सर्लाहीमा डेढ महिनादेखि हराइरहेकी महिलाको हत्या भएको खुलेको छ।
गत जेठ २१ गतेदेखि हराइरहेकी पर्सा गाउँपालिका १ शितलपुरकी २० वर्षीया निशा यादवको शव शुक्रबार बिहान खेतमा गाडिएको अवस्थामा फेला परेको हो।
घरबाट झण्डै चार किलोमिटरको दूरीमा रहेको धान खेतमा गाडिएको अवस्थामा शव फेला परेको घटनास्थल पुगेका वडाध्यक्ष सतेन्द्र राय यादवले बताए।
करिब एक वर्षअघि महोत्तरीको सोनमा गाउँपालिका ६ मगरथानाकी निशाको शितलपुरका बालदत्त भन्ने रमजेश कुमार रायसँग विवाह भएको थियो।
‘हत्या गरेर गाडेको धेरै दिन भइसकेकाले शव गलिसकेको थियो। शव जलेको थियो भन्ने पनि सुनिन आएको छ। शव गाडेर खेतमा माथिबाट धान रोपिएको थियो,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक प्रहरीका अनुसार निशाका ससुराले नै हत्या गरेको स्वीकारेका छन्।
हराइरहेकी निशा घरबाट भागेर माइत गएको भनी उनका ससुरा रामप्रताप रायले गाउँमा हल्ला फैलाएका थिए।
उनका बुवा कौशल रायलाई पनि उनले माइत जाने घन्दै घरबाट हिँडेको र त्यसयता नफर्केको बताएका थिए। तर कौशललाई शंका लागेपछि जेठ २२ गते छोरी घरबाट बेपत्ता भएकाले खोजतलास गरिपाऊँ भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए।
लगत्तै जेठ २४ गते रामप्रतापले पनि बुहारी खोजतलास गरिदिन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निवेदन दिए।
त्यसपछि प्रहरीले अनुसन्धान थाल्यो। अनुसन्धानको क्रममा निशाका ससुरा रामप्रताप पक्राउ परेपछि घटनाबारे खुलेको बताइएको छ।
‘सुरूमा रामप्रतापले मलाई पनि बुहारी माइत गइन् उतैबाट फेला परेको छैन भनेर सुनाउन आएका थिए। पछि प्रहरीले पक्राउ गरेर लगेपछि मारेर गाडेको रहेछ भन्ने सुनेछु तर ठ्याक्कै के भएको हो थाहा भएन,’ वडाध्यक्ष रायले थपे।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले निशाका श्रीमान, ससुरा र देवर राजु यादवलाई पक्राउ गरेको ती प्रहरीले बताए।
सर्लाही प्रहरीले घटनाको कारणबारे बताउन चाहेको छैन।
घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी विजय यादवसँग बुझ्न खोज्दा उनले ‘५ मिनेट, १० मिनेट, १५ मिनेटमा बताउँछु, वा प्रेस नोट पठाउँछु’ भन्दै पञ्छिए।
सर्लाहीका एसपी प्रवीण पोखरेलले पनि घटनाबारे बताउन मानेका छैनन्। पीडक पक्षका राजनीतिक दलका नेताले प्रहरीलाई निरन्तर दबाब दिइरहेकाले घटनाबारे बताउन नमानेको हुनसक्ने शितलपुरका स्थानीयको आशंका छ।