कोसी टप्पु वन्यजन्तु आरक्षले आफू नभएको मौका छोपेर जग्गा कब्जा गरिदिने त्रासकै कारण कोसी बाढीमा फसेका सयौं सर्वसाधारण ज्यान माया मारेर घरखेत रूघेर बसेका छन्।
३४ वर्षपछि धार बदलेर कोसीको भँगालो गाउँ पसेपछि उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ नम्बर वडा तथा सुनसरीको बराहक्षेत्र नगरपालिकाको ६ र ९ नम्बर वडाका २५ सय परिवार प्रत्यक्ष प्रभावित भएका छन्। गाउँतिर सोझिएको भँगालोको पानी झनै बढे पनि सयौं स्थानीयवासी घर छोड्न मानिरहेका छैनन्।
‘घर छोडेर हिँडेको बेला आरक्षले आफ्नो टेरिटोरी बढाउन जग्गा कब्जा गर्ला भन्ने त्रास धेरैमा देखियो’, बेलका नगरपालिका मेयर अशोक कार्कीले सेतोपाटीसँग भने, ‘त्यहीँ त्रासले ज्यानको पर्वाह नगरी सयौं गाउँले घरैमा छन्। उद्दार गर्छौ भन्दा पनि मानेका छैनन्।’
सरकारले श्रीलंका टापु, बेलका जंगल करिडोर जोडेर कोशीटप्पु बन्यजन्तु आरक्षको क्षेत्रफल बढाएर राष्ट्रिय निकुञ्ज बनाउने तयारी गर्दै आएको छ।
यसका लागि ऐलानी जग्गामा बसेका सर्वसाधारण सबैभन्दा ठूलो बाधक देखिएका छन्।
बाढीको प्रभावले घरबार छोडेर हिँड्दा आरक्षणले जग्गा हडप्ने मौका पाउने त्रास स्थानीयलाई छ।
वन मन्त्रालय र निकुञ्ज विभागले विगतमा पनि आरक्षलाई विस्तार गर्न धेरै पटक अध्ययन गरिसकेका छन् । उत्तरतिर उदयपुरको त्रियुगा क्षेत्र र दक्षिणमा कोसी बाँधसम्म विस्तार गर्ने मन्त्रालयको योजना थियो ।
मेयर कार्कीका अनुसार गाउँमा जोखिम झनै बढेको अवस्था छ। पानी टम्म भरिएर जोखिम बढेको अवस्थामा पनि धेरैले घर छाड्न अस्वीकार गरिरहेका छन्।
‘घर छाड्न नमानेकाहरू सबैभन्दा धेरै बेलका क्षेत्रका छन्। बराहक्षेत्रका पनि उत्तिकै छन्। दुवैतिरका मान्छे घर छाडन मानेका छैनन्,’ मेयर कार्कीले अगाडि भने, ‘उनीहरूसँग सम्पर्कमा त छौं, यदि जोखिम एकैपटक भयो भने उद्धारमा कठिनाइ हुनसक्छ।’
बेलका ८ को डुम्म्रीबोटेमा निर्माणाधीन तटबन्ध भत्काएर गाउँतिर सोझिएको कोसीको भँगालो रातभरिमा झनै बढेको स्थानीयबासी बताउँछन्। पानी झनै बढेपछि रातभर उद्धार जारी रहेको बेलकाका नगर प्रमुखले जानकारी दिए। रातभर उद्धार गरिएकाको संख्या यकिन भइ नसकेको उनले बताए।
जिल्ला प्रशासन तथा प्रहरीले कोसीमा पानीको सतह घटेको बताइरहेका छन्। तर, बाढी प्रभावित क्षेत्रका सर्वसाधारण भने गाउँतिरको भँगालोमा झनै पानी बढेको बताउँछन्। ‘कोसी ब्यारेजतिरको पानी घटेर गाउँतिर सोझिएको छ’ , बेलका ३ का वडा सदस्य फाल्गुन कार्कीले भने, ‘भँगालोको मुख ३ सय मिटर भन्दा लामो भइसकेको छ।’
मेयर अशोक कार्कीले पनि भँगालोको मुख झनै फराकिलो भएको बताए।
गाउँतिर सोझिएको भँगालोको पानी बेलकाको भागलपुर हुँदै पुरानो त्रियुगामा मिसिएको छ। यसले सप्तरीका कन्चनरूप, सप्तकोसी लगायतका स्थानीय तहमा जोखिम बढाएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिएको जानकारी अनुसार अहिले बिहान ८ बजे सप्तकोसीमा पानीको बहाव २ लाख १९ हजार १२५ क्युसेक मापन भएको छ। यसअघि बिहान ६ बजे २ लाख २८ हजार २५ क्युसेक मापन भएको थियो।
यो पनि हेर्नुहोस्