लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको तटबन्ध फुटेको छ।
तटबन्ध फुटेर कोसीको पानी बस्तीमा पसेपछि अहिले मानिसहरू सुरक्षित स्थानतिर लागेका छन्।
स्थानीयहरू घरमा पालेका राँगा-भैंसी, सुँगुरलगायत चौपायासहित झिटीमिटी बोकेर हिँडिरहेका छन्। डुबानमा फसेकाहरूलाई सुरक्षाकर्मीहरूले उद्धार गरिरहेका छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारीका उदयपुरकको बेलका नगरपालिकाका १, २, ३, ८, ९ वडा तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेका छन्।
प्रजिअ अधिकारीका अनुसार यो क्षेत्रमा करिब २५०० परिवारका २० हजारभन्दा बढी जनसंख्या विस्थापित भएका छन्।
बाढी पसेको घरका मानिसहरू स्थानान्तरण गरिएको छ। उनीहरूमध्ये केहीलाई विद्यालय, केहीलाई सामुदायिक भवनमा राखिएको छ। कोही भने आफन्तका घरमा गएका छन्।
बुधबार बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
यस्तै सुनसरीको श्रीलंका टापुमा फसेका ५०० परिवारलाई उद्धार गर्ने तयारी सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले गरिरहेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारीका अनुसार श्रीलंका टापुका सबै स्थानीय सुरक्षित रहेका छन्।
यस्तै सुनसरीको बराह नगरपालिका ९ र ६ वडाका बासिन्दा पनि विस्थापित भएका छन्। विस्थापितलाई उद्धार गरि स्कुलमा राखिएको उनले बताए ।
हेर्नुहोस् तस्बिरहरू