धनगढी, फूलबारीका नरबहादुर पुलामी मगर नेपाली सेनामा थिए। माओवादी सशस्त्र द्वन्द्वकालमा केही भिडन्तमा गए। ज्यानको माया नगरी सेवामा समर्पित रहे अनि सकुशल सेवानिवृत्त भए।
२०६१ सालतिर अवकाश पाएपछि उनी घर फर्के। परिवारसँगै बस्ने उनको धोको थियो।
'उहाँ धेरै वर्ष परिवारबाट टाढा हुनु हुन्थ्यो। भिडन्तहरूमा जानुभयो। बाँचेर आउनुभयो,' नरबहादुरकी श्रीमती गोमतीले भनिन्, 'अवकाश पाएपछि अब घरै बसेर खेतीपाती गर्ने, परिवारसँगै रमाउने भन्दै आउनुभएको थियो। म खुसी थिएँ। छोराछोरी पनि खुसी थिए।'
यसो भन्दै गर्दा गोमतीका आँखाबाट आँसु बग्दै थियो।
नरबहादुर घर फर्केको केही दिन भएको थियो। एक दिनको कुरा, राति १२ बजे परिवारका सबै जना मस्त निद्रामा थिए। अचानक ढोकामा ढकढक आवाज आयो। नरबहादुर र गोमती ब्युँझिए। छोराछोरीहरू आत्तिएर कराउन लागे। नरबहादुरले ढोका खोले।
बाहिर सैनिक पोसाक लगाएका केही व्यक्ति उभिएका थिए।
घटना सम्झिँदै गोमतीले भनिन्, 'मैले सेना रहेछन् भन्ने सोचेँ, माओवादी पो रहेछन्। उनीहरूले श्रीमानलाई हामीसँग जानु पर्छ भने अनि सरासर घरभित्र पसे।'
माओवादी लडाकुहरूले खाना र बास मागे। उनीहरूको कुरा नाइँनास्ती गर्ने समय थिएन। गोमती र नरबहादुरले सबै व्यवस्था गरे। उनीहरूलाई खटियामा सुताए। परिवारका सबै जना भुइँमा सुते। बिहान लडाकुहरूले नरबहादुरलाई आफूहरूसँग जान तयार हुन भने। नरबहादुरले घरमा पूजाआजाको काम भएकाले दुई दिनपछि भनेकै ठाउँमा उपस्थित हुने वचन दिए। लडाकुहरू राजी भए। फेरि आउँछौं भनेर बाटो लागे।
गोमती र नरबहादुर ठूलो सकसमा परे। जाऊँ जीवनको भर छैन, नजाऊँ भने पनि भर छैन।
'नगए माओवादीले मार्ने, गए सेनाले मार्ने। बाध्य भएर बरू सेनामै जाने हुनुभयो,' गोमतीले भनिन्, 'संकटकाल भएकाले अवकाशपछि पनि करारमा सेनामा जान पाइन्थ्यो।'
नरबहादुर सेनामा फर्के। फेरि आउँछौं भनेर गएका माओवादी लडाकु केही दिनमा आइपुगे। उनीहरूले नरबहादुर सेनामा फिर्ता भएको थाहा पाए। आफूहरूलाई ढाँटेको आरोप लगाए। सेनामा पठाएको भनेर गोमतीलाई हप्कीदप्की गरे।
'उहाँ सेनामा गएपछि माओवादीले धेरै दुःख दिए। पिट्न त पिटेनन् तर एकै पटक सय जना जति आएर खाना पकाउन लगाउँथे। हतियार लुकाउन दिन्थे,' गोमतीले भनिन्, 'उनीहरूका लागि पकाउनु पर्ने सजाय मलाई तोकेका रहेछन्। ती दिन सम्झिँदा अहिले पनि आङ जिरिंग हुन्छ।'
