गुणस्तरहीन रासायनिक मल बेचेको भन्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरीका किसानले घरमा लगेको मल धमाधम सहकारीमा फिर्ता गर्न थालेका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित टरिगाउँ महिला कृषि सहकारी संस्था लिमिटेडले किसानलाई प्रतिबोरा दुई हजार पाँच सयका दरले बिक्री गरेको ‘के गोल्ड’ नामक रासायनिक मलको बोरामा बालुवा र माटो फेला परेको भन्दै किसानले धमाधम मल फिर्ता गर्न थालेका हुन्।
सहकारीकी प्रबन्धक सुनिता भण्डारीले किसानले झन्डै एक सय २० बोरा जति मल सहकारीमा फिर्ता ल्याएको जानकारी दिइन्।
‘हामी अझै केही दिन पर्खिन्छौं,’ उनले भनिन्, ‘अरू कति किसानले मल फिर्ता गर्छन्, त्यसपछि हामीले खरिद गरेकै ठाउँमा मल फिर्ता पठाउने छौं।’
सहकारीले उक्त रासायनिक मल कञ्चनपुरको सुधारत ट्रेडर्स एण्ड सप्लार्यसबाट खरिद गरेर ल्याएको प्रबन्धक भण्डारीले बताइन्।
उक्त रासायनिक मलको गुणस्तरमा आशंका गर्दै किसानले मल फिर्ता गर्न थालेपछि सप्लायर्ससँग कुरा गरेपछि उसले मल फिर्ता ल्याउन आग्रह गरेको भण्डारीले जानकारी दिइन्।
स्थानीय किसानबाट गत माघ महिनादेखि नै यो सहकारीले रासायनिक मल ल्याइदिने भन्दै रकम संकलन सुरू गरेको किसानले जानकारी दिएका छन्।
भण्डारीले अझै पनि सप्लार्यसका मानिसहरूले नेपाल सरकारले गुणस्तर हेरेर बिक्री गर्नका लागि अनुमति प्रदान गरेको हुँदा मलमा कुनै आशंका नगर्न दाबी गर्दै आएको बताइन्।
‘उहाँहरूले आफूले बेचेको मल एकदम राम्रो छ भन्ने दाबी गर्दै किसानले नबुझेका हुन् भन्ने कुरा गर्नुहुन्छ,’ भण्डारीले भनिन्, ‘हेरौं अझै केही दिन कति मल फिर्ता आउँछ त्यही अनुसार कुरा गर्नेछौं।’
त्यस्तै, उनले कतिपय किसान अरूको उक्साहटमा लागेर लहलहैमा मल नराम्रो भयो भन्न आएको दाबी पनि गरिन्।
यो पनि:
सहकारीले बेचेको मलले काम नगरेको भन्दै किसानहरूले मागे क्षतिपूर्ति (भिडिओ)