कैलालीको धनगढी उपमहानगरपालिका-७ की साउनीदेवी डगौरालाई करिब पाँच वर्षअघि तागत नहुने, खाना मीठो नलाग्ने र नरूच्ने, पिसाब फेर्दा पोल्नेजस्ता समस्या देखिए। उनका श्रीमान् खुसीराम चौधरीलेले सेती प्रादेशिक अस्पताल पुर्याएर स्वास्थ्य परीक्षण गराए।
खुसीरामका अनुसार त्यहाँका डाक्टरले पत्ता लगाउन सकेनन्, अर्को राम्रो अस्पताल लैजानू भने। खुसीराम श्रीमती लिएर भारतको बरेली गए। त्यहाँ जाँच गर्दा साउनीदेवीको मिर्गौलामा ६५ प्रतिशत खराबी देखियो। डाक्टरले औषधिले ठीक हुन्छ भने।
डाक्टरले भनेअनुसार झन्डै दुई वर्ष औषधि खुवाए, सुधार पनि हुँदै थियो। दुई वर्षअघि कोरोना संक्रमण फैलिएर लकडाउन भएपछि खुसीरामले श्रीमतीलाई बरेली पुर्याउन सकेनन्। काठमाडौं लैजान पनि सकेनन्। साउनीदेवीको बिमार बढ्यो।
खुसीरामका अनुसार बिरामीको अवस्था बिग्रदै गयो। आखिर मिर्गौलाले काम गर्न छाडेर डायलाइसिस गराउनु पर्ने अवस्था भयो। उनले भने, ‘डायलाइसिस गराउन पनि बरेली गएँ। साढे दुई महिना उतै बस्यौं।’
डायलाइसिस गर्न शरीरलाई मेसिनसँग जोड्न हातमा अपरेसन गरेर फिस्टुला बनाउनु परेको उनले बताए। फिस्टुला बनाएर डायलाइसिस गराए, भारतमा डेढ लाख जति रुपैयाँ खर्च भयो।
उताबाट फर्केपछि काठमाडौंस्थित महाराजगन्ज शिक्षण अस्पतालमा पनि डायलाइसिस गराए। अहिले साउनीदेवीको अवस्थामा केही सुधार भएको छ।
हाल सेती प्रादेशिक अस्पतालमा उनको नियमित डायलाइसिस हुने गरेको छ। अहिलेसम्म उपचारमा १६ लाख रुपैयाँभन्दा बढी खर्च भएको उनले बताए।
धनगढी उपमहानगरकै वडा नम्बर १ का लक्ष्मण आचार्यले दुई वर्षयता आमाको डायलाइसिस गराउन अनेक ठाउँ धाउनु पर्यो। आमा सुभद्रा उच्च रक्तचाप (ब्लड प्रेसर) र मधुमेह (सुगर) को समस्याले औषधि खान्थिन्।
आमालाई वाकवाकी हुने र खान मन नलाग्ने लक्षण देखियो। लक्ष्मणले डाक्टरकहाँ लगेर परीक्षण गराए। मिर्गौलामा समस्या देखियो।
‘काठमाडौंको वीर अस्पतालमा गयौं तर पालो पाएनौं। निजी अस्पतालमा जानुपर्यो। फिस्टुला बनाएको मात्रै ३० हजार रुपैयाँ लाग्यो। पछि वीर अस्पतालमा पनि डायलाइसिस गरायौं,’ लक्ष्मणले भने।
गत वैशाखमा शल्यक्रिया गरेर फिस्टुला बनाएयता ४० पटक आमाको डायलाइसिस भएको लक्ष्मणले बताए।
फिस्टुला बनाएर डायलाइसिस गर्नु राम्रो मानिन्छ। सेती प्रादेशिक अस्पतालमा यस्तो शल्यक्रिया हुँदैन थियो। यसै कारण खुसीराम, लक्ष्मण र यस्तै अन्य व्यक्तिहरू आफ्ना बिमारी लिएर काठमाडौं वा भारत जानुपर्यो। फिस्टुला बनाउने शल्यक्रिया महंगो पर्यो।
बिरामीलाई परेको यस्तो समस्या डाक्टर विकास मण्डलले थाहा पाए।
उनी धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमएस पूरा गरेर छात्रवृत्ति करार सेवामा सेती प्रादेशिक अस्पतालमा आएका थिए। उनी भर्खरै अभ्यास सुरू गरेका नयाँ चिकित्सक हुन्। पहिलो पटक सुदूरपश्चिम आएका उनी आठ महिनाअघिदेखि सेती प्रादेशिक अस्पतालमा जनरल सर्जनका रूपमा कार्यरत छन्।
डाक्टर मण्डल हाइड्रोसिल, हर्निया, पित्तथैली, एपन्डिसाइटिस् आदिको अपरेसन गर्छन्।
उनले सेती प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न आएका बिमारीले फिस्टुला बनाउन धेरै दुःख खेप्नु परेको थाहा पाएपछि आफूले सेवा सुरू गर्ने सोच बनाए।
‘मैले सेती (प्रादेशिक अस्पताल) मा डायलाइसिस सेवा लिन समस्या छ भन्ने कुरा सुन्ने गरेको थिएँ,’ मण्डलले भने, ‘फिस्टुला बनाउन भारत वा काठमाडौंतिर पठाउने गरिएको रहेछ। बिमारीले धेरै खर्च गर्ने गरेको पनि सुनें।’
