'बाह्र वर्षमा खोलो फर्किन्छ' भन्ने सुन्दै आएका उदयपुर, बेलका नगरपालिका बासिन्दाको थातथलोमा सप्तकोशी ३४ वर्षपछि फर्किएको छ।
२०४५ सालमा कोशीले धार परिवर्तन गरेपछि पसिना र श्रम खर्चेर आवादीयुक्त बनाएको ठाउँमा बुधबार नदीको बहाव आयो। यसले बेलका नगरका पाँच वटा वडा र सुनसरी बराहक्षेत्रका दुई वटा वडा सोहोर्यो। बेलकाका वडा नम्बर १, २, ३, ८ र ९ अनि बराहक्षेत्रका वडा ९ र ६ का हजारौं बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्।
मंगलबार साँझसम्म आँखाले देख्न भ्याए जति ठाउँमा लहलहाउँदो भएर हुर्किँदै गरेको धान खेती देखिन्थ्यो। बुधबार बिहान अधिकांश धान खेतमा कोशीको पानी लबालब छ। घरमा बाँधिएका चौपाया ड्वाँड्वाँ कराइरहेका छन्। तिनलाई घाँस-पराल हाल्ने अवस्था छैन। कुखुरा, सुँगुर, बाख्रा खोरैमा थुनिएका छन्। तिनलाई आहारा दिनेहरू आफ्नै ज्यान बचाउन सुरक्षित ठाउँ खोज्दै निस्केका छन्।
'घरमा बाँधेका वस्तुभाउको विजोग भयो,' ढाडमा डेढ वर्षे नाति च्यापेर प्रहरीको रबरबोट (सानो डुंगा) मार्फत सुरक्षित स्थानमा आइपुगेकी मनकुमारी राईले भनिन्, 'हामी त जोगियौं, ती गाईवस्तुको के हुने होला?'
यसो भनिरहँदा उनका आँखा डम्म भरिएका थिए।
उनलाई उद्धार गरेर ल्याएका प्रहरी सान्त्वना दिँदै थिए- दिदी कम्तीमा ज्यान बच्यो। यही ठूलो कुरा हो। यसैमा सन्तोक मान्नु!
प्रहरीको सान्त्वनाले उनको मन के मान्थ्यो!
नजिकै रहेका जनप्रतिनिधिको टोलीलाई उनी गुनासो गर्दै थिइन्। सकेसम्म चौपाया पनि ल्याइदिने आश्वासन जनप्रतिनिधिले दिए।
उनीहरूले आश्वासन दिए पनि यहाँ मान्छेलाई नै घरबाट निस्किन सजिलो छैन। आफ्नै घरबाट बाहिर निस्किन रबरबोट प्रयोग गर्नुपर्ने अवस्था छ। घर नजिकै मान्छे डुबाउने गरी पानी भरिएको छ। पानी बगेर जाला भन्ने आशा गरेकाहरू झन्झन् थपिएपछि आत्तिएर आफैं भाग्ने अवस्थामा पुगेका छन्।
'खोला १२ वर्षमा फर्किन्छ भन्थे, यहाँ अलि ढिलो फर्कियो,' बेलका-३ का वडा सदस्यसमेत रहेका फाल्गुन कार्कीले भने, 'हाम्रो सर्वस्व लाने गरी फर्कियो। कहिलेसम्म यस्तो अवस्था रहन्छ, थाहा छैन।'
२०४५ सालको भूकम्पपछि धार परिवर्तन गरेको सप्तकोशी नदीको एउटा भंगालो बुधबार बिहानै गाउँ पस्दा यहाँका हजारौं सर्वसाधारणको उठिबास लागेको छ। दशकौं लगाएर जोरजाम गरेको सिरिखुरी माया मारेर उनीहरू ज्यान बचाउन सुरक्षित स्थलतर्फ लागेका छन्।
'खोला गाउँ पसेपछि बसिसक्ने स्थिति नै भएन,' बेलका-३ को सुरक्षित स्थानमा आइपुग्नेहरूको एकैजसो स्वर थियो, 'आउन त आइयो, अब घर फर्किन पाइने हो कि होइन, थाहा छैन।'
घरमा भएका सामान पोको पारेर ट्रयाक्टरमा लोड गर्दैगर्दा भेटिएकी बेलका-३ की चन्द्रकला राउतको चिन्ता पनि उस्तै थियो।
'अहिले केही दिनलाई त रामपुरमा बहिनीको घर छ, त्यतै बसौंला,' घरनजिकै खोला आइपुग्दा आत्तिएकी उनी भन्दै थिइन्, 'तर अब यत्रो घरबार छाडेर हिँडिएको छ, कहिले घर आउन पाइने हो, केही टुंगो भएन।'
बुधबार राति अबेरसम्म पनि घर छाड्नेहरूको लर्को छ। उनीहरू सबैको मनमा घर जमाएर बसेको प्रश्न भने एउटै छ- हामी कहिले फर्किन पाउँछौं होला?
