धरानको निशाने खोला बगरमा सोमबार दर्जनौं मानिस थिए। कोही बालुवा ओसार्दै थिए, कोही ढुंगा पल्टाइरहेका थिए। कोही गिट्टी कुटिरहेका, कोही बगर खनिरहेका थिए।
उनीहरूले यसरी काम गर्न लागेको हप्ता होइन, महिना भइसक्यो।
खानेपानी अभावको सास्ती सहेर बसेको धरानको तिर्खा मेट्ने मुख्य एजेन्डासहित मेयरमा निर्वाचित साम्पाङको त्यही सपना पूरा गर्न सयौं धराने चर्को घामकोसमेत पर्वाह नगरी खोला बगरमा श्रम गरिरहेका भेटिन्छन्।
श्रमदान गरिरहेकाहरू तिनै हुन् जसले हिजो साम्पाङलाई जिताउन सघाएका थिए।
'भोट दिएर मात्रै हुँदैन नि, राम्रो काम गर्ने मान्छेलाई सघाउन पनि तयार हुनु पर्यो नि,' ५३ वर्षीया बागमती राईले भनिन्, 'छोराछोरीले घाममा नजानु भनेर रोक्न खोज्छन्, म त सधैं आइरहेकी छु।'
बोरामा बालुवा भरेर ओसार्दै गरेकी बागमतीले थपिन्, 'हामी पानी नपाएर दुःख पाएकाहरूको दुःख मेट्न मेयर लागेको बेला किन साथ नदिनु भनेर आएको हो।'
धरानबाट उकालो लागेपछि एउटा घुम्ती आउँछ। त्यहाँबाट दुइटा बाटो छुट्टिन्छ। बायाँतिरको बाटो धनकुटा भेडेटारतिर उकालिन्छ, अर्को फुस्रेतिर। फुस्रेतिर अघि बढेपछि भेटिन्छ विपी पार्क।
फुस्रे त्यही ठाउँ हो, जहाँ राणाहरूले विपी कोइरालाको जेल सरुवा गर्दा उनलाई एक रात बास बसाएका थिए। त्यही सम्झनामा अहिले यहाँ विपीको पूर्णकदको शालिक राखिएको छ। विपीको शालिकलाई बायाँ पारेर बगेको छ, निशाने खोला। यही शालिकबाट करिब डेढ किलोमिटर उत्तर निशाने खोला बगरमा यसबेला दिनहुँ मान्छेको भीड छ।
चर्को घामले सताएका बेला पनि ५३ वर्षीया बागमती राई जसरी खटिनेहरूको ताँती धरानमा ठूलो छ। यहाँ पाकाहरू छन्, युवाहरू छन्। सबभन्दा धेरै अधबैंसेहरू छन्। उनीहरू कोही वैदेशिक रोजागारीबाट फर्केका हुन्। कोही गृहिणी हुन्। कोही विद्यार्थी त कोही काम खोज्दै भौतारिरहेकाहरू हुन्।
उनीहरूमध्ये धेरैसँग जीवनमा यसरी काम गरेको अनुभव छैन। तर, सबैजना लगावपूर्वक खोला बगरमा पसिना बगाइरहेका छन्। त्यो पनि स्वेच्छाले। धरानका मेयर हर्क साम्पाङको आह्वानमा एक महिनादेखि उस्तै उत्साह र लगनले मेहनत गरिरहेका उनीहरूको मक्सद एउटै छ, धरानको तिर्खा मेट्ने।
यस्तै काम उनीहरूले लगातार २७ दिनसम्म पकुवा खोलामा गरे। पकुवा खोलाबाट दैनिक पाँच लाख लिटर खानेपानी ट्यांकीमा थपियो। अहिले तीन इञ्चको पाइपबाट २४ घन्टा नै पकुवाको पानी धरानको खानेपानी आयोजनामा थपिएको छ। मेयरसहितका हजारौं धरानेको श्रमदानमा काम फत्ते भइसकेको छ। २७ दिनमा पकुवा प्रोजेक्ट सकिएपछि अहिले उनीहरू ‘निशाने प्रोजेक्ट’ मा लागेका हुन्।
एक महिनादेखि दिनहुँ खोला बगरमा श्रम गरिरहेका मध्येकै एक हुन्, धरान १ का अनुज भुजेल। महिना दिनयता उनको दैनिकी फेरिएको छ।
घरैमा ‘फ्रेस हाउस’ चलाएर पारिवारिक गर्जो टार्दै आएका उनी अरूबेला बिहान सबेरै उठेर कुखुरा भुत्ल्याउन थाल्थे। अहिले खोलामा खटिएका कारण थकान ज्यादा हुन्छ। त्यसैले उठाइ पनि ढिलै हुन्छ। ढिलोढिलो उठेर खाना खाइसक्नासाथ उनका छिमेकीहरू गैंती, झम्पल र साबेल (बेल्चा) बोकेर बाटोमा जम्मा भइसकेका हुन्छन्। उनी पनि घाम छल्ने ‘ह्याट’ भिरेर काँधमा झम्पल बोक्छन् अनि लाग्छन् खोलातिर।
‘अब एक-डेढ महिना यसरी नै खटियो भने त तीन-चार ठाउँबाट धरानमा खानेपानी थप्न सकिने रहेछ,’ निशाने बगरमा ढुंगा पल्टाउँदै गरेका भुजेलले सेतोपाटीसँग भने, ‘आफ्नो काम परिवारलाई जिम्मा लगाएर हामीचाहिँ यता खटेका छौं। घरमा पनि राम्रो काममा गएको भनेर सबैजना खुसी छन्।’
अब यसरी नै अर्को एक-डेढ महिना थप खटिने जाँगर छ?
