सञ्चालक कम्पनीले सुर्खेत सिटी बसपार्कको भाडा नतिरेपछि वीरेन्द्रनगर नगरपालिका अदालती प्रक्रियामा गएको छ।
नगरपालिकाले शुक्रबार सुर्खेत जिल्ला अदालतमा सञ्चालक कम्पनी पिआर कन्स्ट्रक्सनविरूद्ध मुद्दा दायर गरेको हो।
नगरपालिकाको असार ३१ गतेको निर्णयअनुसार मुद्दा प्रक्रिया सुरू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले बताए।
‘असार ३१ गते नगरपालिकाले अटेर गरे सञ्चालकविरूद्ध कानुनी प्रक्रियामा जाने निर्णय गरेको थियो, त्यसपछि पनि हामीले दुईपटक पत्रिकामा भाडा तिर्न भनेर सूचना जारी गरेका थियौं,’ तिवारीले सेतोपाटीसँग भने, ‘यति गर्दा पनि उहाँहरू सम्पर्कविहीन हुनुभयो, त्यसैले हामी कानुनी प्रक्रियामा गएका हौं।’
काठमाडौंको पिआर कन्स्ट्रक्सनले सुर्खेत सिटी बसपार्क सञ्चालनको जिम्मा लिने सम्झौता गरेर सुर्खेतमा रहेको आफ्ना प्रतिनिधिलाई जिम्मा दिएको थियो।
प्रमुख प्रशासकीय अधिकृत तिवारीका अनुसार सञ्चालक कम्पनीलाई बसपार्क सञ्चालनवापत् साँवा ३ करोड ७३ लाख रुपैयाँ तिर्न बाँकी छ। त्यसबाहेक ३० देखि ३५ करोड रुपैयाँ हर्जना रकम तिर्नुपर्ने तिवारीले बताए।
नगरपालिकाले असार ३१ गते निर्णय गर्नुभन्दा अघि पनि १४ पटक भाडा तिर्न पत्राचार गरेको थियो।
पिआर कन्स्ट्रक्सनले सुर्खेत सिटी बसपार्क सञ्चालन गर्ने जिम्मा लिएयता २०७७ चैत १५ गतेदेखि यताको भाडा तिर्न बाँकी छ। नगरसभाको निर्णयले बीचमा कोभिडको समयको साढे तीन महिना भाडा मिनाहा गरिदिएको छ।
यो पनिः