सम्बन्ध विच्छेदको पीडा भुल्न ७० वर्षीया जेनी हार्बटले फोटोग्राफी रोजेकी थिइन्।
फोटोग्राफीको सोखले विश्वका कुनाकन्दरामा पुर्यउँला र भयानक शिकारी जनावरसँग साक्षात्कार होला भन्ने उनले सायदै सोचेकी थिइन्। आर्टिक क्षेत्रमा जेनीलाई सेतो भालुले लखेट्यो। यो घटनाबाट विचलित नभइकन उनले फिनल्याण्ड पुगेर खैरो भालुको तस्बिर खिचिन्। आफ्नो शिकारको रक्षा गर्दै बसेको भीमकाय भालुको तस्बिरका कारण उनी अहिले चर्चित बनेको बिबिसीले जनाएको छ।
उनले खिचेकोमध्ये खैरो भालुको तस्बिर बेलायतको प्रसिद्ध फोटो प्रर्दशनीमा छनौट भएको छ। बेलायतका विभिन्न स्थानमा त्यो फोटो प्रदर्शनी हुनेछ। ७० वर्षीया जेनीले दैनिक ३० किलोमिटर यात्रा छिचोलेर समेत फोटो खिचेकी छन्।
चार सन्तानबाट जेनीका १० नाति-नातिना छन्। उनी दुई पनातिकी जिजुहजुरआमा समेत हुन्। ११ वर्षकी छँदा क्रिष्टमसको छेकोमा उनले पहिलो पटक क्यामेरा उपहार पाएकी थिइन्। ६२ वर्षमा आफैंले अर्को क्यामेरा खरिद गरिन्। त्यही क्यामेरा बोकेर उनी विभिन्न मुलुक डुल्छिन्।
आफ्नो फोटोग्राफी यात्राबारे उनले भनिन्, ‘सम्बन्ध विच्छेद कहालीलाग्दो नै हुन्छ। त्यसको पीडा भुल्न मैले क्यामेरासँग संगत गर्न थालें।’
आफूले खिचेको तस्बिर कुनै प्रदर्शनीमा छनोट होला भन्ने उनलाई लागेको थिएन। प्रदर्शनीकै निम्ति भनेर फोटो खिच्न उनलाई सबैभन्दा कठिन काम लाग्थ्यो। बेलायतको प्रदर्शनीमा छनोट भएको फोटो उनले निकै कठिनाइ व्यहोरेर खिचेकी थिइन्।
‘ओडार बनाएर माइनस २० डिग्री सेल्सियस तापक्रममा म १६ घन्टासम्म बसें। तातोका निम्ति मसँग साना ९ वटा मैनबत्ती थिए,’ उनले भनिन्।
फिनल्याण्डमा भालुले मानिसमाथि आक्रमण गरेका घटना बिरलै थिए। त्यसैले तस्बिरका निम्ति उनले १६ घन्टा प्रतीक्षा गरिन्। अन्तत: उनको धैर्यता सफल भयो।
‘भालुले मारेको शिकार सहितको तस्बिर खिच्नु मेरा निम्ति निकै रोमाञ्चित पल थियो। बिहानको पैलो प्रहरमै मैले त्यस तस्बिर कैद गर्न पाएँ,’ जेनीले तस्बिर कैद गर्दाका पलबारे भनिन्।
भालुको फोटो कैद गर्न निकै जोखिमपूर्ण समेत रहेको उनको अनुभव छ। सन् २०१० मा आर्टिकमा जाँदा उनलाई सेतो भालुले लखेटेको थियो। सन् २०२० मै फिनल्याण्डमा उनले बनाएकै ओडारमा भालु छिर्ने प्रयास गरेको थियो।
‘खैरो भालुको घ्राण शक्ति निकै राम्रो हुँदो रहेछ। सुँघ्दै म लुकेको ओडारमा पस्ने प्रयास गरेको थियो। त्यसबेला पनि सम्भावित जोखिमबाट बचें,’ उनले भनिन्।
जेनीको अर्को साहसिक यात्रा मंगोलियाको हो। उनी सन् २०१६ मा मंगोलियाको कज्जागमा पुगेर आदिवासीहरूको तस्बिर लिएकी थिइन्। त्यस यात्रामा निस्कनु अघि उनले दैनिक ३० किलोमिटरसम्म यात्रा गर्न सक्छु भन्ने प्रमाणित गर्नुथियो। त्यहाँका मानिससँग घुलमिल हुनसक्छु भन्ने विश्वास दिलाउनु थियो। जेनी मंगोलियाको यात्रामा सफल भइन्।
‘म त्यहाँ पाइजामा लगाएर पुगेकी थिएँ। त्यहाँका मानिसहरूले किन थर्मल र बाक्लो ह्याट लगाएका छन् भेउ पाउन सकेको थिइनँ। म कति मुर्ख थिएँ भन्ने कुरा यहीँबाट थाहा हुन्छ,’ जेनी हाँसिन्।
त्यहाँका आदिवासीसँग समय गुजार्न पाउनुलाई उनले आफ्नो जीवनकै महत्वपूर्ण क्षण भनेकी छिन्। ‘उनीहरूसँग समय बिताउन पाउनु निकै महत्वपूर्ण क्षण थियो। कठिन भूगोलमा पनि मैले खुसी मानिसहरू देखें,’ आदिवासीसँगको बसाइको अनुभव जेनीले साटिन्।
उनलाई बच्चाबच्ची र जनावरको तस्बिर लिन असाध्यै मनपर्छ। यात्राको क्रममा बच्चा खोजिरहेको ऊँटको तस्बिर लिएकी थिइन्। हुरी आउँदा बच्चा माउबाट छुट्टिएको थियो।
‘बच्चा हराउँदा ऊँटले निकालेको आवाज निकै पीडादायी थियो। धन्य कज्जागले बच्चा भेट्टाइदिएर माउसँग मिलन गराइदिए,’ उनले भनिन्।
उनले कज्जाग समुदायका मानिसहरुले गाईलाई ट्रकमा लोड गरेको फोटो खिचेकी थिइन्।
‘थकित गाईलाई उनीहरूले ट्रकमा लोड गर्दै थिए। आफूले पालेका जनावरप्रति उनीहरूको प्रेम र जनावरलाई उनीहरुले दिने महत्व कत्ति छ भन्ने कुरा त्यस तस्बिरले दर्शाउँछ,’ उनले भनिन्।
जेनी, वेल्स फोटोग्राफिक फेडेरेसनकी अध्यक्ष पनि हुन्। सम्बन्ध विच्छेदबाट पीडा व्यहोरेर फोटोग्राफर बनेकी उनले यस पेशाबाट भने सफलता र खुशी दुबै प्राप्त गरेकी छिन्। बिबीसीको कन्ट्रीफाइल क्यालेण्डरमा सन् २०१६ र सन् २०२२ गरी दुई पटक फोटो छापिएछि आफ्नो क्लबमा उनी मिस सेप्टेम्बरका रूपमा पनि चर्चित छिन्।
१३ सय फोटोहरूमध्ये १ सय ५० फोटो मात्रै देखाइने प्रर्दशनीमा फोटो छनौट भएपछि उनी निकै उत्साहित समेत छिन्। फिनल्याण्डमा खिचेको खैरो भालुको फोटो चर्चित भएपछि ७० वर्षीया हजुरआमा जेनीको अब एउटा धोको छ- एल्लो स्टोन नेशनल पार्कमा पुगेर सालमोनको शिकार गरिरहेको भालुको तस्बिर कैद गर्ने।