कैलालीको लम्कीचुहा नगरपालिका–९, सोनपुरका जगलाल चौधरीले पथरिया नदीको सोमपुर घाटमा पुल बन्ने कुरा सुनेको दस वर्ष भयो।
अहँ, नदीमा पुल बनेको छैन। बर्खायाममा नदी तर्न कष्ट झेल्नुपर्ने बाध्यता यथावत् छ। हिउँदका केही महिना सजिलै नदी वारपार गरे पनि बर्खा सुरू भएपछि गाउँका बासिन्दाको पीडा बल्झिन्छ।
पथरिया नदीको सोमपुर घाटले कैलालीको लम्कीचुहा र जोशीपुर जोड्छ।
लम्कीचुहा–९, सोनपुरका बासिन्दालाई यो घाटमा पुलको आवश्यकता कति छ भन्ने कुरा उनै भुक्तभोगीबाहेक अरूलाई के थाहा होला र!
सोनपुरमा स्कुल छैन। स्थानीय जानकी चौधरीले हरेक बिहान स्कुल पठाउन छोरीलाई तयार पार्छिन्।
पथरिया नदीमा सामान्य अवस्थामा डुंगा चल्छ तर बहाव बढेको दिन बन्द हुन्छ। यस दिन छोरी स्कुल जान पाउँदिनन्।
‘छोरीलाई स्कुल पठाउन ठिक्क पारेर नदीको छेउमा ल्याउँछु, नदी तर्न नसकेपछि फिर्ता हुनु पर्दा दुःख लाग्छ,’ जानकी भन्छिन्, ‘हामीले त नपढेर दुःख पायौं, नदी तार्न नसक्दा छोराछोरी पढाउन पनि मुश्किल भयो।’
जानकीजस्तै सोनपुरका अन्य बासिन्दाहरू पनि साना छोराछोरीलाई जोशीपुरकै स्कुल पठाउँछन्। उनीहरूको अवस्था पनि ठ्याक्कै उस्तै हो।
बर्खायाम सुरू भएपछि नदी तर्न सकिँदैन। यसै कारण सोनपुरका बालबालिकाको पढाइ छुट्ने गरेको स्थानीयवासी नीलम चौधरी बताउँछिन्।
‘नदीमा बाढी आएपछि हाम्रा साना छोराछोरीलाई स्कुल लैजान सकिँदैन,’ नीलम भन्छिन्, ‘बर्खा लागेपछि उनीहरू स्कुल जानै सक्दैनन्। मेरा दुई छोरीलाई धेरै दुःख भएको छ।’
सोनपुरमा स्वास्थ्य चौकी पनि छैन, अस्पताल हुने कुरै भएन। सानोतिनो उपचार गर्न पनि नदी तरेर पारी जानुपर्छ।
बर्खायाममा गर्भवती र अचानक बिरामी पर्ने व्यक्तिहरू समस्यामा पर्ने गरेको उनको भनाइ छ।
सोनपुरमा सानोतिनो व्यापार गर्ने व्यक्तिहरू पनि समस्यामा हुन्छन्। उनीहरू पनि व्यापारका सामान लिन जोशीपुर नै पुग्नुपर्छ।
‘बर्खामा त पसलमा चाहिने सामान ल्याउन पनि सकिँदैन। यहाँ उत्पादन गरेको तरकारी र मासु बाहिर पठाउन सकिँदैन,’ सोनपुरका कृष्ण चौधरी भन्छन्, ‘पुल नभएर हामीले खेप्नु परेको दुःख सरकारले देखेन।’
पुल बनाउन प्रयास नै नभएको भने होइन। बजेट आएर, सम्झौता भएर पनि बन्न नसकेको हो।
स्थानीय बासिन्दा बमबहादुर चौधरीका अनुसार स्थानीय निकायका रूपमा गाविस हुँदा सोनपुर घाटमा पुल बनाउन बजेट आएको थियो। तीन वर्षको योजना थियो तर पुल बनेन।
‘गाविस छँदा हामी पनि योजनामा हस्ताक्षर गर्न गएका थियौं,’ बमबहादुरले भने, ‘पछि ठेकेदारले के गर्यो, के भयो, अहिलेसम्म पनि पुल बनेन।’
