छिमेकी राष्ट्र भारतमा एकै दिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो दिन भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ।
विशेष गरि भारतका केरला, पश्चिम बंगाल, तमिलनाडु, महाराष्ट्र, असम, आन्ध्र प्रदेश, हिमाञ्चल प्रदेश, मिजोरम र अरूणाचल प्रदेशमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ।
पछिल्लो २४ घण्टामा भारतमा १७ हजार ८ सय ८२ नयाँ संक्रमित थपिएका छन् भने १६ हजार ७ सय १० जना निको भएका छन्।
यस्तै ३७ संक्रमितको मृत्यु भएको छ।
बुधबारको तुलनामा बिहीबार नयाँ केसमा १७ प्रतिशतले कमी आएको हो। बुधबार २१ हजार ५६६ जना संक्रमित हुनुका साथै २६ जनाको ज्यान गएको थियो।
भारतका महाराष्ट्र, तमिलनाडु, कर्नाटक, पश्चिम बंगाल, ओडिशा राज्यमा दैनिक १ हजार भन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन्।
पश्चिम बंगालमा मात्रै पछिल्लो २४ घण्टामा २४८६ नयाँ संक्रमित फेला परेको र ६ जनाको ज्यान गएको भारतीय स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ। यस्तै महाराष्ट्रमा पछिल्लो २४ घन्टामा २२८९ नयाँ संक्रमित फेला परेका छन्। यस्तै महाराष्ट्रमा बिहिबार ६ जनाको मृत्यु भएको छ।
भारतका असम, सिक्किम, हिमाञ्चल प्रदेश, नागाल्याण्ड, मेघालय र पश्चिम बंगालमा संक्रमण दर १० प्रतिशतभन्दा बढी छ।
भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।