‘ऊ मलाई निकै मायालु तरिकाले हेर्छ। आफ्ना सुन्दर आँखाले मलाई बाहिर डुलाउन इशारा गर्छ। उसलाई बाहिर लाने हिम्मत म गर्न सक्दिँन। डुल्न जाँदा हामी दुबै गिरफ्तार हुनेछौँ, घरमा कुकुर पालेकी मासा भन्छिन्।
इरानको राजधानी तेहरानमा कुकरलाई डुलाउनु अपराध हो। घरबाहिर डुलाउन लगेको खण्डमा प्रहरीले जनावर जफत गर्छ भन्ने त्यसको धनीलाई गिरफ्तार। नागरिकको सुरक्षाका खातिर सार्वजनिक क्षेत्रमा घरपालुवा जनावरलाई प्रतिबन्ध लगाइएको प्रहरी अधिकारीहरूको भनाइ छ।
केही समयभित्रै इरानले घरपालुवा जनावर समेत राख्न नपाउने गरी विधेयक पारित गर्दैछ। प्रस्तावित विधेयकअनुसार विशेष समितिबाट अनुमति नपाएकाहरूले घरपालुवा जनावर राख्न पाउने छैनन्। स्वीकृतिबेगर कुकुर, बिरालो, कछुवा वा खरायोसहित अन्य जनावर पालेको, आयात गरेको वा बेचेको खण्डमा ८ सय अमेरिकी डलरसम्म जरिवाना तिर्नुपर्ने प्रावधान राखिएको छ।
इरानमा यो कानुनबारे दशक अघिदेखि बहस हुँदै आएको छ।
‘घरपालुवा जनावर जफत गरेर चिडियाखानामा राख्ने वा मरूभूमिमा छोडिदिने इरानी सांसदहरूको नियत हो,’ इरान पशु चिकित्सा संघका अध्यक्ष पायाम मोहेब्बी भन्छन्।
केही वर्षयता विभिन्न चरणमा यो कानुनबारे चर्चा हुने गरेको छ।
‘कुकुर पाल्नेलाई शारीरिक सजायको प्रबन्धसमेत राखेर कानुन बनाउन खोजेको निकै समय भयो तर सरकारको यो योजना सफल हुन सकेको छैन,’ मोहेब्बीले भने।
घरपालुवा जनावर जफत गर्ने र धनीलाई जरिवाना कारबाही हुने प्रावधान सहितको विधेयकको कडा विरोधी हुन् मोहेब्बी। इरानका ग्रामीण भेगमा कुकुर पाल्ने चलन नै छ। २० औं शताब्दीदेखि घरपालुवा जनावरहरू शहरी जीवनको समेत प्रतीक बन्न थाले। मध्यपूर्वी मुलुकमध्ये पशु कल्याण कानुन पारित गर्ने इरान पहिलो मुलुक हो। सन् १९४८ मा उसले त्यो कानुन पारित गर्दै मुलुकमा पशुअधिकार समेत सुनिश्चित गरेको थियो। त्यहाँ राज खानदानहरूले पनि कुकुर सहितका घरपालुवा जनावर पाल्थे।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि स्थितिमा परिवर्तन आएको हो। इस्लामिक संस्कारमा जनावरहरू अपवित्र हुने भएकाले यस्तो कानुन प्रस्तावित गरिएको तर्क हुने गरेको छ। नयाँ शासकको नजरमा कुकुर पाल्नु पश्चिमाकरणको प्रतीक हो। त्यसैले पनि घरपालुवा जनावरलाई निषेध गर्न खोजिएको हो।
‘कुकुर पाल्नेबारे ठोस कानुन नै छैन। प्रहरीले कुकुर पाल्नु पश्चिमाकरणको प्रतीक भन्दै कुकुर पाल्नेहरूलाई गिरफ्तार गरिरहेको छ,’ तेहरानका पशु चिकित्सक अस्कन शिमिरानी भन्छन्।
जफत गरिएका जनावर राख्न निम्ति छुट्टै कारागार समेत बनाइएको छ। तर जनावरहरूलाई बिजोग गरी राखिएको छ।
‘जफत गरिएका जनावरलाई निकै समय खुला स्थानमा भोकै छोडियो। उनीहरूको बिजोग त भयो नै, जनावरका धनीहरूले पनि अनावश्यक कष्ट व्यहोरिरहेका छन्,’ शिमरानीले भने।
पश्चिमा राष्ट्रले इरानलाई प्रतिबन्ध लगाएपछि यो विधेयक ल्याइएको चर्चा पनि हुने गरेको छ। घरपालुवा जनावरको खाना आयात बन्द गर्ने उद्देश्यले कानुन प्रस्ताव गरिएको सरकारको तर्क छ। तीन वर्षदेखि घरपालुवा जनावरका लागि खाना आयात गर्न इरानले प्रतिबन्ध लगाए पनि विभिन्न तरिकाले खाना भित्रिरहेको छ। सानोतिनो कुरामा प्रतिबन्ध लगाए पनि इरानमा अधिकांश वस्तु विदेशी नै छन्।
‘घरपालुवा जनावरका निम्ति तस्करी गरिएका खानामै आश्रित छन् इरानीहरू। घरेलु उद्योगले उत्पादन गरेका खाना खुवाउन लायककै छैनन्,’ मोहेब्बीले भने।
प्रतिबन्धवाला कानुन कुकुरलाई मात्रै लक्षित होइन। गोहीदेखि बिरालोसमेत त्यसमा पर्छन्। बिरालोको विश्वमै प्रख्यात पर्सियन बिरालो यो कानुन आएपछि अब इरानमै राख्न पाइने छैन। ‘पर्सियन बिरालोको घर इरानमै त्यही बिरालो अब सुरक्षित हुने छैन के यो कुरा जायज हुनसक्छ?’ एक पशु चिकित्सकले भने।
यो कानुन ल्याउनुको पछाडि कुनै तुक नरहेको पशु चिकित्सकको मत छ।
‘यो कानुन पारित भएको अवस्थामा आगामी पुस्ताले हामीलाई कुकुर र विरालो पाल्न निषेध गर्ने कुकुर बिरालाको रूपमा सम्झने छन्,’ मोहेब्बीले भने।
आफूले पालेको घरपालुवा जनावरको भविष्यप्रति मासा निकै चिन्तित छिन्।
‘मैले मेरै सन्तान बराबर गरेर पालेको जनावरको बिजोग म हेर्न सक्दिनँ। उनीहरूले यो कानुन पारित गरे मैले छोरालाई झैं स्याहार र माया गरेर पालेको कुकरलाई बेवारिसे छोड्न सक्दिँन,’ मासाले भनिन्। (बिबिसीबाट)