कस्तो हुन्थ्यो होला, हामीसँग 'टाइम ट्राभल' गरेर वर्तमानबाट अतीतमा फर्किने शक्ति भइदिएको भए!
हामी लिच्छवि वा मल्ल राजाले काठमाडौं उपत्यकामा मन्दिर, दरबार वा पोखरी निर्माण गराइरहेको दृश्य आफैं उपस्थित भएर हेर्ने थियौं।
मन्दिर परिसरमा राजपरिवारका सदस्यले गरेको यज्ञ होस् वा प्राचीन कालमा काठमाडौंले मनाउने सांस्कृतिक पर्वहरू होऊन्, हामी सशरीर त्यसमा सरिक हुन्थ्यौं।
परिवार र पाटनका छरछिमेकसँग विदा भएर अरनिको तिब्बत जाँदै गरेका बेला हामी पनि सँगसँगै यात्रामा हिँड्थ्यौं।
जयस्थिति मल्ललाई काठमाडौं भित्र्याएर राजाका रूपमा स्वागत गर्दा फूल बर्साउने टोलीमा हामी पनि उभिन्थ्यौं।
पृथ्वीनारायण शाहले काठमाडौं हमला गर्दा के-के भए? कति रगत बगे? ती सबै दृश्य आकाशमा चराझैं तैरिँदै प्रत्यक्ष नियाल्ने थियौं।
जंगबहादुर राणाले कोतपर्व गरेर शासन हत्याएको क्षण हामी प्रत्यक्षदर्शी हुन्थ्यौं।
कस्तो हुन्थ्यो होला, आजको काठमाडौंबाट फुत्त निस्केर पाँच सय, हजार वर्ष पुरानो काठमाडौं भोग्न पाएको भए!
कस्तो हुन्थ्यो होला!
हामीसँग यसरी 'टाइम ट्राभल' गर्ने दैवीशक्ति छैन। हामी अतीतलाई इतिहासमा पढ्न मात्र सक्छौं। विज्ञानले अहिलेसम्म हामीलाई वर्तमानबाट निकालेर अतीतमा पुर्याउने यन्त्र विकास गरेको छैन।
तर इतिहासको कथा र विज्ञानको आविष्कारबीच पनि एकथोक छ जसले हामीलाई वर्तमानमै बसीबसी विगतमा पुर्याउँछ। विगतका घटनाक्रम अप्रत्यक्ष रूपमा भए पनि हामीलाई नजर गराउँछ। हामीलाई इतिहासको साक्षी बनाउँछ।
इतिहास र विज्ञानबीचको त्यो एकथोक हो, चित्रकारको क्यानभास। जुन क्यानभासमार्फत् ऊ अतीतको कुनै घटनालाई टपक्क टोपेर वर्तमानमा हाम्रोसामु ल्याइदिन्छ।
हामी त्यही क्यानभासमा टेकेर अतीततर्फ उडान भर्न सक्छौं।
हरिप्रसाद शर्मा त्यस्तै चित्र-इतिहासकार हुन् जो इतिहासका अध्येताहरूले गहन खोज गरेर निकालेको शब्दचित्रमा कल्पनाको रङ भर्छन्। ऐतिहासिक क्षणहरूसँग जोडिएका विषयवस्तु मिहिन केलाउनु र त्यसलाई चित्र र रङका माध्यमबाट क्यानभासमा उतार्नु ८५ वर्षीय शर्माको विशेषता हो।
हरिप्रसादले आफ्ना अनगिन्ती पेन्टिङबाट छानेर नेपालको इतिहास, संस्कृति र जनजीवन झल्काउने ८८ वटा चित्रकलाको संग्रह पुस्तक प्रकाशन गरेका छन्। 'समयक्रममा नेपाल' शीर्षकको उक्त पुस्तक छिट्टै सार्वजनिक गर्ने तयारी हुँदैछ।
पुस्तक हेर्दा यस्तो लाग्छ, मानौं त्यो पेन्टिङको संग्रह होइन, विज्ञानले आविष्कार गर्न नसकेको 'टाइम मसिन' हो।
आफ्नो जीवनभरको कलापुँजी किताबका रूपमा पस्कन लागेका चित्र–इतिहासकारलाई भेट्न हामी केही दिनअघि उनको घर चाबहिल पुगेका थियौं।
घरको नाम, राधा चित्रशाला जुन हरिप्रसादकी दिवंगत श्रीमती राधाको नाममा राखिएको हो। मूलगेटमा उनका छोरा विष्णुप्रसाद शर्मा हामीलाई पर्खिरहेका थिए। भित्र प्रवेश गर्नुअघि उनले बाहिरबाटै घरको आवरण देखाए। पुरानो नेवाः शैलीका आँखीझ्यालसहितको घर हरिप्रसादको पेन्टिङजस्तै देखिन्थ्यो।
