कीर्तिमानी आरोही कामिरिता शेर्पाले सगरमाथाको आधार शिविर सार्न नहुने बताएका छन्।
२६ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा पुगेका कीर्तिमानी आरोही शेर्पाले अहिलेको सगरमाथाको आधार शिविर सुरक्षित स्थानमा रहेकाले अन्यत्र सार्दा थप जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरेका हुन्।
गत जुन १७ मा बीबीसीले नेपालले सगरमाथाको आधार शिविर सार्ने तयारी गरिरहेको समाचार पहिलो पटक प्रकाशित गरेको थियो।
सगरमाथाको फेदीमा रहेको खुम्बु आइसफलमा अवस्थित सगरमाथाको आधार शिविर हिमाली क्षेत्रको बढ्दो तापक्रमले गर्दा जोखिममा रहेको अध्ययनहरूले देखाएका छन्।
बेलायतको लिड्स विश्वविद्यालय र अमेरिकाको एरिजोना विश्वविद्यालयका शोधकर्ताहरूले सन् १९८४ देखि सन् २०१५ सम्मको अध्ययनले तापक्रम वृद्धिका कारण खुम्बु क्षेत्रमा ३ सय ८३ प्रतिशतले हिउँ पग्लिएर बन्ने पोखरी बढेको उल्लेख गरेका छन्।
खुम्बु क्षेत्रमा मात्रै १९ करोड ७६ लाख मिटर क्युब हिउँ पग्लिएको अध्येताहरूले उल्लेख गरेका छन्। पातलो तहको हिउँ पग्लिएसँगै सगरमाथा आधार शिविरको हिउँको तह ३० मिटर माथि सरेको छ।
हिमाल आरोहीहरूले पनि सगरमाथाको आधार शिविर रहेको खुम्बु क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमपातमा कमी आएको र पानी बगिरहेको देखिन थालेको बताउने गरेका छन्।
सगरमाथाको आधार शिविरमा पुगेका पदयात्रीहरूले पनि सगरमाथा आधार शिविरमा व्यापक मात्रामा परिवर्तनहरू देखिएको उल्लेख गरेका थिए।
पर्यटन मन्त्रालयले सगरमाथाको आधार शिविर रहेको खुम्बु क्षेत्रमा जलवायु परिवर्तनपछि देखापरेको असरबारे अध्ययन गर्न समिति गठन गरेको थियो।
उक्त समितिमा रहेका नापी विभागका कर्मचारी एवम् सगरमाथाको उचाइ नाप्ने नेपाली 'सर्भेयर' खिमलाल गौतम पनि पछिल्लो दश वर्षमा सगरमाथाको आधार शिविरमा धेरै परिवर्तन आएको बताउँछन्।
'म लगातार दश वर्षसम्म आधार शिविर पुग्दा वातावरणको हिसाबले धेरै परिवर्तन देखेँ। अहिलेको आधार शिविरमा प्रत्येक वर्ष आउने/जानेबाहेक १५ सय मान्छे बस्ने गरेका छन्', गौतमले सेतोपाटीसँगको कुराकानीमा भने, 'यसरी हेर्दा मानवीय कारणले समेत ग्लेसियर पग्लिएको र त्यसले भयावह स्थिति सृजना भएको देखिन्छ। त्यसलाई नियन्त्रण गर्नुपर्छ।'
उनले जमिनमा भू-क्षय भएजस्तै हिमालयमा हिउँ-क्षयको अवस्था उत्पन्न भएको बताए।
गौतमले २०२२ को जुन १५ मा वातावरणीय उपाय अवलम्बन गरेर या त अहिलेको आधार शिविरमा मानवीय गतिविधिमा कडाइ गर्नुपर्ने अन्यथा आधार शिविर सार्नुपर्ने तर्क गर्दै लेख प्रकाशित गरेका थिए।
'आरोहीहरू हजारौं, लाखौं डलर खर्चिएर आधार शिविर आइपुगेका हुन्छन्। उनीहरूले त्यहाँ सुविधा खोज्छन्', गौतमले भने, 'मानवका लागि आरामदायी क्याम्पहरू बनाउँदा हिउँ पग्लने क्रम बढेको छ। कि त आरोहीहरूको सुविधा घटाउनुपर्छ नभए आधार शिविर रहेको ठाउँ पुनर्विचार गर्नुपर्छ। आधार शिविर परिवर्तन नगरे भयावह स्थिति आउँछ।'
नापी विभागअन्तर्गत कार्यरत गौतमले पर्यटन विभाग अन्तर्गत गठन भएको एउटा समितिको रिपोर्टको ड्राफ्टमा आधार शिविर सार्नुपर्ने विषय उठाइएको बताए।
'आधार शिविर सार्ने भन्ने कुरा सजिलो छैन। राज्यले निर्णय गर्नुअघि सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग (क्लाइम्बिङ कम्युनिटी) छलफल गर्नुपर्छ', गौतमले भने, 'छलफलपछि सबैले अहिलेको आधार शिविरभन्दा तल हिउँ बाहिर नदेखिएको उपयुक्त ठाउँ छनोट गर्नुपर्छ। अथवा हिउँ पग्लिएर ढुंगा र ग्रेगान (मोरेन) ठाउँमा सार्नुपर्छ।'
उनले मानवीय गतिविधि हुने ठाउँमा ग्लेसियरलाई प्रभाव पार्ने गतिविधि गर्न नहुने बताए।
