झापाको कचनकवलमा एउटै रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएका तीन किशोरीले आत्महत्या गरेको पुष्टी भएको छ।
पोष्टमार्टम रिपोर्ट र प्रहरी अधिकारीले गरेको शूक्ष्म अनुसन्धानमा हत्या भएको हुनसक्ने कुनै ठोस प्रमाण फेला नपरेपछि उनीहरूले सामुहिक आत्महत्या गरेको प्रारम्भीक निष्कर्ष प्रहरीले निकालेको छ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृतक तीनै जनाको पोष्टमार्टमको अनौपचारिक रिपोर्ट झापा प्रहरीलाई दिएपछि उनीहरूले आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले सेतोपाटीलाई जानकारी दिए।
प्रहरी सहितको उपस्थितिमा मृतक तीनै जनाको पोष्टमार्टम धरानको घोपामा गरिएको थियो।
‘अस्पतालले हामीलाई मौखिक (अनौपचारिक) रूममा दिएको जानकारीमा तीन जना किशोरीले आत्महत्या गरेको भन्ने छ,’ उनले भने, ‘पोष्टमार्टमको विस्तृत रिपोर्ट आएपछि थप भन्न सकिन्छ।’
कचनकवल गाउँपालिका–५ स्थित दलेगाउँमा आइतबार एउटै रूखमा स्थानीय तीन किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
स्थानीय सुनकोसी चिया बगान नजिकै भएर बग्ने झिङ खोला किनारमा बयरको रूखमा सोही ठाउँकी १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १७ वर्षीय कल्पना कुमारी गणेश आइतबार बिहान मृत फेला परेका थिए।
मृतक तीनै जना स्थानीय चिया बगानका मजदुर हुन्।
प्रहरीका अनुसार उनीहरू प्राय सँगसँगै बगानमा काम गर्थे। सामान्य परिवारका उनीहरूमध्ये करिना र अन्जलीको घर नजिकै हो भने कल्पनाको घर केही दुरीमा छ।
आत्महत्या गर्नुपर्ने अन्य कारण भने प्रहरीले खोजिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटना अनुसन्धानका लागि नेपाल प्रहरीले एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको (आरआईटी), जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीको टोली परिचालित थियो।
घटनास्थलको विषयवस्तु र पोस्टमार्टम रिपोर्ट बुझ्दा अहिलेसम्म हत्याको ठोस प्रमाण फेला नपरेको प्रहरी नायव उपरीक्षक पाठककले बताए।