यसै साता बिहीबार अपराह्न २ बजेतिरको कुरो हो। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकलाई सुत्केरी व्यथाले च्याप्यो।
उनको गाउँ मुक्तकोटमा सामुदायिक स्वास्थ्य इकाइ छ तर त्यहाँ सुत्केरी गराउने व्यवस्था छैन। भवन बनेको छ। एक जना अनमी कर्मचारी र एक जना अहेव छन्। यहाँ भरर्खरै परिवार नियोजनका अस्थायी साधन वितरण र प्राथमिक उपचार सेवा सुरू भएको छ।
गाउँमा सुत्केरी गराउन सम्भव नभएपछि गाउँका तीन जना महिला र श्रीमानले कार्तिकालाई तीन घण्टा टाढाको मझगाउँ बर्थिङ सेन्टरमा पुर्याए।
बिरामी बोकेर लैजान स्टेचर पनि थिएन। बाटोमा कतै डोहोर्याउँदै र कतै बोक्दै तीन घण्टा हिँडेर उनीहरू बर्थिङ सेन्टर पुगे।
बर्थिङ सेन्टर सुनसान थियो।
‘त्यहाँ (बर्थिङ सेन्टरमा) कोही पनि कर्मचारी थिएन,’ कार्तिकालाई लिएर गएकी मन्दरी विकले भनिन्, ‘कार्यालय सहयोगीले इन्चार्ज गाउँपालिकाको बैठकमा गएको र दुई जना अनमी करारको म्याद सकिएर आएका छैनन् भने।’
रित्तो बर्थिङ सेन्टर कुरेर बस्नुको अर्थ थिएन।
कुनै अर्को बर्थिङ सेन्टर वा अस्पताल पुर्याउने विकल्प पनि थिएन। उनीहरू घर फर्किनु उचित ठानेर बाटो लागे।
घरतिर ल्याउँदै गर्दा ताहाडा खोलानजिक कार्तिकालाई व्यथा चर्को भयो। उनी त्यहीँ सुत्केरी भइन्। साथमा रहेका महिलाहरूले सहयोगका लागि चिनजानका स्वास्थ्यकर्मीलाई खबर गरे।
निजी क्लिनिक सञ्चालक एक जना स्वास्थ्यकर्मी आएर नाभी काटे। अन्य आवश्यक सहयोग गरे। उनले फोटो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरे।
गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाका अनुसार त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीले म्याद नथपेको भन्दै घरमा बसेकै कारण यस्तो समस्या आएको हो।
‘हामीले स्वास्थ्यकर्मीको हकमा म्याद थप नभए पनि काम गरिहनू, १ गते (साउन) बाट म्याद थप हुनेछ भनेका थियौं तर उनीहरू मनोमानी घरमा बसेको हामीले जानकारी पायौँ,’ रोकायले भने, ‘बाटोमै बच्चा र आमालाई केही तलमाथि भए हामी जेल जानुपथ्र्याे।’
स्वामीकार्तिक खापर गाउँपालिकाका पाँच वटा वडामध्ये तीन वटा स्वास्थ्य केन्द्र, दुई वटा सामुदायिक स्वास्थ्य इकाई र दुई वटा बर्थिङ सेन्टर गरी सात वटा स्वास्थ्य संस्था छन्।
ती स्वास्थ्य संस्थामा कार्यालय सहयोगीबाहेक कुल स्वास्थ्यकर्मी २८ जना छन्। यहाँ पाँचौं तहका सिनियर अहेव, अनमी र सीएमए कार्यरत छन्। कतिपय कर्मचारीहरू करारको म्याथ थप नभएको जनाएर घरमै बसेका छन्।
अन्य वडाभन्दा वडा नम्बर १ को मुक्तिकोटमा हाल स्वास्थ्य इकाइ पूर्णरूपमा सञ्चालन हुन सकेको छैन। कार्तिका त एक दृष्टान्तमात्रै हुन्, उनको गाउँमा सबैको अवस्था एक हो।