हामी विष्णुप्रसादलाई पछ्याउँदै माथिल्लो तलामा उक्लियौं।
'यो बुवाको ग्यालरी,' पहिलो तलामा भित्ताभरि टांगिएका पेन्टिङ देखाउँदै विष्णुले भने।
ग्यालरीमा कतै गौतम बुद्धका जीवनकथा छन्। कहीँ लिच्छवि, मल्ल र राणाकालका घटनाक्रम सजीव भएर आउँछन्। कतै जात्राको रौनक, कतै प्राचीन काठमाडौंको जनजीवन।
इतिहासका मसिना विवरणहरू मालाझैं उनिएका प्रत्येक चित्र यस्ता छन्, जसलाई केही बेर नहेरी र तिनको कथामा केही बेर नहराई धर पाइन्न।
विष्णुप्रसादले हामीलाई इतिहासबाहेकको एउटा फरक पेन्टिङ पनि देखाए, जसमा सिक्लेसको गुरूङ बस्तीको झलक छ। जहाँ एक भेँडीगोठाला ओठ चुच्चो पारेर मगनमस्त सिठ्ठी फुक्दै छन्।
हरिप्रसादलाई एकचोटि केही शुभचिन्तकले 'खाली काठमाडौं र इतिहासको पेन्टिङ मात्र किन गर्नुहुन्छ' भनेछन्। सिक्लेसको चित्र त्यसैको जवाफ हो। तीन वर्षअघि उनले छोराबुहारीसहित अन्नपूर्ण क्षेत्र, सिक्लेस, ताङतिङ र बेगनास भ्रमण गरेका थिए। पेन्टिङमा देखिने दृश्य हरिप्रसादले त्यही बेला टिपेर ल्याएका हुन्।
भित्ताभरि सजिएका पेन्टिङ हेर्दै र त्यसको कथा पढ्दै, सुन्दै हामी घरको चोटामा पुग्यौं जहाँ हरिप्रसादको कोठा छ, जहाँ उनी कला साधना गर्छन्।
चित्र कोर्न चाहिने क्यानभास, रङ, कुची लगायत सामग्रीहरूले कोठा भरिएका छन्। कुनामा एउटा पलङ छ। हरिप्रसाद चित्र कोर्दाकोर्दै जब थाक्छन्, ढाड दुखेर लखतरान हुन्छन्, एकछिन त्यही खाटमा पल्टिन्छन्। आँखा चिम्लेर कल्पनामा डुब्छन्। झट्ट केही सम्झन्छन्। उठ्छन्, फेरि रङमा कुची चोबेर क्यानभासमा हराउँछन्।
कोठाबाहिर फराकिलो कौसी छ। पशुपतिनाथ मन्दिरसम्म फैलिएको गुजुम्म बस्ती आरपार देखिने त्यही कौसीमा बसेर हरिप्रसादले हामीलाई चित्रसँगको आफ्नो इतिहास सुनाए।
चित्रसँग उनको चिना जोडिनुका दुइटा संयोग छन्।
हरिप्रसादको पुर्ख्यौली घर गोकर्णथली हो। उनका बुवा काठमाडौंको लगनमा रहेको मावली बस्न आएका थिए, यतैका भए। हरिप्रसादको जन्म लगन टोलमै भयो। यहीँका गल्लीहरूमा खेल्दै-कुद्दै, जात्रापर्वहरूमा रमाउँदै, यहाँका कथा र किम्बदन्तीहरू सुन्दै उनी हुर्के।
उनी काठमाडौंको नेवार सभ्यतामा यस्तरी घुलिए, यहाँको संस्कृति, रहनसहन र रीतिथिति उनको आफ्नै भयो।
नौ, दस वर्षको कलिलो उमेरमा पहिलोचोटि कुची समात्दा पनि उनी यतैको रहनसहन झल्किने चित्र उतार्थे। नाग पञ्चमी बेला नागको चित्र बनाउँथे, लक्ष्मीपूजा आउँदा लक्ष्मी बनाउँथे।
हरिप्रसादका हजुरबुवा ज्योतिष थिए। उनलाई नातिले चित्र बनाएको चित्त बुझेको थिएन। यो पेसामा भविष्य छैन भन्दै उनी नातिलाई सम्झाउँथे, 'यो त पु (पुण्यकार/चित्रकार) हरूले गर्ने काम हो बाबु। यस्तो काम गरेर त खान पाइन्न। बाहुनको छोराले त वेद पढ्नुपर्छ, गीता पाठ पो गर्नुपर्छ।'
त्यति बेला हरिप्रसादले हजुरबुवाको सल्लाह मानेका भए आज हामी इतिहाससँग कसरी साक्षात्कार हुन्थ्यौं!
