सामाजिक सञ्जाल ट्विटरले हिन्दुहरूकी देवी कालीले चुरोट पिएको डकुमेन्ट्री पोस्टर हटाइदिएको छ।
तमिलनाडुमा जन्मिएकी र अहिले क्यानडाको टोरोन्टोमा बस्ने फिल्म निर्देशक लीना मनिमेकाले गत शनिबार आफ्नो ट्विटरमा एउटा डकुमेन्ट्रीको पोस्टर सार्वजनिक गरेकी थिइन्।
उक्त पोस्टरमा हिन्दुकी देवी कालीको पहिरन र आकृतिमा रहेकी महिलाले चुरोट पिइरहेकी छन्। पोस्टरमा एलजिबिटी समुदायको प्रतीकका मान्यता पाएको प्राइड फ्ल्याग पनि देखाइएको छ।
भारतीय हिन्दुहरूले उक्त पोस्टरले आफ्ना देवी देवताको अपमान गरेको भन्दै आक्रोश जनाइरहेका छन्।
मनिमेकालाई पक्राउ गर्नुपर्ने भन्दै उनीविरूद्ध भारतका विभिन्न ठाउँमा उजुरी दर्ता भएका छन्।
मनिमेकाले आफूले निकै असुरक्षित महशुस गरेको बताएकी छन्।
‘यसले के देखाउँछ भने संसारकै ठूलो लोकतन्त्रबाट पुरै देश संसारकै ठूलो घृणा उत्पादन गर्ने मेसिन बनेको छ,’ मनिमेकाले द गार्डियनसँग भनेकी छन्,‘मैले अहिले कहीँ पनि सुरक्षित महशुस गरेकी छैन।’
मनिमेकाको यो डकुमेन्ट्री ‘रिदम्स अफ क्यानडा’ मा प्रदर्शन गर्न बनाइएको हो। विरोधपछि उक्त डकुमेन्ट्री प्रदर्शन नहुने भएको छ।
ट्विटरले कानुनी आग्रहका कारण मनिमेकाको ट्विट हटाइएको बताएको छ।