अहिलेको लम्कीचुहा नगरपालिका र जोशीपुर जोड्ने पथरिया नदीको यो बाटो खासमा कृषकहरूले बढी प्रयोग गर्छन्। यही बाटोले सोनपुर पारि जोशीपुर, सीमराना, भजनी, हुलाकी सडकसम्म लम्की र जानकी जोड्छ।
स्थानीयवासी रघुवीर चौधरीका अनुसार पहिला नदी साँघुरो हुँदा किसानहरू परम्परागत उपायबाट तर्थे। साँघु अर्थात् अस्थायी पुल हाल्न पनि समस्या हुँदैन थियो। स्थानीय स्रोतसाधनले नै साँघु बन्थ्यो।
नदी फराकिलो हुँदै जाँदा साँघु हाल्न नसकिने भयो। बाढी पनि बढ्न थाल्यो।
रघुवीरले भने, ‘नदी वारपार गर्न अहिलेजस्तो समस्या थिएन। साँघु बनाएर पनि वारपार गर्न सकिन्थ्यो। अहिले सकिँदैन। नदी धेरै फराकिलो भयो।’
नदी फराकिलो भएको मात्रै होइन, धार पनि परिवर्तन हुने गरेको छ। नदी फराकिलो हुँदै गएपछि डुंगा चल्न थाल्यो। सोनपुरवासीहरू साइकल र मोटरसाइकल पनि डुंगामा राखेर नदी तर्न थाले तर ट्र्याक्टर रोकिए।
नदीमा बाढी आएको समयमा डुंगा चल्दैन। डुंगा नचल्दासम्म आवतजावत ठप्प हुन्छ।
उक्त क्षेत्रबाट निर्वाचित सांसदहरूको पहलमा पुल निर्माणका लागि सरकारले २०७० सालमा रातो किताबमा योजना समावेश गरेर करिब चार करोड रुपैयाँ बजेट छुट्याएको थियो।
बजेट पक्का भएपछि एक वर्षमै पुल निर्माण सक्ने गरी सडक डिभिजन कार्यालय, महेन्द्रनगरमार्फत् २०७४ सालमा पप्पु एड्भेन्चर जेभीसँग सम्झौता भयो। पाँच वर्ष बित्न लाग्यो तर पुल बन्ने सुरसार छैन।
सम्झौता गरेर ठेकेदारले काम नगरेको सोनपुरवासीको भनाइ छ। किन काम भएन भन्ने विषयमा सेतोपाटीले निर्माण कम्पनीका प्रतिनिधिसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।
लम्कीचुहा नगरपालिका–९ का वडाध्यक्ष रामप्रसाद चौधरीले केन्द्र (संघीय सरकार) को बजेटबाट ठेकेदारलाई पुल निर्माणको जिम्मा दिए पनि काम अघि बढेन।
‘हामीले जति भने पनि ठेकेदारले सुन्दैन, काम नै गर्दैन। हाम्रो त केही लागेन। हामीले ठेकेदारलाई कारबाहीका लागि मुद्दा हाल्ने तयारी पनि गर्यौं,’ वडाध्यक्ष चौधरी भन्छन्,‘ठेकेदारले कोरोनाका कारणले काम भएन भन्छ। ठेकेदार सधैं कोरोना भन्छ। कसैले कारबाही गर्दैन।’
लम्कीचुहा नगरपालिकाका मेयर सुशीला शाहीले ठेकेदारले काम नगरेका कारण पुलको निर्माणका लागि आएको बजेट फिर्ता जाने गरेको बताइन्।
‘केन्द्रबाट आएको बजेट विकास निर्माणमा प्रयोग नभई यसरी फिर्ता जानु राम्रो होइन। ठेकेदारलाई के गर्न सकिन्छ भनेर हामी बुझ्दै छौं,’ मेयर शाहीले भनिन्, ‘यस बारेमा हामी छानबिन गरेर अघि बढ्छौं।’
जनप्रतिनिधिले छानबिन गर्छौं भने पनि यस दिशामा काम अघि बढेको छैन। सोनपुरवासीको दुःख ज्यूँका त्यूँ छ। सधैं उही पथरिया नदीको कहर।