धन्न उनले मानेनन्।
उनलाई बुवाको भने सधैं साथ र सहयोग रह्यो।
छोराको चित्र देखेर फुरूंग पर्दै उनका बुवा राणाजीहरूका दरबारमा देखाउन जान्थे। राणाहरूले चित्र लिएर पाँच–दस पैसा दिन्थे र भन्थे, 'ल यो छोरालाई लगेर देऊ।'
कहिलेकाहीँ हरिप्रसाद छुट्टीमा मामाघर जान्थे- नुवाकोट। रङ र कुची साथै हुन्थे। उनी मामाघरको भित्ता र आँगनलाई क्यानभास बनाउँथे। काठमाडौंलाई 'नेपाल' भन्ने उनका मामा–माइजू हरिप्रसादको तारिफ गर्दै भन्थे, 'नेपालबाट आएका भान्जाले कति राम्रो चित्र बनाएको।'
यस्ता तारिफका खुड्किलाले हरिप्रसादलाई अगाडि बढ्न सिँढीको काम गर्यो।
चित्रसँगको लगाव देखेर हरिप्रसादलाई उनका बुवाले कलाकार जीवरत्न शाक्यसँग सिक्न पठाए। यसले उनको सीप तिखार्न मद्दत गर्यो। त्यसपछि एघार वर्षको उमेरमा उनले तत्कालीन जुद्धकला पाठशाला (हालको ललितकला क्याम्पस) मा कलाबारे अझ विस्तारमा अध्ययन गरे।
यसरी आफ्नो बुवा गोकर्णको पुर्ख्यौली थलो छाडेर लगन सर्नुलाई हरिप्रसाद चित्रसँग चिना जोडिनुको पहिलो संयोग मान्छन्।
'गोकर्णमा जन्मेर उतै हुर्केको भए काठमाडौंको नेवार संस्कृति र सभ्यता चिन्न पाउँदैन थिएँ,' उनले भने, 'यहाँको नेवार संस्कृति र सभ्यता नचिनेको भए चित्रकलातर्फ मेरो रूचि नै जाग्दैनथ्यो कि!'
के बेर!
दोस्रो संयोग अलि पछिको हो जब हरिप्रसाद पेन्टिङ गर्न थालिसकेका थिए। तर एउटा कारणले उनको साधनामा ब्रेक लाग्यो।
२०३० सालतिरको कुरा हो। हरिप्रसादले दुई-तीन वर्ष मिहिनेत गरेर बनाएका ११-१२ वटा पेन्टिङ एक जना परिचित व्यक्तिले बिक्री गरिदिन्छु भनेर लगे तर न पैसा दिए न चित्र फिर्ता गरे।
उनले आफ्नो पेन्टिङ फिर्ता ल्याउन धेरै प्रयास गरे, सकेनन्।
त्यो घटनाले चित्रकलाप्रति नै उनको मोहभंग गरिदियो। हजुरबुवाले भनेजस्तै उनले चित्रकलामा भविष्य देख्न छाडे।
उनी रन्थनिएर तत्कालीन शाही नेपाल वायुसेवा निगममा जागिरे भए। उनी जहाजको ज्यानमा रङ भर्थे। निगमको लोगो बनाउँथे। भित्ता रङरोगन पनि गर्थे। छोटोमा भन्दा, उनी निगमका पेन्टर थिए।
लगभग २२ वर्ष उनले क्यानभाससँग नाता तोडे।
निगमको जागिरले हरिप्रसादलाई छोराछोरी हुर्काउन, पढाउन-लेखाउन त सजिलो भयो तर उनीभित्रको कलाकारले सास लिन पाएन। उनी भित्रभित्रै गुम्सिन्थे। जाँचमा फेल भएको विद्यार्थीझैं छट्पटाउँथे। घाइते पन्छीझैं फड्फडाउँथे। तर मनको उकुसमुकुस तोडेर फेरि क्यानभासमा लुट्पुटिन सकेका थिएनन्।
हरिप्रसादलाई फेरि चित्रकलामा फर्काउन सायद दोस्रो संयोगको खाँचो थियो।
२०५२ सालमा हरिप्रसादकी श्रीमती राधाको निधन भयो। पत्नीवियोगले मर्माहत हरिप्रसादलाई पीडा भुलाउन चित्रकलाको बाटो देखाए उनकै छोरा विष्णुले।
