सिराहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेको छ। महतो गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका थिए।
उनले जागिर लगाइदिने बहानामा करिब एक महिनाअघि बिहान ८ बजे कार्यालयमा बोलाएर २१ वर्षीया सोही नगरपालिकाकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेको हो।
ती महिलाले जिल्ला प्रहरी कार्यालयमा बिहीबार जबर्जस्ती करणी उद्योगमा जाहेरी दर्ता गराएको प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले बताए।
उपमेयर महतोले कार्यकक्षको गोप्य कक्षभित्र लगेर जबर्जस्ती करणीको प्रयास गरेको ती महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।
ती महिला रोइकराई गर्न थालेपछि उपमेयर महतोले घटना बाहिर नलान आग्रह गरेको बताइएको छ। उनको कार्यकक्षबाट निस्केर आफ्ना अभिभावकलाई घटनाबारे जानकारी दिएको ती महिलाले जनाएकी छन्।
केही दिनअघि नगरपालिकाले दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटर सम्बन्धी विज्ञापन निकालेको थियो। सोही पदमा जागिरका लागि ‘सोर्स’ लगाइदिने भन्दै बलात्कारको प्रयास गरेको जहेरीमा भनिएको छ।
राजनैतिक दबाबका कारण गाउँमै पञ्चायती गरी घटना लुकाउन प्रयास गरिए पनि अन्ततः उनले प्रहरीमा जाहेरी दिएकी बताइएको छ।
घटनामा थप अनुसन्धान जारी रहेको डिएसपी बुढाथोकीले बताए।