विरोधपछि दाङ टरिगाउँ एयरपोर्टबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने प्रक्रिया तत्काललाई रोकिएको छ।
हवाई इन्धन कार्यालय दाङका प्रमुख विपिन श्रेष्ठले बिरोधपछि तत्काललाई माथिबाटै बाउजर नपठाउनू भन्ने खबर आएको सेतोपाटीलाई जानकारी दिए।
‘केन्द्रको निर्देशन अनुसार हिजो नै त्यो पठाउनुपर्ने थियो,’ उनले भने, ‘सर्वसाधारणदेखि स्थानीय सरकार, नेता सबैले बिरोध गरेपछि तत्काललाई नपठाउनू भन्ने कुरा आएको छ।’
तत्काललाई सञ्चालनमा नआइरहेको बाउजर रामेछापको मन्थली पठाउने तयारी गरिएपछि यहाँका उद्योगी, ब्यवसायी, बिभिन्न राजनीतिक दलका नेता, स्थानीय सरकार प्रमुख लगायतले विरोध जनाएका थिए।
तुलसीपुर उपमहागनरपालिकाकी उपमेयर श्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी ब्यवसायी र जनप्रतिनिधिको टोलीले टरिगाउँ एयरपोर्टमा रहेको बाउजर र इन्धन ट्यांकी रहेको गेटमा बाहिरबाट तालाबन्दी गरेको थियो।
उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको टोलीद्वारा टरिगाउँ एयरपोर्टमा तालाबन्दी
ताला लगाउन उपमेयर चौधरी, तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, महासचिव विनिल केसीलगायतको टोली टरिगाउँ एयरपोर्टमा पुगेको थियो।
तुलसीपुरका मेयर तथा एमाले नेता टीकाराम खड्का, पूर्व मेयर तथा एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डेलगायतले विरोध जनाएका थिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र कांग्रेस नेता तथा लुम्बिनी प्रदेशका ग्रामिण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले बाउजर कुनै पनि हालतमा नलैजान भनेर केन्द्रदेखि प्रदेशसम्म आ–आफ्नो तर्फबाट पहल गरेका थिए।
हवाई इन्धन कार्यालयका प्रमुख बिपिन श्रेष्ठले पनि बाउजर पठाउन तयारी गरिरहँदा आफूलाई थेगी नसक्ने फोनहरू आएको बताए।
‘अहिले चालु अवस्थामा नरहेको बाउजर अन्यत्र पठाएपछि यहाँ अर्को बाउजर ल्याउने भन्ने थियो,’ श्रेष्ठले भने, ‘हामीले यहाँका नेता र जनप्रतिनिधिलाई कुरा बुझाउन सकेनौं जस्तो लाग्यो यति दबाब आयो कि फोन नै अफ गर्नुपर्ने अवस्था आयो।’
विक्रम संवत २०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा पहिलो पटक गत जेठ महिनामा विमानमा इन्धन भर्न प्रयोग हुने बाउजर दाङ एयरपोर्टमा ल्याइएको थियो।