पल्टाउँदै गरेको ढुंगाबाट हात निकालेर उनी मुसुक्क मुस्कुराए। अनि भने, ‘किन नहुनु, म मात्रै हो र, यहाँ आउने सबलाई सोध्नु न सब तयार छन्। राम्रो काममा कसले साथ दिँदैन हौ!’
अनुजले भने जस्तै ‘राम्रो काम’ मा खटिएको अनुभूति बगरमा भेटिने सबैमा रहेछ।
'हामीले अलिकति दुःख गर्दा धरानमा खानेपानी थपिन्छ भने किन नगर्ने,' एक महिनादेखि निरन्तर खटिएका अधिकांशको भनाइ उस्तै छ, 'मेयरले राम्रो काम गर्दा हामीले साथ दिएको हो। हिजोका मेयरहरूले यतिको विश्वास दिलाएको भए साथ दिइन्थ्यो। के गर्नु कसैले दिलाएनन्!'
उनीहरूका अनुसार अरू दिन डेढदेखि दुई सय जना खटिने खोलामा सार्वजनिक बिदाका दिन एक हजारभन्दा बढी धराने ओइरिने गरेका छन्।
'बिदाका दिन हजारभन्दा बढी हुने गरेका छौं,' एक सातादेखि दिउँसोको समयमा श्रमदान गरिरहेका विद्यार्थी सुमन राईले भने, 'आफ्नो ठाउँका लागि सबैले गरेको देखेर म आफैं आएको हुँ।'
धरानमै कलेज पढिरहेका उनी समाचार पढेपछि श्रमदानबारे थाहा पाएर आएको बताउँछन्।
'तपाइँले पनि समाचार लेख्दा लोकेसन क्लियर गरेर लेखिदिनु न ल दाइ,' सुमनले आग्रह गरे, ‘धेरै मान्छे लोकेसन थाहा नपाएर आउन पाएको छैनन्। यहाँ काम गर्न आउने अरू बढ्ने पक्का छ।'
वैशाख ३० को स्थानीय चुनावअघि सेतोपाटीले धरानका २० वटै वडाका एक सयभन्दा बढी मतदातालाई प्रत्यक्ष भेटेको थियो। त्यसबेला ज-जसले मेयरमा हर्कलाई भोट दिने बताएका थिए, अहिले खोला बगरमा निरन्तर श्रमदान गर्नेमा उनीहरू नै धेरै रहेछन्।
अनुज पनि तिनै व्यक्ति हुन्, जसले चुनावअघिको भेटमा सेतोपाटीसँग हर्कलाई मत दिने बताएका थिए। उनले त्यसबेला मत दिने मात्रै बताएका थिएनन्, हर्कले नराम्रो काम केही नगर्ने जब्बर विश्वास पनि प्रकट गरेका थिए।
‘अरूले यतिका वर्ष केही गरेनन्, यदि हर्कले गरेन भने पनि केही छैन’, त्यसबेला अनुजले भनेका थिए ‘बिग्रेर भ्रष्टाचार नै गर्यो भने पनि गरोस् न, उसले एक्लै त गर्ने हो। पार्टीका त नेतैपिच्छे कार्यकर्ता हुन्छन्। ती सबैले खानुभन्दा उसले एक्लै खाओस् बरू। तर, ढुक्क हुनुस्, हर्कले उत्पात राम्रो नगरे पनि नराम्रोचाहिँ गर्दैन।’
धरानवासीको यस्तै विश्वासले हर्कलाई मेयर बनायो। मेयर बनेपछि हर्कले सर्वसाधारणको विश्वास डग्न दिएका छैनन्। सामाजिक सन्जाल फेसबुकमा अहिले पनि सक्रिय रहने मेयर साम्पाङ दिनुहँ भिडिओ अपलोड गरिरहेका हुन्छन्। स्टाटस लेखिरहेका हुन्छन्।
चुनाव जितेयताका समयमा उनले धरानमा खानेपानीको सेवा सुधारमा आफूलाई केन्द्रीत गरेका छन्। धरानका विभिन्न क्षेत्रमा वृक्षारोपण अभियान चलाइरहेका छन्। जंगल क्षेत्रमा फलफूल रोपेर बाँदरलाई जंगलमै भुलाउने योजना पनि उनले अघि सारेका छन्। त्यसो त उनले धरानको प्राकृतिक स्रोत दोहन गर्न नदिने अडानले झन्डै बजेट पास नहुने अवस्था आयो।
किड्नी र कलेजो बेचेर गहना लाउँछु भन्नु र प्राकृतिक स्रोत बेचेर विकास हुन्छ भन्नु एउटै हो भन्दै उनी नगरसभामा कराए। अध्ययन समिति बनाएर यो विवाद निरूपण हुने भएपछि बजेट पास भएको छ।
बिदाका दिन सर्वसाधारणसँगै ढुंगा बोक्न खोला दौडिहाल्ने उनी त्यसअघि फेसबुकमा लेखिहाल्छन्,'आज फेरि ढुंगा बोक्न जाँदैछु, लु विरोध सुरू गरौं त!'
