काठमाडौंको बालाजु बाइपासस्थित जुत्ता कारखानामा बिजुली सर्ट हुँदा आगलागी भएको खुलेको छ।
बुधबार दिउँसो पौने १२ बजे श्रीराम पाण्डेले सञ्चालन गर्दै आएको वान वर्ल्ड फुटवेयर प्रालिमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार अहिले कारखानामा लागेको आगलागी नियन्त्रणमा आइसकेको छ। तर अग्नि नियन्त्रकहरूले अझै पनि आगो बाँकी छ कि भनेर हेरिरहेको प्रहरी उपरीक्षक मैनालीले बताए।
उनले आगलागी बिजुली सर्ट भएर लागेको बताए।
‘बिजुली सर्ट भएर आगलागी भएको रहेछ,’ उनले भने।
सञ्चालकले १० हजार जोर जुत्ता तयारी अवस्थामा रहेको प्रहरीलाई जानकारी गराएका छन्। यद्यपि अरू क्षति विवरण आइसकेको छैन।
आगो निभाउन काठमाडौं, ललितपुर, भक्तपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दमकल प्रयोग भएका छन्।
यस्तै, पानीको लागि २० वटाभन्दा बढी पानी ट्यांकरसमेत प्रयोग भएका थिए।
आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विभिन्न निकायका टोली खटिएका छन्।
सेनाको एक नम्बर बटालियन, जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त बालाजु, महाराजगञ्ज, स्वयम्भू लगायतको टोली खटिएका छन्।
परिसरबाट प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहरा, प्रहरी उपरीक्षक दिनेशराज मैनाली सहितको टोली पनि खटिएको थियो।