दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा ल्याइएको बाउजर (जहाजमा इन्धन भर्ने) फिर्ता लैजाने तयारी गरेपछि त्यसको विरोध सुरू भएको छ।
हवाई इन्धन डिपो कार्यालय दाङका प्रमुख विपिन श्रेष्ठका अनुसार आइतबार नै बाउजर केन्द्रमा पठाउने तयारी भइरहेको छ।
‘मलाई केन्द्रको आदेश छ र मैले आज नै बाउजर केन्द्रका लागि पठाउनुपर्ने हुन्छ,’ प्रमुख श्रेष्ठले सेतोपाटीसँग भने, ‘लिखित त छैन, बाउजर फिर्ता पठाउनू भनेर मौखिक आदेश आएको छ।’
११ हजार किलो लिटर क्षमताको बाउजर जेठ दोस्रो साता टरिगाउँ एयरपोर्ट ल्याइएको थियो। रामेछापको मन्थली विमानस्थलमा पठाउने भनेर दाङ एयरपोर्टको बाउजर मगाएकाले सोही अनुसार आफूले काम गर्नुपर्ने उनले जानकारी दिए।
दाङ एयरपोर्टको बाउजर पठाएरपछि काठमाडौंको १६ हजार किलो लिटर क्षमताको बाउजर मर्मत गरेर दाङ पठाउने आश्वासन पाएको प्रमुख श्रेष्ठले बताए।
मर्मत गर्नुपर्ने भनिएको उक्त बाउजर मर्मत कहिले हुने र कहिले दाङ पठाउने भन्ने कुरा एकिन साथ भन्न नमिल्ने उनले बताए।
दाङ तुलसीपुर उपमहानगरपालिका-१२ टरिगाउँ एयरपोर्टमा यतिखेर इन्धन ट्याङ्क पनि तयारी अवस्थामा छ। जहाजका लागि आवश्यक पर्ने इन्धन भण्डारण गर्ने ट्याङ्की तयारी अवस्थामा भएपछि इन्धन रिफिलिङ गर्ने बाउजर (ट्याङकर) पनि पहिलो पटक दाङ ल्याइएको थियो।
हवाई इन्धन डिपो कार्यालय प्रमुख श्रेष्ठका अनुसार केन्द्रले चाहे सबै तयारी पुरा भइसकेकाले तत्कालै इन्धन भण्डारण भइ बाउजरबाट जहाजमा रिफिल गर्न सकिने बताए।
‘यो त केन्द्रको नीतिमा भरपर्ने कुरा हो,’ श्रेष्ठले भने, ‘हामीले भनेर मात्रै हुँदैन, केन्द्रले जे चाहन्छ त्यहीँ हुने हो।’
दाङ एयरपोर्टको लागि भनेर पहिलो पटक ल्याइएको बाउजर फिर्ता लैजान लागेपछि स्थानीयले बिरोध जनाएका छन्।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले बाउजर फिर्ता लैजान नपाइने बताएका छन्।
नेकपा एमालेका नेतासमेत रहेका खड्काले निर्वाचनको मुखमा आएर ज्यादती नगर्न गठबन्धन सरकारलाई आग्रह गरेका छन्। खड्काले अन्यथा दंगाली जनता सडकमा आउन बाध्य हुने चेतावनी दिएका छन्।
पूर्व मेयर घनश्याम पाण्डेले आफू मेयर हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लुम्बिनी पहिलो मुख्यमन्त्री शंकर पोखरेललगायतलाई गुहारेर आफूले बाउजर र इन्धन डिपो स्थापना गरेको भन्दै फिर्ता लैजान नपाउने बताएका छन्।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले पनि बाउजर फिर्ता लैजान नहुने बताए। उनले आफूले भनेर हुने ठाउँमा फोन गरेर बाउजर फिर्ता नलैजान आग्रह गरेको जानकारी दिए ।
वि.सं २०११ देखि सञ्चालनमा आएको बिमानस्थलमा दशकौं पछि आएको बाउजर पनि फिर्ता हुने हो भने एयरपोर्टको भविश्य थप अन्यौंल हुने तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं ब्यवसायी बिमल रिजालले चिन्ता व्यक्त गरे।
‘हाम्रा नेताको असली हैसियत अब थाहा हुनेछ,’ उनले भने, ‘नेताहरू कति इमान्दारी साथ एयरपोर्टको पक्षमा उभिन्छन् भन्ने अहम् कुरा हो।’
तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीले बाउजर फिर्ता लैजाने कुराको नागरिकस्तरबाटै विरोध भइरहेकाले राज्य सञ्चालकले बुझ्न जरूरी रहेको बताए।
‘आएको बाउजर फेरि फिर्ता लैजाने कुराले सबै जिल्लावासी निरास छन्,’ उनले भने,‘हैन भने यहाँ नागरिक आन्दोलन सुरू हुनसक्छ।’
टोलीले हवाई इन्धन डिपो कार्यालय दाङमा गएर बाउजार फिर्ता नलैजान आग्रह गर्दै ज्ञापन पत्र बुझाउने तयारी भइरहेको महासचिव केसीले सेतोपाटीलाई जानकारी दिए।
२०११ सालदेखि दशकौंसम्म नियमित विमान उडान भएको टरिगाउँ एयरपोर्ट २०४६ सालमा प्रजातन्त्र स्थापना पछि केही समय र नेकपा माओबादीको द्वन्द्व चरम उत्कर्षमा पुगेपछि केही वर्ष विमान सेवा बन्द भएको थियो।
लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री भएको बेला टरिगाउँ विमानस्थलको धावन मार्ग कालोपत्रे भएको थियो। ७५० मिटर लम्बाई र ३० मिटर चौडाइको धावन मार्ग भएकाले यहाँ साना (ट्विनटर) विमान मात्रै अवतरण हुन सक्छन्। विगत केही वर्ष यता यहाँ नेपाल एयरलाइन्सले उडान भर्दै आएको छ।
पछिल्लो तीन साता यो विमानस्थलमा हप्ताको तीन दिन बुधबार, बिहीबार र शुक्रबार मात्रै दैनिक उडान हुँदै आएको छ। कोरोना महामारीको समय भन्दा पहिले यहाँ दैनिक दुई उडान हुँदै आएको थियो। त्यसपछि दैनिक र पछिल्लो समय शनिबारबाहेक दैनिक उडान हुँदै आएको थियो। बिमान स्थलका प्रमुख गणेश अर्यालले एउटा बिमान बिग्रिएर ग्राउन्डेट भएपछि विमान अभावमा उडान संख्या घटाउनुपरेको जानकारी दिए।