हिति मासेर निजी घर बनेको कुरा त हामी धेरै सुन्छौं तर महालक्ष्मी नगरपालिकामा स्थानीय जनप्रतिनिधिहरूले नै हिति मासेर वडा कार्यालय भवन बनाइरहेका छन्।
सम्पदा र संस्कृति संरक्षणमा स्थानीय जनप्रतिनिधिहरूको ठूलो भूमिका हुन्छ। कतै विनाश हुन खोज्यो भने पहिलो आवाज उठाउने उनीहरूले नै हो। तर महानलक्ष्मी नगरपालिकाको वडा नम्बर ४ मा 'चिसापानी हिति' भनेर चिनिने ढुंगेधारा मासेर चार तलाको वडा कार्यालय भवन बन्दैछ।
बाह्रै महिना चिसो पानी आउने भएकाले चिसापानी हिति भनिएको र यसै आधारमा ठाउँको नाम रहन गएको स्थानीय बताउँछन्। करिब दुई वर्षअघि वडाले यहाँ ७५ लाख रूपैयाँ बजेटमा कार्यालय भवन बनाउन सुरू गरेको थियो।
'परम्परागत हिति मासेर वडा कार्यालय बनाउन थालेपछि हामीले सुरूदेखि विरोध गर्दै आएका थियौं,' सम्पदा संरक्षण अभियन्ता रवि शाक्यले भने, ‘वडाले केही समय काम रोकेजस्तो गरेर फेरि बनायो।’
शाक्यका अनुसार यो हितिमा राजकुलोबाट पानी आउँथ्यो। ललितपुरका राजोपाध्याय र राजकर्णिकारहरू समय समयमा यहाँ पूजा गर्न आउँथे। जनै पूर्णिमाको दिन उनीहरू यहाँ आएर भ्यागुतोलाई खानेकुरा खुवाउँथे।
यहाँको पानी सांस्कृतिक हिसाबले निकै महत्वपूर्ण रहेको उनको भनाइ छ।
रातो मच्छिन्द्रनाथको रथ पाटनको सुन्धारा पुगेपछि यो हितिको पानी चढाउन जानुपर्थ्यो। यसका लागि छुट्टै गुठी व्यवस्था गरिएको हुन्थ्यो। सानागाउँ र लुभूको जात्रामा पनि यहाँको पानी लग्ने चलन थियो। तर राजकुलो मासिएर हितिमा पानी आउन छाडेपछि यो संस्कृति हराएको स्थानीय बताउँछन्।
यहाँ २०७२-७३ सालसम्म कलकल पानी आउँथ्यो। वरिपरि स्थानीयले घर बनाएपछि हितिको मूल सुक्यो। त्यसपछि जात्रापर्वमा पानी लग्ने चलन पनि रोकियो।
पानी आउन बन्द भए पनि हितिको संरचना बाँकी नै थियो। संरचना बचुञ्जेल मूल खोजेर पानी झार्न सकिन्छ। तर वडा कार्यालयले हितिकै संरचनामाथि भवन ठड्याउन थालेपछि मूल खोज्ने र पानी झार्ने सम्भावना सधैंका लागि मासिएको छ।
बहालमा बस्दै आएको वडा कार्यालयले हितिमा पानी आउन छाडेदेखि नै यो ठाउँमा आफ्नो भवन बनाउन खोजेको थियो। तर ऐतिहासिक हिति मासेर वडा भवन बनाउने कामको स्थानीयबाट विरोध भयो।
विरोधकै कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यहाँ भवन निर्माणको काम रोक्न आदेश दिएको छ।
हिति मासेर कार्यालय भवन बनाउन सुरू गरेका बेला यहाँका वडाध्यक्ष लक्ष्मण रोक्का थिए। त्यो समय वडा सदस्य रहेका अमृत खत्री अहिले वडाध्यक्ष छन्। उनी यो कामबारे आफू अनभिज्ञ रहेको बताउँछन्।
‘वडा भवन बनाउन नगरपालिकासँग सम्झौता हुनुपर्छ। यहाँ सम्झौता पनि भएको छैन,’ उनले भने, ‘पछिल्लो कार्यकालको काम भएकाले मलाई त्यति थाहा छैन। अहिले काम रोक्का भएकाले हामीले त्यति सोचेका छैनौं।’
यहाँका स्थानीय र सम्पदा अभियन्ताहरू भने वडा भवन भत्काएर हितिलाई पुरानै अवस्थामा फर्काउनुपर्ने माग राख्छन्।
‘वडाको काम यस्तो ऐतिहासिक हिति भत्काउने होइन। बरू मूल कसरी सुक्यो भनेर खोज्नुपर्ने हो,’ सम्पदा अभियन्ता निरोज महर्जनले भने, ‘यो घर तत्काल भत्काएर हिति फेरि ब्युँताउनुपर्छ भन्ने हाम्रो माग हो।’