‘हाम्रोमा केही सुविधा छैन। मुक्तिकोटमा धेरै दुःख छ। गाउँमै सुत्केरी गराउने वातावरण भए कष्ट भोग्नु पर्ने थिएन,’ मन्दरीले भनिन्, ‘जमान कहाँबाट कहाँ पुग्यो। हामी जंगली जीवन बाँच्न बाध्य छौँ।’
गाउँपालिका अध्यक्ष रोकायाले स्थानीयवासीको समस्या ध्यानमा राखेर साउन १ गतेदेखि नै मुक्तिकोटमा बर्थिङ सेन्टर बनाउन र सेवा विस्तार गर्न बजेट छुट्याएको बताए।
बाटोमै शिशु जन्माएकी कार्तिकालाई बिहीबार नै घर पुर्याइएको छ। उनले तेस्रो सन्तान जन्माएकी हुन्।
वडा नम्बर १ का वडा अध्यक्ष अजयकुमार विकका अनुसार गर्भवती अवस्थामा पनि कार्तिकाको नियमित परीक्षण भएन। नजिकमा स्वास्थ्य संस्था नहुँदा र विकट भौगोलिक अवस्थाका कारण नियमित परीक्षण हुन नसकेको हो।
उनका अनुसार कार्तिकाको गाउँ मुक्तिकोटका ३५० घरधुरीका ५७५ मध्ये १२० बालबालिका कुपोषित छन्। कुपोषित हुनेमा दलित समुदायका बालबालिका बढी छन्।
वडाध्यक्ष विकका अनुसार यहाँका गर्भवतीले टिटानस खोप पनि पाउँदैनन्। आइरन चक्की खान पनि पाउँदैनन्।
‘म पनि स्वास्थ्यकर्मी हुँ। दस वर्ष यही ठाउँमा स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभव छ,’ वडाध्यक्ष विकले भने, ‘यहाँको स्वास्थ्य र शिक्षामा सुधार गर्छु भनेर जनप्रतिनिधि भएँ। म संघसंस्था, प्रदेश र केन्द्र सरकारसँग हारगुहार गरिहरेको छु।’
भौगोलिक विकटताका स्वामीकार्तिक खापर गाउँपाकिलामा यातायातका आधुनिक साधनको सुविधा छैन।
गाउँपालिका कार्यालयबाट माझीगाउँको सीमानासम्म ३० किलोमिटर सडक छ।
बर्खायाममा २० किलोमिटरमा राम्ररी गाडी चल्दैन। बिरामी बोक्न गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स पनि बेकाम थन्किएको छ।
स्वामीकार्तिक खापरमा जमिन भिरालो छ। हिउँदमा रैथाने बाली हुन्छ। जमिनको उत्पादकत्व अत्यन्तै कम छ।
वडाध्यक्ष विक भन्छन्, ‘यहाँ उत्पादन हुँदैन। बाहिरबाट आयात गर्न सडक छैन। गरिबी छ। अशिक्षा छ। खानेपानी छैन। बालबालिकाहरू कुपोषित छन्।’
उनका अनुसार यहाँका ७३ घरपरिवार पहिरोबाट विस्थापित भएका छन्।
उनले भने, ‘पहिरोको जोखिम छ। बर्खामा तलबाट पहिरो गइरहेको छ। यस्तो अवस्थामा स्वास्थ्य संस्थामा कर्मचारी नभए जनतालाई धेरै दुःख भएको छ।’
नेपाल सरकारको मापदण्ड अनुसार बाजुराको सदरमुकामबाट स्वामीकार्तिक खापर गाउँपालिका २१ कोस टाढा पर्छ। सदरमुकामबाट हिँडेर जान तीन जति लाग्छ। यो गाउँपालिका सामाजिक, स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधारमा निकै पछाडि परेको छ।