भक्तपुरको सल्लाघारीमा रूख ढलेर बस र स्कुटरलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
सल्लाघारीमा बाटोमाथिको रूख एक्कासि ढलेर सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
काठमाडौंबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नं को बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९६८ नम्बरको स्कुटर थिचिएको उनले जानकारी दिए।
बसमा सवार दुई र स्कुटरका एक जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। अन्य घाइते १२ जनाको भने नजिकै रहेको इवामुरा अस्पताल सल्लाघारी, मध्यपुर अस्पताल थिमि र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले घाइतेको उद्धार गर्ने, घाइतेलाई अस्पताल पुर्याउने, सडकबाट रुख पन्छाएर यातायात सञ्चालन गर्नेलगायत काम गरिरहेको छ।
धेरै वर्ष पुरानो रुख आज दिउँसो १२ बजेपछि चलेको सामान्य हावाले नै ढालेको स्थानीयको भनाइ छ।
हेर्नुहोस् तस्बिरहरू