अविरल वर्षा सँगै आएको बाढीले काठमाडौंका उपत्यकाका नदी किनार आसपासका बस्ती डुवानमा परेका छन्। काठमाडौं र भक्तपुर बीच भएर भग्ने मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ ।
बाढीले टहरामा भएका घरायसी सामग्री बगाएको छ । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ । मनोहरा खोला नजिक रहेका बङ्गुर तथा कुखुरा फार्मसमेत बाढीले बगाएको छ । बाढीले मानवीय क्षति गरेको छैन ।
यस्तै प्रहरी प्रभाग काँडाघारीको भवन पनि डुबानमा परेको छ । कार्यालय भवनको एक तल्लाको पुरै भाग डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बगाएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले मध्यपुरथिमि नगरपालिका–१ र २ का मनहरा नदीको सुकुम्वासी बस्तीमा भएको डुबानमा क्षतिको विवरण संकलन कार्य भइरहेको बताए। उनले बस्तीमा लत्ताकपडा, खाद्यान्न र अन्य सामानमा क्षति पुगेको, पशु चौपाया बगाएको तर मानवीय क्षति भने नभएको बताए।
उनले मनोहरा नदी किनारामा दिव्यश्वरी प्लानिङमा बस्ने अम्मर लामाको बङ्गुरफार्मबाट प्रहरीले पाँस सय हाँस, दुई सय बङ्गुर र दुईवटा गाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए। त्यस्तै मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खस्दा खोलाको धार परिवर्तन भई ८० घरटहरामा पानी पसेको जानकारी दिए।