दाङ, तुलसीपुरमा भएको सामूहिक बलात्कार घटनाका आरोपीमध्येका अर्जुन बिक काठमाडौंबाट पक्राउ परेका छन्।
बिकलाई दुई दिनअघि प्रहरी वृत्त सिंहदरबारको सहयोगमा पक्राउ गरिएको हो। पक्राउपछि उनलाई दाङ ल्याई बुधबार जिल्ला अदालतमा उपस्थित गराइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।
अर्जुन बिकलाई बुधबार अदालत उपस्थित गराइएको थियो। उनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अर्यालले सेतोपाटीलाई बताए।
गत असार २ गते राति ९ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५, बसपार्ककी २५ वर्षीया युवतीमाथि तुलसीपुर– ९ बेलुवाको एक निर्माणाधीन घरमा सामूहिक बलात्कार भएको थियो।
बलात्कारका आरोपीहरू बेलुवाका २५ वर्षीय कमल चौधरी, सोही ठाउँका २४ वर्षीय शंकर बिक, २० वर्षीय अर्जुन बिक र एक १६ वर्षीय किशोर छन्। उनीहरूले अपांगता भएकी ती युवतीमाथि सामूहिक बलात्कार गरेको जाहेरी इप्रका तुलसीपुरमा परेको थियो।
जिल्ला अदालतले गत असार २८ गते नै शंकर बिकलाई कारागार चलान गर्न आदेश गरिसकेको छ। त्यस्तै कमल चौधरीसँग अदालतले एक लाख रूपैयाँ धरौटी माग गरेकोमा तोकिएको रकम बुझाउन नसकेपछि उनी पनि कारागार चलान भइसकेका छन्।
आरोपीमध्येका १६ वर्षीय किशोर भने नाबालक भएकाले बालसुधार गृह नेपालगञ्जमा पठाउन अदालतले आदेश दिएको छ।