामान्यतया बैतडीमा चितुवाको आहार मृग, दुम्सी, खरायो हुन्। पाँचौं स्थानमा मान्छे पर्छ।
उनको अनुसन्धानले वनमा चितुवाको आहारा कम हुँदै गएको, वासस्थान मासिँदै गएको देखायो। यिनै कारण चितुवाले मान्छेलाई आक्रमण गर्न थालेको अध्ययनले देखाएको उनको भनाइ छ। बिजुली बत्ती नहुनु, घर आसपासमा झाडी हुनु, घरपालुवा कुकुर अँध्यारोमा भुक्नु पनि चितुवा गाउँ पस्नुको कारण देखियो।
धीरेन्द्र भन्छन्, 'एक पटक सजिलो आक्रमण गरेपछि फेरिफेरि त्यसै गर्ने चितुवाको स्वभाव हुने भएकाले गाउँमा आतंक मच्चिएको हो।'
आफू काम गर्ने संस्थाको सहयोगमा उनले चितुवाको संख्या पत्ता लगाउन १३ वटा क्यामरा जडान गरे। जहाँ जहाँ चितुवा देखिन्छ, मुख्य प्रभावित क्षेत्रमा क्यामरा परिचालन गरे। दुई वटा क्यामरामा चितुवा देखिए।
उनले आफ्नो अनुसन्धानबाट फेला परेका तथ्य स्थानीय विद्यालयमा गएर बालबालिकालाई बताए। चितुवाको आनीबानीबारे जानकारी गराए। कुन बेला आक्रमण गर्छ, कसरी बच्ने इत्यादि कुरा बताए। गाउँलेहरूलाई पनि जम्मा गरेर सम्झाए।
चितुवाबारे जानकारी दिन विद्यालयमा बालबालिकाका लागि हाजिरीजवाफ प्रतियोगितामा पनि चलाए। धीरेन्द्रले एक वर्षको अनुसन्धानपछि वैज्ञानिक प्रतिवेदन लेखे।
'मेरो काम रिपोर्ट (प्रतिवेदन) देखाउने थियो। रिपोर्टले आक्रमण न्यूनीकरण र रोकथामका काम गर्न राज्यलाई सहज होस् भन्ने मेरो चाहाना थियो,' उनले भने।
आफ्नो रिपोर्ट सम्बद्ध मन्त्रालय, वन कार्यालय लगायत सरोकारवाला निकायहरूमा देखाए। उनका अनुसार बर्दिया र चितवनबाट उद्धार टोली गएर एउटा चितुवा स्थानान्तरण पनि गरे। धीरेन्द्रको अनुसन्धानपछि त्यहाँ चितुवाले अर्को एउटा आक्रमण गर्यो।
'समस्या न्यूनीकरण गर्न सरकारी कदम पनि राम्रो हुन जरूरी छ। राज्यका तीन वटै तहले पहल गर्ने हो भन्ने न्यूनीकरण हुन्छ,' उनी भन्छन्।
धीरेन्द्र त्यहाँको चितुवाबारे थप अनुसन्धान गर्ने तयारीमा छन्।
भन्छन्, 'मेरो कदमले त्यस ठाउँको जोखिम कम गर्न सहयोग हुन्छ। म थप अनुसन्धान गर्ने तयारीमा छु। यसका लागि सरकारको सहयोग पनि हुनु पर्यो।'
बैतडीमा बाँदर र मानवबीच पनि चर्को द्वन्द्व छ। यसको व्यवस्थापनका लागि समुदायलाई सचेत गराउने काममा पनि उनी सक्रिय छन्। धीरेन्द्रले कैलालीका विभिन्न तालतलैया र वसन्ता संरक्षित वनमा पाइने चराचुरुंगीबारे पनि केही अनुसन्धान गरेका छन्। पाँच वर्षअघिदेखि कैलालीमा डल्फिन गणना र संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रममा पनि संलग्न छन्।
नेपालमा पाइने बाँदरका तीन प्रजातिमध्ये पहरे बाँदर सम्बन्धी खोज, अनुसन्धान गरी सुदूरपश्चिमका विभिन्न ठाउँमा नयाँ वासस्थापन पत्ता लगाएको पनि उनले बताए। हाल उनी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गिद्ध सम्बन्धी खोज, अनुसन्धान र संरक्षणको काममा क्रियाशील छन्।
धीरेन्द्रको अनुसन्धानले राष्ट्रिय–अन्तर्राष्ट्रिय मान्यता पनि पाउन थालेको छ। उनले २०७७ सालमा 'राष्ट्रिय युवा प्रतिभा पुरष्कार' पाए। यसैगरी 'डिस्टिङ्गुइस्ड रिसर्चर अफ द इयर, २०२१' नामको एसियाली पुरस्कार पनि पाएका छन्।
उनले 'इक्सलन्ट एसियन मेल वाइल्ड लाइफ रिसर्चर एन्ड कन्जरभेसनिस्ट अवार्ड, २०२१' पनि पाएका छन्। धीरेन्द्रलाई सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको युवा परिषदले 'प्रदेश युवा प्रतिभा सम्मान, २०७८' बाट पनि सम्मान गरेको छ।
जीवजन्तुको खोज, अनुसन्धान र संरक्षण कार्यबाट सिंगो देशलाई विश्वमा चिनाउने उनको सपना छ। धीरेन्द्र वन्यजन्तु सम्बन्धी केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका छन्।