६ महिनाअघि धरानबाट बसाइ सरेर उदयपुरको बेलका नगरपालिका-८ खयरघारी आएकी ५२ वर्षीया हरिमाया जिमी बुधबार दिउँसो ट्याक्टरमा भेटिइन्। उनी छोराछोरी बोकेर घरको सामान ट्याक्टरमा लोड गरेर बेलका-३ मा आइपुगेकी थिइन्।
‘म छोराछोरी र सक्नेजति सामान बोकेर आएँ। भाँडावर्तन, खाद्यान्न, गाईभैंसी, कुखुरा, बाख्रा सबै उतै छन्। बुढा घरमै छन्,’ जिमीले भनिन्।
उनीसँग ट्याक्टरमा अरू महिलाहरू पनि थिए।
बेलका-८ की सुन्दरमाया बस्नेतले दुई दशकदेखि यही ठाउँमा बसेको भए पनि पहिलो पटक यस्तो भएको बताइन्। २०४५ सालको भुइँचालोपछि कोसीले धार परिवर्तन गरेर पूर्वतिर गएको थियो।
‘ज्यान जोगाउन हामी छोराछोरी बोकेर आयौं। गाउँका प्राय: लोग्ने मान्छहरू घर कुरेर बस्नुभएको छ। जाऔं भन्दा पनि मान्नुभएको छैन,’ उनले भनिन्।
यसरी घर छोडेर आएकाहरूलाई रामपुरमा राख्ने व्यवस्था गरिएको छ। बाढी प्रभावित क्षेत्रका बालबालिका, बुढाबुढी, अशक्तहरूलाई सुरक्षाकर्मीले रबर बोट प्रयोग गरेर उद्धार गरेका छन्।
बेलका नगरपालिकाका १, २, ३, ८, ९ वडा प्रभावित भएका छन् भने सुनसरकी बराह नगरपालिकामा पर्ने श्रीलंका टापुमा पाँच सय परिवार पनि प्रभावित भएका छन्। सुनसरीका प्रमुख ईन्द्रदेव यादवले श्रीलंका टापुका मानिसहरूले घर छोड्न नमानेको बताए।
‘उहाँहरू पनि जोखिममा हुनुहुन्छ। तर बस्तुभाउ र सरसामानको मायाले होला घर छोड्न मानिरहनुभएको छैन,’ यादवले भने,‘हामी नियमित सम्पर्कमा छौं। जोखिम बढ्दै गएपछि सुरक्षाकर्मी परिचालन गरेर उद्धार गर्छौं।’
स्थानीयहरूले कोसीमा पानीको सतह बिहानभन्दा बढिरहेकाले जोखिम थपिएको बताएका छन्।