अवकाशपछि सेनामा फर्केका नरबहादुर परिवारसँग सम्पर्कमा आएनन्। सम्पर्क हुने सजिलो माध्यम पनि थिएन। केही दिनपछि माओवादीसँगको भिडन्तमा गोली लागेर नरबहादुर घाइते भएको खबर गोमतीले पाइन्। उनका अनुसार बर्दिया रम्बापुरको पाँच नम्बर गेटमा भएको भिडन्तमा बिहान ६ बजे गोली लागेर नरबहादुर ढलेछन्। उनी भोलिपल्ट राति ८ बजे मात्रै फेला परे।
'घटनालगत्तै मैले केही पनि थाहा पाइनँ। उहाँ केही ठीक हुनुभएछ। म भेट्न गएँ। मैले भेट्दा निको भएजस्तै देखिनु हुन्थ्यो,' गोमतीले भनिन्, 'अरूले ठूलो कालबाट बचेर आयो भने।'
नरबहादुर बाहिरबाट निको भएजस्ता देखिए पनि गोलीले टाउकोमा लागेको चोट निको भएनछ। द्वन्द्व साम्य भयो। नरबहादुर घर फर्के। सधैंका लागि फर्केका भए पनि टाउकोको चोट बिसेक नहुँदा शारीरिक रूपमा निष्क्रिय हुँदै गए।
'बेलाबेला टोलाउने, झर्किने, नबोल्ने, एक्कासि चिच्याउने, बेहोस हुने समस्या भयो,' गोमतीले भनिन्, 'सेती अस्पताल पुर्याएँ। डाक्टरले दिमागमा गोलीको छर्राले रगत जमेको छ, बाँच्न कठिन छ भने।'
गोमतीले नरबहादुरलाई घर ल्याइन्।
'घर पुर्याएको दुई दिनपछि, २०६४ कात्तिक ३० गते, मेरा श्रीमानले प्राण त्यागे,' गोमतीले भनिन्।
परिवारबाट नरबहादुर टाढा भएको १७ वर्ष पूरा भयो। श्रीमती गोमतीले घटना बिर्सिनै सकेकी छैनन्। श्रीमान बितेपछि सन्तान लालनपालनको सबै जिम्मेवारी गोमतीमा आइलाग्यो। बृहद शान्ति सम्झौतापछि द्वन्द्वकालमा ज्यान गुमाएका, घाइते भएका र द्वन्द्व प्रभावितका लागि राज्यले ल्याएका कार्यक्रममा आफ्नो परिवार नसमेटिएको गोमतीको भनाइ छ।
गोमती भन्छिन्, 'मेरा श्रीमानको दर्दनाक मृत्युको बदलामा राज्यले मलाई आँसु मात्र दिएको छ। मेरो श्रीमान तड्पीतड्पी मर्नु पर्यो तर हामीलाई द्वन्द्व प्रभावितको सूचीमा राखेनन्। प्रमाण ल्याउनू भन्छन्। काठमाडौं गएर सेनासँग पनि कुरा राखेँ। त्यहाँ नाम राख्न छुटेको भने तर केही पनि काम भएन।'
नरबहादुरलाई गोली लागेपछि भएको उपचारका कागजात फेला परेको छैन।
'ती कागजपत्र फालिए कि, जलाइए, केही थाहा छैन। उहाँको पेनसन मात्र खाइरहेका छौं,' गोमती भन्छिन्, 'द्वन्द्वपीडित परिवार भनेर अरूले जेजे पाए, त्यो मेरा छोराछोरीले पनि पाउनुपर्छ। मेरो भनाइ यत्ति हो।'
द्वन्द्वकालले दिएको पीडाकी अर्की भुक्तमान हुन् धनगढी उपमहानगर–१८ की बासिन्दा शकुन्तला राई। उनका श्रीमान पुरनको द्वन्द्वकालमा सेनाको कुटपिटबाट ज्यान गएको उनी बताउँछिन्।
