युवतीको प्रयोग गरी व्यक्ति अपहरणपछि फिरौती माग्ने समूह दाङमा पक्राउ परेको छ।
जसमा मुख्य भूमिका बबई गाउँपालिका-४ का ३५ वर्षीय लिला बिक र ३५ वर्षीय नेवबहादुर घर्ती (मार्सल) रहेको प्रहरीले जनाएको छ। बिक नेकपा एमाले युथ फोर्स र घर्ती नेकपा माओवादी केन्द्रको वाइसिएलका नेताहरू हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले व्यक्ति अपहरण तथा फिरौती माग्ने कार्यमा संलग्न दाङको तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेका २५ वर्षीय शुकलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका-९ का २० वर्षीय मनोज थारु, प्युठानको गौमुखी गाउँपालिका-७ घर भई हाल दाङको तुलसीपुर–६ का २४ वर्षीय जनक कुँवर छन्।
कुँवर पेशाले बागमती प्रदेश ०१–०२५ च ८७२९ नम्बर गाडीका चालक हुन्। व्यक्ति अपहरणमा उक्त गाडी प्रयोग भएको हुँदा त्यो पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रमुख अर्यालले जानकारी दिए।
दैलेखबाट बुटवल बोलाएर अपहरण
पूर्वयोजना अनुसार सोमबार दाङ तुलसीपुर–७ की २६ वर्षीया निर्मला बिकले दैलेखको चामुन्डाबिन्द्रसैनी नगरपालिका-३ का २७ वर्षीय केशवकुमार बिकलाई फोन गरी भेट्न भनेर बुटवल बोलाइन्।
निर्मलालाई भेट्न केशवकुमार बुटवल पुगे। निर्मलाले फोनमा केशवलाई बोलाए पनि भेट्न गइनन्। तर उनले भनेका ठाउँमा अरू केटाहरू थिए। राति ९ बजेतिर केशवलाई उनीहरूले कुटपिट गरे। उनलाई बन्धक बनाएर गाडीमा हालियो।
अपहरणपछि उक्त समूहले केशवलाई तुलसीपुर उपमहागरपालिका-५ को सल्यान रोडस्थित युवम् होटलमा पुर्याए। डिएसपी अर्यालका अनुसार उनीहरूले केशवसँग सात लाख फिरौती मागे।
सात लाख नदिए जे पनि हुन सक्छ भन्दै चेतावनी दिए। प्रहरीलाई घटनाबारे सुँइको पनि थिएन। जबकी घटनास्थल इप्रका तुलसीपुरदेखि एक किलोमिटर जतिको दुरीमा थियो। दैलेखबाट केशवकी श्रीमतीले इप्रका तुलसीपुरमा मंगलबार दिउँसो साढे ४ बजे श्रीमान अपहरणमा परेको तथा उद्धारको लागि याचना गरिन्।
सूचना पाउनासाथ डिएसपी श्यामु अर्यालको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुग्यो। तत्काल केशवलाई उद्धार गर्यो। घटनास्थलबाट ४:५० बजे अपहरण कार्यमा संलग्न व्यक्ति मध्ये दुई जनालाई नियन्त्रणमा लियो। उनीहरूको बयानका आधारमा मुख्य योजनाकार भनिएका लिला बिक र नेवबहादुर घर्ती (मार्सल) पनि पक्राउ परे। तुलसीपुर–७ स्थित घर नजिकैबाट निर्मला पनि पक्राउ परिन्।
डिएसपी अर्यालका अनुसार अपहरित केशव साउदी अरबमा काम गर्दै आएका व्यक्ति हुन्। आरोपित मध्येका मनोज थारू र सुकलाल बिक पनि केशवसँगै साउदीमा काम गर्थे।
मनोज र सुकलालले गुण्डा छवि भएका युवाहरूलाई गुहारेर केशवलाई अपहरण गरी रकम असुल्ने रणनीति बनाएको तथ्य खुलेको डिएसपी अर्यालले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।