साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो। वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ साउनमा। गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफासुगर बन्ने महिनाको रुपमा लिईन्छ।
हाम्रो संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन्।
खेती किसानी सँगै पछिल्लो समय साउन महिनामा महिलाहरुले हरियो पहिरन र चुरापोते लगाउने प्रचलन बढ्दै गएको छ।
घरदेखि शहर बजार सबैतिर साउन सुरु भएसँगै महिलाहरुको गला हरियो पोतेले सजिएको हुन्छ भने हातहरु हरिया चुराले भरिएका हुन्छन् अनि पहिरन पनि हरिया हुन्छन्।
विशेष गरी हरियो चुरा, पोते र मेंहन्दीले शहरबजारमा साउनको रौनक दिन्छ भने व्यापार पनि बढाउँछ। साउन महिना शुरु भएपछि युवतीका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ। शहरबजारमा आजभोलि हरियो चुरा र लुगा साउन महिनाको विशेष पोशाक जस्तै बनिसकेका छन् ।
साउनमा हरियो चुरा र मेहन्दी लगाउनुको खासै धार्मिक कारण भएको पाइदैन तर पनि विवाहित हिन्दु महिलाहरु पतिको दिर्घायुको लागि साउन महिनामा हरियो चुरा र हरिया पहिरनहरु लगाउने गर्छन्।
हेर्नुहोस् पोते बजारको रौनक