चितवन प्रहरीले तयार पारेको 'चेतनामूलक विद्यालय पाठ्यसामग्री' रत्ननगर नगरपालिकाका सम्पूर्ण स्कुल र क्याम्पसहरूमा पढाउनेगरी सम्झौता भएको छ। जिल्ला प्रहरी कार्यालयले रत्ननगर नगरपालिकासँगको सहकार्यमा शनिबार उक्त नगरपालिकाका सबै स्कुल र क्याम्पसहरूले चेतनामूलक विद्यालय पाठ्यसामग्री पढाउनेगरी सम्झौता गरेको हो।
जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारी र रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटाले नगरपालिकाका सबै सामुदायिक, निजी स्कुलका प्रधानाध्यापक र क्याम्पस प्रमुख तथा प्रतिनिधिसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
उक्त पाठ्यसामग्रीमा महिला तथा बालबालिकाविरूद्ध कस्ता अपराधहरू हुन सक्छन्, सामाजिक अपराध भनेको के हो, घरेलु हिंसा र उजुरी दिने कार्यविधि के हो, आत्मरक्षा र बच्ने उपाय कस्ता हुन्छन्, ट्राफिक नियम कस्तो हुन्छ, आत्महत्या के हो, यसको संकेत र बचाउने उपाय के हुन्, असल मानिसका कर्तव्य र जिम्मेवारी कस्ता हुन्छन् जस्ता विषयहरू समेटिएका छन्। कुनै घटना भइहाले जानकारी गराउन सम्बन्धित निकायहरूको सम्पर्क नम्बर पनि समावेश गरिएको छ।
यी विषयलाई प्रधानाध्यापकमार्फत शिक्षक, विद्यार्थी, अभिभावक हुँदै समाजमा पुर्याउने लक्ष्य रहेको एसपी अधिकारीले बताए।
'बालबालिकाहरूमाथि हुने विभिन्न किसिमका हिंसा, उनीहरूले अन्जानमा गर्ने लागुऔषध सेवन, धूमपान, मद्यपान, साइबर अपराधहरू बढ्दो क्रममा छन्। बालबालिकाहरू लागुऔषध दुर्व्यसनीमा फस्ने क्रम पनि बढ्दो छ,' उनले भने, 'प्रविधिमा पहुँच बढ्दै जाँदा सामाजिक सञ्जाल बालबालिकाहरू लागि जोखिमपूर्ण बन्दैछ। साइबर अपराधका घटनामा बालबालिका मुछिन थालेका छन्। सुरूआतमा शिक्षक तथा विद्यार्थीलाई सचेत बनाउन सक्दा उनीहरूमार्फत समाज सुरक्षित बन्दै जाने भएकाले प्रहरी कार्यालयले अग्रसरता लिएर पाठ्यसामग्री प्रकाशनमा ल्याएको हो।'
उक्त पाठ्यसामग्री पहिलो चरणमा भरतपुर महानगरपालिकाका सबै सरकारी, निजी स्कुल र क्याम्पसका प्रमुखहरूलाई हस्तान्तरण गरिएको थियो।
'रत्ननगर नगरपालिकाभित्रका सबै शैक्षिक संस्थाका प्रमुखले हामीले तयार पारेको पाठ्यसामग्रीलाई पाठ्यक्रममा समावेश गरेर विद्यार्थीहरूलाई सुसूचित गराउने प्रतिबद्धता व्यक्त गरी सम्झौता गर्नुभएको छ,' अधिकारीले भने, 'उहाँहरूले प्रतिबद्धता पूरा गर्नुभयो भने सुरक्षित समाज निर्माण गर्ने हामी सबैको अभियानमा ठूलो सहयोग पुग्छ।'
(यो पनि पढ्नुहोस्ः विद्यार्थीलाई अपराधबाट जोगाउन चितवन प्रहरीको जुक्ति)
चितवनका विभिन्न विद्यालयका छात्राहरूले शिक्षकबाटै यौन दुर्व्यवहारमा परेको उजुरी प्रहरी कार्यालयमा दिइरहेका छन्। एसपी अधिकारीले यौन दुर्व्यवहारमा संलग्न शिक्षकहरू पक्राउ गरिरहेको सबै तथ्यांकहरूको विश्लेषण गरेर पाठ्यसामग्रीमा समावेश गरेको बताए।
प्रधानाध्यापकहरूसँग सम्झौता गरेपछि रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटाले हरेक दिन कम्तीमा एक घन्टा उक्त पाठ्यसामग्री पढाउन निर्देशन दिए।
'विद्यालयका नियमित पाठ्यपुस्तकसँगै यो पाठ्यसामग्री पनि विद्यार्थीलाई पढाउनू,' उनले भने, 'हाम्रा बालबालिकाहरू विभिन्न किसिमका कुलतमा फस्ने क्रम बढ्दै गएको छ। समाजमा विकृति, विसंगति बढ्दै गएको छ। यस्ता घटनामा कमी ल्याउन शिक्षकहरूको भूमिका महत्वपूर्ण हुन्छ।'
अभिभावकले छोराछोरीलाई डाक्टर, इञ्जिनियर बनाउने सपना मात्रै देख्ने गरेको तर उनीहरूलाई नैतिक शिक्षा दिने विषयमा चासो नराख्ने गरेको सापकोटाले बताए।
'अब यो पाठ्यसामग्रीमार्फत बालबालिकाको चेतनाको विकास गर्नु जरूरी छ। सम्झौताअनुसार सबैले कार्यान्वयन गर्नुहोला। नगरपालिकाले यसको नियमित अनुगमन गर्छ,' उनले भने।
अधिकारकर्मी मिना खरेलले समाजमा व्याप्त विकृति, विसंगति शिक्षकमार्फत रोक्न सकिने बताइन्।
'नेपालमा भौतिक पूर्वाधार निर्माण गर्नुलाई मात्रै विकास भन्ने गरिएको छ। तर विकास त मानवीयतासँग जोडिएको हुन्छ,' उनले भनिन्, 'नैतिक विकास भएन भने भौतिक विकासको कुनै अर्थ हुँदैन।'
बालबालिकामाथि हुने यौन दुर्व्यवहार, आत्महत्याजस्ता घटना दिनहुँ बढिरहेको भन्दै उनले जनचेतनामूलक नैतिक शिक्षाले मात्रै त्यस्ता घटनामा कमी आउने बताइन्।
सम्झौतापछि रत्ननगरका विद्यालयका प्रधानाध्यापकहरूले प्रहरीले तयार पारेको पाठ्यसामग्री पाठ्यक्रममै समावेश गरेर नियमित रूपमा पढाउन थाल्ने बताए। उनीहरूले प्रहरी कार्यालयका प्रतिनिधिलाई पनि स्कुलमा आएर बालबालिकालाई प्रशिक्षण दिन आग्रह गरे।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख अधिकारीले जिल्लाभरका सबै शैक्षिक संस्थाहरूमा उक्त पाठ्यसामग्री पुर्याउने लक्ष्यअनुरूप सबै स्थानीय तहसँग कुरा भइरहेको बताए।