बिदाका दिनबाहेक कार्यालय समय सकिनेबित्तिकै उनी खानेपानीको मुहान पुग्छन्। कहिले इन्जिनियरहरू लिएर खोला किनारमा पुग्छन्। यसरी प्राविधिकसँगैको सल्लाहले जन्माएको योजना हो पकुवा र निशाने प्रोजेक्ट।
बर्खामासमेत दैनिक पम्प चलाएर खानेपानी आपूर्ति गर्नुपर्ने बाध्यता धरानमा छ। विज्ञहरूका अनुसार यसरी पम्प चलाउँदा विद्युतको महसुल मात्रै मासिक ३५ लाख रुपैयाँ हाराहारी आउने गरेको छ।
त्यसबाहेक सातैपिच्छे जसो समस्या आइरहने पम्पमा मर्मत खर्च पनि उत्तिकै हुन्छ।
'अहिले श्रमदानबाट पानी थप्ने अभियानले यो खर्च पूरै घटाइदिएको छ,' धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले भने, 'यसले कम्तीमा ६ महिना धरानको खानेपानीमा ठूलो योगदान गर्ने निश्चित छ।'
धरानमा मेयर हर्कलाई मन पराउनेहरू उस्तै जब्बर विश्वाससहित महिना दिनभन्दा बढीदेखि श्रमदान गरेर सघाइरहेका छन्। उनीहरू वाक्यैपिच्छे मेयरप्रति अगाध विश्वास रहेको छनक दिन्छन्।
'एकछिन फुर्सद भयो कि ऊ यहीँ आएर ढुंगा बोक्न थालिहाल्छ नि,' धरान १५ का ५३ वर्षीय लोकबहादुर तामाङले भने, 'उसको दिमागमा धराने जनताको सेवाबाहेक केही छैन।'
धरानमा साम्पाङका आलोचकहरू पनि उत्तिकै छन्, जो मेयरले ढुंगा बोकेकोमा फेसबुकमार्फत् नै असन्तोष प्रकट गरिरहेका हुन्छन्। खोलामा श्रमदान गराएर पार नचल्ने तर्क उनीहरूको हुन्छ। मेयरले दीर्घकालीन योजना बनाउने, त्यसको कार्यान्वयनमा लाग्नुपर्ने भन्दै स्टन्टबाजी नगर्न सम्झाइरहेका हुन्छन्।
धेरैले पकुवा र निशाने खोलाको योजनालाई हावादारी भनिरहेका छन्।
सामाजिक सन्जालमा आलोचना गरिए जस्तो निशाने र पकुवा प्रोजेक्ट हावादारी नभएको कार्यकारी निर्देशक पोखरेलको भनाइ छ।
'एकातिर सतहको पानी जम्मा गर्दा भूमिगत स्रोतमा हुने धरानको ठूलो खर्च जोगिएको छ,' उनले भने, 'अर्कातिर यसरी निकालिएको पानी भण्डारण गर्न सकिने अवस्था बनेको छ। जनताले श्रमदानबाट यसरी योगदान गर्नु त गज्जबको कुरा हो नि!'
उनका अनुसार धरानमा अहिले दैनिक तीन करोड लिटर खानेपानी आवश्यक पर्छ। बर्खाका केही महिना जसोतसो यति पानी आपूर्ति भए पनि हिउँदमा १ करोड ७५ लाख लिटर पानी मात्रै आपूर्ति हुने गरेको छ। जसका कारण धरान हिउँदमा सधैं काकाकुल हुन्छ। १० वटा भूमिगत स्रोत, सर्दु र खर्दु गरी दुइटा सतहको स्रोतमा निशाने र पकुवा खोलाको स्रोत थपिँदा उल्लेख्य योगदान पुग्ने कार्यकारी निर्देशक पोखरेल बताउँछन्।
मेयर साम्पाङ पनि यसबारे प्रष्ट छन्।
'यो स्थायी स्रोत होइन भन्नेमा म प्रष्ट छु,' उनले भने 'त्यसैले त सप्तकोशीको पानी ल्याउने योजना बन्दैछ छ नि। तर, यति भए पनि स्रोत थपिँदा फाइदा धरानलाई नै हुने होइन? पानी यहीँका मान्छेले खाने होइन?'
मेयर साम्पाङका अनुसार पकुवाको दाँजोमा निशाने खोलाको काम सहज छ। त्यसैले धेरै समय नलाग्ने उनको विश्वास छ। यहाँको पानी ट्यांकीमा भण्डारण गरेर राख्ने योजना उनको छ।
सबै तस्बिरहरू: राजु अधिकारी/सेतोपाटी।