'हाम्रा छिमेकमा दुई ठूला औद्योगिक राष्ट्र छन्। अहिले हाम्रा कारणले मात्र अहिले ग्लेसियर पग्लिएको हैन', गौतमले भने, 'तर खुम्बु ग्लेसियरमाथि प्रत्यक्ष रूपमा मानवीय क्रियाकलाप हुँदा प्रभाव परेको छ। हाम्रा क्रियाकलाप कम नगर्ने हो भने उपयुक्त स्थानमा नजिक सार्नु उचित हुन्छ।'
पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले सगरमाथाको आधार शिविर सार्ने विषयमा विभागमा सामान्य छलफल मात्र भएको बताए।
'त्यसका लागि हामीले अध्ययन गर्नुपर्छ। विज्ञ टोली चाहिन्छ', उपाध्यायले सेतोपाटीसँग भने, 'सगरमाथाको आधार शिविर सार्ने कुनै तयारी अहिले भएको छैन। कुराहरू उठेका छन्। तर निर्णय भएको छैन।'
सबभन्दा धेरै २६ पटक सगरमाथाको आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पा भने सगरमाथाको आधार शिविर सार्न नहुने बताउँछन्।
'आधार शिविर सार्नलाई अहिलेको आधार शिविर असुरक्षित छ भन्ने हुनुपर्छ। सन् २०१५ को भूकम्पमा पनि आधार शिविरमा सगरमाथाको ग्लेसियरले खासै असर गरेन। बरू पुमरी हिमालबाट आएको ग्लेसियरले गर्दा आधार शिविरमा मानिसहरूले ज्यान गुमाए', कामिरिताले भने, 'अहिले पुमरीको आधार शिविरतर्फ सार्ने चर्चा चलिरहेको छ। त्यो ठाउँ असुरक्षित हुन्छ।'
सगरमाथा आरोहण गर्न ठूलो संख्यामा पर्वतारोही आउने गरेका कारण तल्लो क्षेत्रमा आधार शिविर बनाउँदा पानीको समस्या हुने उल्लेख गरे।
'अहिले आधार शिविर भएको ठाउँमा पानीको खासै समस्या छैन', कामिरिताले भने, 'कालापत्थरतर्फ तल्लो क्षेत्रमा (गोरखसेप) मा पानीको समस्या छ। अझ त्यहाँ ट्रेकिङका लागि धेरै मानिस आउने भएकाले पर्वतारोहीको सामान असुरक्षित हुन्छ।'
उनले विश्वभर ग्लेसियर माथि नै हिमालका आधार शिविरहरू रहेको तर्क गरे।
'आधार शिविर ग्लेसियर माथि नै हुने हो', कामिरिताले भने, 'आधार शिविर सार्दा नेपालबाट सगरमाथा चढ्न आउने आरोहीहरू चीन जान सक्छन्।'
उनले अहिलेको आधार शिविरबाट सगरमाथाको पहिलो क्याम्पसम्म पुग्न आरोहीहरूले १० घण्टासम्म समय लगाउने गरेको उल्लेख गरे।
'अब झन् तल आधार शिविर बनाउने हो भने पर्वतारोहीहरूलाई पहिलो क्याम्पमा पुग्नै १४ घण्टा लाग्न सक्छ', कामिरिताले भने, 'आधार शिविर सार्ने हो भने सगरमाथाको माथिल्लो क्षेत्रमा रहेका शिविरहरू पनि सार्नुपर्छ।'
उनले आधार शिविरको स्थान परिवर्तन गरे पनि सगरमाथा चढ्न जाने पर्वतारोही अहिलेको आधारशिविर भएकै क्षेत्रबाट जानुपर्ने भएकाले त्यही ठाउँमा पुन: 'क्याम्प वान' बनाउनुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे।
'नेपालबाट सगरमाथा चढ्न अप्ठ्यारो भयो भने पर्वतारोही किन नेपाल आउँछन्', कामिरिताले प्रश्न गरे, 'त्यसैले अहिलेको आधार शिविरमा जसरी पनि क्याम्प राख्नुपर्ने अवस्था आउने भएपछि किन सार्नुपर्यो?'
कामिरिताले सगरमाथा बेस क्याम्पका लागि सरकारले जलविद्युत पुर्याइदिए ग्यास हिटरहरूको प्रयोग घट्ने र बिजुली प्रयोग बढ्ने उल्लेख गरे।
'ग्यास कम गर्न सकिन्छ। सरकारले बिजुली पुर्यायो भने मानिसको दिशा र पिसाब पनि बिजुली प्रयोग गरेर सुकाउन सकिन्छ', कामिरिताले भने, 'पाकिस्तानको केटू क्षेत्रमा आरोहीहरू हिँड्ने बाटो भएका क्षेत्रदेखि बेस क्याम्पसम्म सोलारबाट शौच सुकाउने सुविधा सहितका शौचालय छन्।'
कामिरिताले चीन तर्फको आधार शिविरमा बिजुली पुर्याइएको उल्लेख गरे।
'चीनको बेस क्याम्पसम्म सडक नै पुग्न लागेको छ', उनले भने, 'हामीले पनि खाना पकाउने हिटरहरू हटाउन पर्वतारोहणको समयमा बिजुली उत्पादन गर्ने व्यवस्था गर्नुपर्छ।'
सेतोपाटीले कामिरितासँग सगरमाथाको आधार शिविर सार्ने विषयमा कुराकानी गरेको भिडिओ हेर्नुहोस्-
सम्बन्धित समाचार : हिमाली क्षेत्रमा १ डिग्री तापक्रम बढे ५ हजार मिटरसम्म हिउँ नै नरहने सम्भावना