यसको उत्तर सम्भवतः कोहीसँग छैन।
'कोशीको यो भंगालो अब सधैंलाई यता पसेको जस्तो देखिन्छ,' बेलकाका मेयर अशोक कार्की भन्छन्, 'सानो भए पो पानी घटेर सुक्ला भन्ने आश गर्नु। ज्यादै ठूलो छ। यो यसै सुक्ने अनुमान गर्न कठिन छ।'
मेयर कार्कीका अनुसार धार बदलेको कोशीले बेलकाका ५ र बराहक्षेत्रका २ गरी सात वडा पूरापूर प्रभावित भएका छन्। कोशीमा पानीको सतह बढ्दै जाँदा यो भंगालोमा पनि पानीको सतह थपिँदो छ।
'यो भंगालो मात्रै होइन, यसैगरी पानी थपिँदै जाने हो भने कोशीको मूल भंगालो नै गाउँबाट बग्ने त्रास बढेको छ,' मेयर कार्कीले भने, 'नदी यसैगरी गाउँतिर बढ्दै गयो भने यी सात वडा सधैंका लागि कोशीको घेरामा पर्ने निश्चित छ।'
गहिरो डोबससिहत कोशीको भंगालो गाउँतिर सोझिएकाले अब त्यसलाई मानवीय प्रयासले पुरानै धारमा फर्काउन गाह्रो हुने स्थानीयबासी बताउँछन्।
'नहर जत्रो भए पो फर्काउन सकिन्छ कि भन्नु, खोला नै पसेको छ,' बेलकाकै स्थानीयबासी कुमार राउतले भने, 'गाउँतिर सोझिएको भंगालो ज्यादै गहिरो छ। पानी पनि ठूलो छ। अब यो सधैंलाई पसेजस्तो देखिन्छ।'
लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोशीको तटबन्ध फुट्दा नदी गाउँतिर सोझिएको थियो। बुधबार दिनभर बाढी प्रभावित क्षेत्रमा रहेका प्रदेश १ का आन्तरिक मामिलामन्त्री केदार कार्कीका अनुसार यो क्षेत्रमा करिब २५०० परिवारका २० हजारभन्दा बढी जनसंख्या विस्थापित भएका छन्।
उनीहरूमध्ये केहीलाई विद्यालय, केहीलाई सामुदायिक भवनमा राखिएको छ। कोही भने आफन्तका घरमा गएका छन्। सुनसरीको श्रीलंका टापूमा फसेका ५०० परिवारका सदस्य भने अहिलेसम्म गाउँमै छन्। उनीहरू अग्लो ठाउँमा भएकाले आफूहरू सुरक्षित रहेको बताइरहेका छन्।
मन्त्री कार्कीले पानीको सतह नघटेसम्म उद्धारबाहेक अरू केही गर्न सक्ने अवस्था नभएको बताए।
बुधबार साँझसम्ममा कोशीको पानी बेलकाकै भागलपुर क्षेत्रसम्म पुगेको सूचना आएको मन्त्री कार्कीले जानकारी दिए।
'उद्धारको काम रातैभरि चल्नेछ,' उनले भने, 'प्रदेश सरकारले खाद्यान्न, अन्य सामग्री आपूर्ति गरिसकेको छ।'
अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको जनाउँदै उनले राहत र उद्धारमा कुनै कमी हुन नदिने दृढता व्यक्त गरेका छन्।