रिस एक किसिमको भावनात्मक अवस्था हो। मान्छेको विभिन्न भावनात्मक अवस्था हुन्छन्। कहिले मान्छे दुःखी हुन्छ, कहिले हाँस्छ, कहिले अत्तालिन्छ त्यो नै रिस एउटा भावना हो। यो सामान्य हो। यो प्राकृतिक हिसाबलेनै उत्पन्न हुन्छ।
हामीले हरेक दिन धेरै कुरा अनुभूति गरिरहेका हुन्छौं। अनुभूति गर्ने क्रममा विभिन्न किसिमको भावनात्मक अवस्था पनि त्यहीँ हिसावले उत्पन्न भइरहेको हुन्छ।
कुनै परिस्थिति अथवा कुनै घटनालाई हामीले आँकलन गर्ने क्रममा अथवा त्यसको अर्थ लगाउने क्रममा आफूमाथि त्यस्तो अन्याय भएको अनुभूति भएमा रिसको भावना उत्पन्न हुनसक्छ।
रिस सबै जनामा हुन्छ। कतिपय अवस्थामा सामान्य र स्वस्थ्य मानिन्छ। किनभने रिस आन्तरिक रूपमा अनुभूति हुने अवस्था हो। तर कतिपय अवस्थामा रिसको भावना व्यवहारमा परिणत हुन थाल्यो, रिसले हामी आक्रामक हुन थाल्यौं, आफैंलाई चोट पुर्याउने अथवा अरूलाई आघात पुर्याउने काम गर्यौं भने त्यो रिसलाई हामीले नराम्रो तरिकाले हेर्छौ जसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ।
रिसको व्यवस्थापन हामीले हाम्रो जीवनमा घटिरहेका कुरालाई कसरी आँकलन गर्छौ त्यसमा भर पर्छ। यो सबै चिज हाम्रो सोचाइमा सम्बन्धित छ। सबैभन्दा पहिला हामीले हाम्रो विचारलाई व्यवस्थापन गर्न सिक्नुपर्छ।
रिस भनेको के हो भनेर आफ्नै परिप्रेक्ष्यमा बुझ्न थाल्यौं भने यसलाई व्यवस्थापन गर्न सकिन्छ। रिस व्यवस्थापन गर्ने विभिन्न किसिमका पद्धति हुन्छन्। रिस उठ्ने कुनै परिस्थिति उत्पन्न भयो भने एकछिन आफूले आफैलाई रोकौं।
आफ्नो दिमागमा आएको विचारलाई आँकलन गरौं। हुनत यो निकै जटिल प्रक्रिया हो। तर निरन्तर प्रयास गर्दा यो सम्भव छ।
कहिलेकाहीँ हामीले बदलाको भावना लिएका हुन्छौं। कहिले अरुलाई दोष दिन्छौं, कहिलेकाहीँ अरूलाई गलत मूल्यांकन गर्छौ। यी सबै सोचाइका त्रुटी हुन्।
यस्तो अवस्थामा आफूले आफैलाई मूल्यांकन गर्नुपर्छ। यस्तो सिप सिक्न पनि सकिन्छ। मनोविद् र मानसिक रोग विशेषज्ञको सहयोगमा यो सिप सिक्न सकिन्छ। रिस उठ्ने कुनै अवस्था छ भने सबैभन्दा पहिला त्यहाँबाट उठ्नुपर्छ।
श्वासप्रश्वासको अभ्यास गर्न सकिन्छ। शुन्यदेखि १० सम्म गन्न सकिन्छ। अथवा उल्टोबाट गन्न सकिन्छ। नियमित व्यायम गर्न सकिन्छ। मनपर्ने खालको गीत सुन्न सकिन्छ।
कतिपय अवस्थामा मुखले व्यक्त नगरी मनमा आएको कुरा लेख्न सकिन्छ। कविता कथा अथवा आर्ट गरेर पनि रिसको भावना नियन्त्रण गर्न सकिन्छ।
रिस धेरै उठ्यो भनेर कतिले लागूपदार्थको प्रयोग गरेका हुन्छन्। त्यो झन् प्राणघातक हुन्छ।
डिप्रेसन, एन्जाइटी लगायतका मनोरोगको समस्यामा परेकालाई रिस उठिरहेको हुन्छ। यस्तो बेलामा रिस नियन्त्रण गर्न नसकिने अवस्था आउँछ। त्यस्तो भएमा उपचारमा जानुपर्ने हुन्छ।
रिस मानसिक समस्या भएमा मात्र उठ्छ भन्ने होइन। सामान्य अवस्थामा पनि मान्छे रिसाउँछ। कडा किसिमका मानसिक रोगमा तर्कहिन खालका सोचाइ उत्पन्न भएको अवस्थामा धेरै समयसम्म रिस उठ्छ।
सामान्यतया रिस थोरै समयमा सकिन्छ। तर त्यो रिस धेरै समयसम्म रहन थाल्यो। त्यो रिसको बदलमा भौतिक रुपमा मान्छे उत्रिन थाल्यो भने त्यसलाई उपचार गर्नुपर्छ।
कस्तो अवस्थामा रिस सामान्य हो र कस्तो अवस्थामा असामान्य हो भन्ने छुट्याउन मानसिक रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ।
रिस व्यवस्थापनको पूर्व तयारी समेत गर्न सकिन्छ। बिहान उठेदेखिनै रिस व्यवस्थापनको पूर्व तयारी गर्न सकिन्छ।
बिहानको समयमा १५ देखि २० मिनेट व्यायम गर्न सके धेरै हदसम्म रिसलाई नियन्त्रण गर्न सकिन्छ।