'लामो समयदेखि रङ र क्यानभासबाट टाढा रहेकाले मलाई सुरूमा त फेरि पेन्टिङ गर्न सक्दिनँ कि भन्ने दुबिधा थियो,' हरिप्रसादले भने, 'तर छोराले अनवरत घच्घच्याइरह्यो।'
उनले अगाडि भने, '२०५२ सालपछि मैले जे-जति पेन्टिङ बनाएँ, ती सबै हामी बाबुछोराको सहकार्यको परिणाम हो। अरू बुवाले आफ्नो छोरालाई बाटो देखाउँछ, म यस्तो भाग्यमानी बुवा हुँ जो आफू हराइरहेका बेला छोराले बाटो देखायो।'
हरिप्रसादको यही भनाइमा विष्णुले आफ्नो कुरा थपे, 'बुवालाई फेरि पेन्टिङ गर्न सक्दिनँ कि भनेर आफूप्रति विश्वास थिएन। तर म चाहिँ उहाँले गर्न सक्नुहुन्छ भन्नेमा विश्वस्त थिएँ। उहाँलाई कसरी प्रेरित गर्ने र कसरी अगाडि बढाउने भनेर मैले बाटो देखिसकेको थिएँ।'
विष्णुले बाटो बनाउँदै गए, हरिप्रसाद त्यही बाटोमा हिँड्दै गए।
जुन छोरालाई हुर्काएर आज पाटन क्याम्पसमा अर्थशास्त्र पढाउने हैसियतमा पुर्याए, त्यही छोराले देखाएको बाटो पछ्याउँदै हरिप्रसादको दोस्रो इनिङ सुरू भयो।
त्यति बेला पत्नीवियोगमा डुबेका हरिप्रसादलाई छोराको साथ नभइदिएको भए चित्रकलामा फेरि उनको लगाव फर्किँदैनथ्यो कि!
के बेर!
यो त भयो उनी रङसँग रमाउनुका दुई संयोग।
हामीले त्यसपछि उनको चित्रका विषयवस्तु र शैलीबारे कुरा गर्यौं।
हरिप्रसादले सुरूमा मुहारचित्र र प्राकृतिक दृश्यचित्रहरू खुब बनाए। २०१६ सालमा जुद्धकला पाठशालाबाट 'कलाकुशल' डिग्री पास गरेपछि उनलाई इतिहासमा चाख बढ्यो। उनी राष्ट्रिय संग्रहालयमा जागिर पनि खान्थे। कामको सिलसिलामा ऐतिहासिक मूर्ति र त्यससँग जोडिएका घटनाहरूलाई नजिकबाट बुझ्ने मौका पाए।
काठमाडौंको संस्कृति र सभ्यतालाई सानैदेखि देख्दै–भोग्दै आएका हरिप्रसादले यहाँको इतिहास पनि जान्न–बुझ्न पाएपछि ती सबै ज्ञान उनको क्यानभासमा पोखिन थाल्यो।
उनको पेन्टिङको विधा नै इतिहास र संस्कृतितर्फ मोडियो।
'मलाई पहिल्यैदेखि कालजयी चित्र बनाउनुपर्छ भन्ने लाग्थ्यो। जब इतिहासमा रूचि जाग्यो, ऐतिहासिक घटनाहरूलाई चित्रका माध्यमबाट कालजयी बनाउने धून सवार भयो,' हरिप्रसादले आफ्नो कलायात्रा विस्तार लगाए, 'हामी पढेको कुरा छिट्टै बिर्सन्छौं, देखेको कुरा लामो समय सम्झनामा रहन्छ। पढेको इतिहासभन्दा देखेको दृश्य र भोगेको जीवनले बढी प्रभाव पार्छ।'
उनले अगाडि भने, 'मलाई लाग्यो, ऐतिहासिक विषयवस्तु चित्रमा उतार्न सकियो भने त्यसको कथा र सन्देश नयाँ पुस्ताले सजिलै ग्रहण गर्न सक्छन्। इतिहासको कालखण्ड दीर्घकालसम्म चित्रमा जीवित रहन्छ।'
हरिप्रसाद आफ्नो सोचमा सफल छन्।
लिच्छवि राजा मानदेवले चाँगुनारायण मन्दिरको पश्चिमपट्टि गरूडका रूपमा आफ्नै प्रतिमूर्ति र मल्लपुरी विजयसम्बन्धी शिलालेख स्थापना गराउँदै गरेको दृश्यदेखि अंशुवर्माले बनाएको कैलाशकूट दरबार, लिच्छवि कालमा काठमाडौंमा मनाइने साँढे जुधाउने उत्सवदेखि प्रताप मल्लले उद्घाटन गरेको रानीपोखरी, गौतम बुद्धको जीवनकथादेखि यहाँका थुप्रै जात्रापर्व र जनजीवनलाई उनले आफ्नो पेन्टिङमा सजीव पारेका छन्।
