अतिथिहरूको लम्बेतान आसन ग्रहण, आकर्षक ब्याच वितरण, खादा वा माला पहिर्याउँदै पालैसित सबैजसो अतिथिको पट्यारलाग्दो भाषण।
हाम्रा औपचारिक कार्यक्रमको साझा विशेषता यही र यस्तै बनिसकेको छ। कार्यक्रमको औचित्यभन्दा बढी कसको आसन ग्रहण कहाँनेर गराउने, कसलाई अगाडि र कसलाई पछाडि मन्चमा बोलाउने, कोही छुटिहाल्ने पो हुन् कि भन्ने चिन्ता कार्यक्रम आयोजकका लागि सबैभन्दा ठूलो चासोको विषय हुँदै आएको छ।
कार्यक्रमका यी सबैजसो सबै ढर्रा लगभग उस्तै भए पनि धनकुटा जिल्लामा पछिल्लो समयमा एउटा फरक दृश्य देखिन थालेको छ। त्यो हो पिपलको पातको ब्याच।
औपचारिक कार्यक्रमका लागि डाकिएका अतिथिको छातीमा पिपलको पातको ब्याच टाँसिदिने चलन धनकुटामा प्रचलित हुन थालेको छ। जसले ब्याचका नाममा भइरहेको ठूलो खर्च नियन्त्रणमा सहयोग पुर्याएको प्रयोगकर्ताहरू बताउँछन्।
चार महिनाअघि धनकुटा पाख्रिबास नगरपालिकामा रहेको ‘रूपान्तरणका लागि हाम्रो अभियान’ नामक युवाहरूको समूहले पहिलोपटक यस्तो अभ्यास सुरू गरेको थियो।
‘पहिले पनि फाटफुट रूपमा देखिएको यस्तो अभ्यासलाई निरन्तरता दिने सोच आएपछि यो उपाय लगाएका थियौं’, अभियानका कार्यक्रम व्यवस्थापक ध्रुव पौडेलले सेतोपाटीसँग भने, ‘अहिले जिल्लाभरl यो व्यापक प्रचलनमा आएको छ। खुसी लागेको छ।’
पिपलको पात पान आकारको हुने र सुन्दर पनि देखिने उनको भनाइ छ।
चार महिनाअघि अभियानले मुलुकका चर्चित संगीतकर्मीहरूको उपस्थितिमा गायन प्रतियोगिता आयोजना गरेको थियो। कार्यक्रमका अन्य पाटामा आयोजक व्यस्त थिए। अघिल्लो साँझ छलफलकै क्रममा कुरा आयो ब्याचको।
‘अतिथिहरूलाई ब्याच लगाइदिने चलन सबैतिर छ, हामीले त तयारी नै गरेका थिएनौं के गर्ने भन्ने कुरा हुँदैथियो’, पौडेलले सुनाए ‘एक्कासी पिपलको पातको ब्याच बनाउँ भन्ने कुरा आयो। चलेकोभन्दा फरक पनि देखिने, खर्च पनि नलाग्ने कुरा भएपछि हामीले पातको ब्याच बनाउने निधो गर्यौं।’
त्यसपछि आयोजकले पिपलको पात टिपे। रातभर पानीमा भिजाएर राखे। बिहान केहीबेर घाममा सुकाएपछि सेतो रंगको ‘पर्मानेन्ट मार्कर’ले पिपलको पातमा ‘सभापति’ ‘प्रमुख अतिथि’ ‘अतिथि’ लेखे। यसरी बनाएको ब्याच अतिथिका छातीमा टाँसिदिँदा आकर्षक देखिएको सबैले प्रतिक्रिया दिएको आयोजक बताउँछन्। आयोजक मात्रै होइन, अतिथि बनेर गएकाहरुले पनि यो उपायको प्रशंसा गरे।
जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख सावित्रा राईले यो चलनको खुलेर प्रंशसा गरिन्। पछिल्लो समय धनकुटाका धेरै वटा सार्वजनिक कार्यक्रममा यस्तो ब्याच लगाइदिएको देखेको उनले सेतोपाटीलाई बताइन्।
यसबारे उनले ट्वीटरमा तस्बिरसमेत राखेर लेखेकी छन्, ‘पिपलको पातमा अतिथि लेखेर अतिथिहरूलाई लगाइदिने चलन हाम्रो धनकुटामा निक्कै प्रचलित छ। आयोजकलाई झन्झट नहुने, चौक, चौतारा भन्ज्याङ्गमा सजिलै पाइने, खर्च बच्ने। पीपलको पातमा लेखेर दिँदा अतिथि पनि खुशी भइने कस्तो राम्रो काइदा।’
उनले कार्यक्रममा लगाइने खादाको विकल्प केही हुन्छ कि भनेर प्रश्नसमेत गरेकी छन्। उनले थपेकी छन् ‘अनि यो खादाको विकल्प पनि केही छ की? केही हुन सक्ला ?’
औपचारिक कार्यक्रम आयोजना गर्ने क्रममा ब्याच बनाउँदा कम्तीमा दुईदेखि तीन सय रुपैयाँ खर्च लाग्ने गरेको अनुभवीहरू बताउँछन्।
‘टेलरिङ सेन्टरमा दिनुपर्छ बनाउन, राम्रो ब्याच बनाउँदा एउटाको तीन सय रुपैयाँसम्म खर्च लाग्छ’, पौडेलले भने, ‘धेरै अतिथि हुँदा त धेरै खर्च हुन्छ।’
उनका अनुसार पिपलको पातको ब्याच बनाउँदा भने खर्च नगन्य हुन्छ।
‘हेर्दा राम्रो पनि देखिने, कम खर्च पनि हुने यो तरिका धनकुटामा व्यापक भएको छ’, पौडेलले भने, ‘अन्यत्रबाट पनि सोधीखोजी सुरू भएको छ। हेरौं यो अभ्यास फैलिएला कि!’