लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको तटबन्ध फुटेको छ।
तटबन्ध फुटेर कोसीको पानी बस्तीमा पसेपछि अहिले मानिसहरू सुरक्षित स्थानतिर लागेका छन्।
स्थानीयहरू घरमा पालेका राँगा-भैंसी, सुँगुरलगायत चौपायासहित झिटीमिटी बोकेर हिँडिरहेका छन्। डुबानमा फसेकाहरूलाई सुरक्षाकर्मीहरूले उद्धार गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ९ सय घरधुरीमा बाढी पसेको छ। ती घरका मानिसहरू स्थानान्तरण गरिएको छ। उनीहरूमध्ये केहीलाई विद्यालय, केहीलाई सामुदायिक भवनमा राखिएको छ। कोही भने आफन्तका घरमा गएका छन्।
बेलकाका मेयर अशोक कार्कीका अनुसार पुरानो टप्पु क्षेत्र सबै प्रभावित हुने देखिएको छ।
‘सबै बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने हुन्छ। अहिले भाटेपुल, दुर्गामन्दिर, एबिसी, रामनगरका सबै बस्ती उठाउनुपर्ने छ,’ उनले भने,‘ पहिले कोसी हिँडेको दुर्गामन्दिर, एबिसीलगायत रामनगर, लालभित्तीका एकदम जोखिममा रहेका बस्ती उठाइसकेका छौं।’
उनका अनुसार झन्डै २० हजार मानिसलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ।
‘बिहान ११ बजेसम्म ७ सय घरलाई सुरक्षित स्थानमा लगिसकेका छौं भने अझै १२ देखि १३ सय घर बाँकी छन्,’ मेयर कार्कीले भने,‘अहिलेलाई विस्थापितका लागि पानी, चिउरा र भुजियाको व्यवस्था गरेका छौं। भोलि बिहानदेखि सबै कुराको व्यवस्था हुन्छ।’
उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बुधबार बिहान करिब ४ बजेतिर तटबन्ध फुटेपछि सप्तकोसी नदी पुरानै धारमा फर्किएको बताए। २०४५ सालअघि सम्म कोसी यही बाटोमा बग्थ्यो।
सप्तकोसी पुरानै धारमा फर्किएपछि बेलका नगरपालिकाका १, २, ३, ८, ९ वडा तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेको प्रजिअ यादवले सेतोपाटीलाई जानकारी दिए।
चतरा पुलमुनिको ३ किलोमिटरको दूरीमा रहेको डुम्रिबोटेबाट नदीले तटबन्ध भत्काएको हो।
अविरल वर्षा भएसँगै नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा सारिएको र बाँकी रहेका बस्तीमा पनि माइकिङ गरिएकाले कुनै पनि मानवीय क्षति नभएको घटनास्थलमै रहेका प्रमुख जिल्ला अधिकारी यादवले बताए।
प्रभावित स्थानमा जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरिरहेको प्रजिअ यादवले बताए।
‘बाँध फुटेर पुरानै धारतिर कोशी बगिरहेको छ। बस्ती सार्ने काम भइरहेको छ’, प्रजिअ यादवले भने,‘ यसले उदयपुरलाई मात्र नभएर सुनसरी र सप्तरीका बस्तीलाई असर गर्ने देखिन्छ।’
उनले सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएकोसमेत जानकारी दिए।
लगातारको वर्षातका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। बुधबार बिहान सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार १२५ क्युसेक पुगेको थियो। सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ।
सप्तकोसीमा सोमबारदेखि पानीको बहाव निरन्तर बढिरहेको छ। नदीले गत वर्षदेखि पश्चिमपट्टी धार परिवर्तन गरी कटानलाई तीव्रता दिएको थियो।