उनका अनुसार भारतमा काम गर्ने पुरन चाडपर्वमा मात्रै घर आउँथे। २०६१ साल असोजमा पनि दसैं मनाउन आएका थिए।
'दसैं मनाउन घर आएका मेरा श्रीमानलाई आर्मीले माओवादी लुकेको ठानेछ,' शकुन्तलाले भनिन्, 'त्यो दिन म खेतमा थिएँ। घरमा सेना आएको खबर पाएँ। दौडेर पुगेँ। सेनाले घर घेरा हालेर श्रीमानलाई कुट्नुसम्म कुट्यो।'
शकुन्तलाले अनुनय विनय गरिन्। आफूहरू माओवादी होइनौं भनिन्। माओवादीले कहिलेकाहीँ आफ्नो घरमा आएर खाना खाएको बताइन्।
'मैले रोइकराई जति बिन्ती परे पनि सुनेनन्। मेरा श्रीमानलाई बेहोस हुने गरी कुटेर हिँडे,' उनले भनिन्।
उनले बेहोस श्रीमानलाई मेडिकल पुर्याइन्। त्यस दिन सामान्य उपचार भयो तर लगातार बाडुली लाग्ने समस्या देखियो। बिस्तारै सास फेर्न कठिन हुन थाल्यो। शकुन्तलाले पुरनलाई अपस्पताल लगिन्। सेती अस्पतालले एक हप्ता राख्यो। त्यसपछि कोहलपुर पुर्याइन्। त्यहाँ पनि ठीक नभएपछि भारतको लखनउ पुर्याइन्। अन्ततः कुटपिट भएको पाँच महिनामा लखनउमै पुरन बिते।
पुरन ३३ वर्ष उमेरका थिए। शकुन्तलामाथि बज्रपात भयो। चार जना छोराछोरी हुर्काउने, पढाउने जिम्मेवारी शकुन्तला एक्लैलाई आइलाग्यो।
'सरकारले द्वन्द्वकालका पीडित परिवारलाई पैसा दियो। हाम्रो जस्तै घटना भएका मेरै गाउँकाले पनि राहत पाए,' शकुन्तला भन्छिन्, 'मेरो चाहिँ प्रमाण पुगेन भन्छन्। त्यो बेला कुटपिट गरेको गाउँलेहरू सबैले देखेका छन्, सबै साक्षी छन् तर कागतपत्र छैन।'
धनगढीकै एचगाउँकी अर्की पीडित महिला हुन् कञ्चनमाया तामाङ। अझै पनि धेरै वास्तविक द्वन्द्व पीडितलाई राज्यले नहेरेको उनको पनि गुनासो छ। कञ्चनमायाका अनुसार २०५६ सालमा माओवादीको कुटाइबाट घाइते भएका उनका श्रीमान बिते।
'मेरा श्रीमान कांग्रेस पार्टीमा थिए। संकटकाल बेला माओवादीहरूले कांग्रेस हो भन्दै बेस्सरी कुटेर घाइते बनाए। त्यही कारणले श्रीमानको मृत्यु भयो।'
उपचारको क्रममा श्रीमानको मृत्यु भएको उनले बताइन्। राज्यबाट केही राहत सहयोग नपाएको उनको भनाइ छ।
'हामीजस्ता द्वन्द्वपीडितलाई राज्यले हेर्नु पर्ने हो। हामी सत्य निरूपण तथा मेलमिलाप आयोग पनि गयौं। अन्त पनि कुरा गर्यौं,' कञ्चनमायाले भनिन्, 'द्वन्द्वपीडित भएको पुष्टि गर्न प्रमाण माग्छन्। हाम्रो दुःख देख्दैनन्। हामीले न्याय पाएनौं।'
विभिन्न संगठनको माध्यमबाट स्थानीय, प्रदेश र केन्द्र सरकारमा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको उनको गुनासो छ।