यस्तो अवस्था हुन नदिन पहल गर्ने सोच बनाए। डाक्टर मण्डलले यस विषयमा अस्पताल प्रशासनसँग कुरा गरे। कुरा त गरे तर अपरेसनका लागि उपकरण थिएन। पछि प्रशासन केही उपकरण किन्न सहमत भयो।
‘म धरानमै हुँदा पनि डायलाइसिस गराउने बिमारीहरू आउँथे। फिस्टुला बनाउने समस्या मलाई थाहा थियो। यहाँ पनि फिस्टुला बनाउन अपरेसन गर्नुपर्छ त्यसका लागि अस्पतालले व्यवस्था गर्नुपर्छ भन्ने मलाई लागेर पहल गरेको हुँ,’ उनले भने।
अब फिस्टुला बनाउने अपरेसन सुरू भएको उनले बताए।
मण्डलका अनुसार दुई वटा नसा जोडेर फिस्टुला बनाउनु पर्छ। अति आवश्यक समयमा घाँटीको नसाबाट पनि डायलाइसिस हुन्छ।
उनका अनुसार फिस्टुला बनाएर डायलाइसिस गर्दा खर्च कम लाग्छ। संक्रमणको सम्भावना पनि कम हुन्छ।
निजी स्तरबाट सशुल्क डायलाइसिस सेवा दिने गरेको सेती प्रादेशिक अस्पतालले फिस्टुलासहित सरकारीस्तरबाट निःशुल्क डायलाइसिस सेवा दिन थालेको छ।
मण्डलले अहिलेसम्म सात जनाको हातमा फिस्टुला बनाएका छन्।
सेती प्रादेशिक अस्पतालमै फिस्टुला बनाउन थालेको कुरा सुनेर आफू खुसी भएको लक्ष्मणले बताए।
‘सेतीमा डायलाइसिस सुरू भयो तर फिस्टुला बनाउन हामीले धेरै दुःख पायौं,’ उनले भने, ‘यहीँ सेवा सुरू भएपछि, सजिलो हुने भयो, खर्च पनि बच्ने भयो।’
कैलालीकै टीकापुर नगरपालिका-१ का लोकबहादुर भण्डारी मधुमेह र उच्च रक्तचापका बिरामी छन्। उनलाई प्रोस्टेटको क्यान्सर भयो। छोरा प्रेमले वीर अस्पताल लगेर उपचार गराए।
वीर अस्पतालमा पहिलो पटक घाँटीमा क्याथेटर राखेर बुबाको डायलाइसिस भएको उनले बताए। एउटा क्याथेटर अलग्गै किन्नु पर्छ।
प्रत्येक डायलाइसिसमा क्याथेटर किन्नुपर्छ। अहिले बुबाका हातमा फिस्टुला बनाएर त्यसैबाट डायलाइसिस गर्न थालिएको छ।
प्रेमले भने, ‘अहिले सेतीमै एकजना डाक्टर (मण्डल) आउनुभएको रहेछ, उहाँले फिस्टुला बनाइदिनु भयो। अपरेसनको सामान मात्रै किन्नु पर्यो, तीन हजार जति खर्च लाग्यो।’
डाक्टर मण्डलले अहिले फिस्टुला बनाउन केही उपकरण आफ्नै प्रयोग गर्ने गरेका छन्। केही उपकरण अस्पतालले किनेको छ। अपरेसन शुल्क एक हजार रुपैयाँ लाग्छ।
फिस्टुला बनाएपछि पटकैपिच्छे क्याथेटर किन्नु पर्दैन। खर्च बचत हुन्छ। घाँटीनेर नसामा छेडेर क्याथेटर राख्नु पर्ने भएकाले इन्फेक्सन हुने डर हुन्छ। फिस्टुलामा यस्तो समस्या हुँदैन।
फिस्टुला बनाउन अपरेसन सेवा सुरू भए पनि जनशक्ति अभावका कारण मिर्गौलाका बिरामीले कठिनाइ भोग्नु परेको छ। समयमा पालो नपाउँदा डायलाइसिसका लागि अर्को अस्पताल जानु पर्छ।
सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ नेफ्रोलोजिस्ट छैनन्। किड्नीसम्बन्धी विशेषज्ञ चिकित्सक नेफ्रोलोजिस्ट हुन्। डायलाइसिस गर्नुपर्ने बिमारीको मिर्गौला परीक्षण नेफ्रोलोजिस्टले गर्नुपर्छ। अस्पतालले अन्य चिकित्सकबाट काम चलाउने गरेको छ।
चार वर्षदेखि श्रीमतीको डायलाइसिस गराउँदै आएका खुसीरामले नेफ्रोलोजिस्टलाई देखाउनु पर्दा नेपालगञ्ज वा काठमाडौं जान गरेको बताए। यस्तो अवस्थामा खर्च ह्वात्तै बढ्छ।
अस्पतलमा विशेषज्ञ चिकित्सकको दरबन्दी थप गर्न प्रदेश सरकार र केन्द्र सरकारसँग माग गरिएको अस्पताल विकास समितिका सदस्य डिल्लीराज भट्टले बताए।
प्रदेश मातहतको अस्पताल भए पनि सुदूरपश्चिम सरकारले रिक्त पदपूर्ति गर्न र दरबन्दी थप गर्न सकेको छैन।