उनले जति पनि चित्र बनाएका छन्, ती सबैमा नेवाः सभ्यता र उनले देखेको काठमाडौंको प्रभाव झल्किन्छ।
उदाहरणका लागि, बुद्धको कपिलवस्तु दरबार देखाउँदा उनले नेवाः शैलीको घर बनाएका छन्। झ्यालढोकाहरू पनि नेवा: शैलीकै छन्।
'यो कलाकारको कल्पना हो,' उनले भने, 'कलाकार जुन परिवेशमा हुर्कियो, त्यसको छाप उसको काममा पनि देखिन्छ।'
जिन्दगीका ४० वर्ष लगनटोलमा बिताएका हरिप्रसाद आज पनि चाबहिलबाट बेलामौका असन, इन्द्रचोक र लगनतिर घुम्न जान रूचाउँछन्। नेपाल भाषामा कुरा गर्न पाउँदा त फुरूंगै पर्छन्।
'म जन्मले नेवार होइन तर मेरो हुर्काइबढाइ नेवारभन्दा कम छैन,' भन्छन्, 'म यहाँको जात्रापर्व हेर्दै हुर्किएँ। यहाँको संस्कृति र चालचलन मलाई आफ्नैजस्तो लाग्छ। मनभित्र गढेको यही अनुभूति मेरो क्यानभासमा पोखिन्छ।'
हामीले २०५२ सालपछि सुरू हरिप्रसादको दोस्रो इनिङमा छोरा विष्णुप्रसादको साथको कुरा माथि गरिसक्यौं। यो साथ प्रेरणाको तहसम्म मात्र सीमित थिएन। चित्रको निम्ति विषयवस्तु सुझाउनेदेखि त्यसका लागि चाहिने ऐतिहासिक सन्दर्भसामग्रीहरू जुटाउने र स्थलगत भ्रमणमा लैजानेसम्मको काममा विष्णुको साथ रहँदै आएको छ।
६० वर्ष नाघेका विष्णुप्रसाद आफैं भने चित्रकार होइनन्। पाटन क्याम्पसमा अर्थशास्त्र पढाउने हुँदा उनलाई अध्ययन अनुसन्धानमा रूचि छ। आफ्नो यही रूचि उनी बुवाको पेन्टिङमा प्रयोग गरिरहेका छन्।
'विषयवस्तु छनौटमा हामी बाबुछोराको सहकार्य हुन्छ,' विष्णुले भने, 'कहिलेकाहीँ बुबा आफूलाई आइडिया आएपछि मसँग सल्लाह गर्नुहुन्छ। म त्यो विषयसँग सान्दर्भिक अध्ययन सामग्रीहरू जुटाउँछु। कहिलेकाहीँ मलाई आइडिया आउँछ, म बुवालाई सुनाउँछु। तर आफू कन्भिन्स नभएसम्म उहाँ क्यानभासमा हात हाल्नुहुन्न।'
उनले यो पनि भने, 'बुबालाई कन्भिन्स गर्न सजिलो छैन। त्यो पेन्टिङ बनाउन किन जरूरी छ, त्यसले इतिहासको कुन कालखण्ड चित्रण गर्छ भनेर राम्ररी बुझाउनुपर्छ। उहाँ तयार हुनुभयो भने बल्ल म अध्ययन सामग्रीहरू जुटाउन थाल्छु।'
उदाहरणका लागि, मानदेवको चाँगुनारायण भ्रमणको कुरा गरौं।
आजभन्दा करिब दुई हजार वर्ष अगाडिको त्यो दृश्य चित्रमा उतार्न सजिलो थिएन। मानदेवले चाँगुनारायण गएर के-के गरे, उनका साथमा को-को गएका थिए भनेर थाहा पाउन इतिहास अध्ययन गर्नुपर्थ्यो। विष्णुले इतिहास अध्येता धनवज्र बज्राचार्यको 'लिच्छविकालका अभिलेख' देखि अन्य किताबहरू पढे र त्यसबाट एक-एक कुरा टिपोट गरेर बुवालाई दिए।
त्यही आधारमा मानदेवले चाँगुनारायण मन्दिरको पश्चिमपट्टि विशाल प्रस्तर स्तम्भमा गरूडका रूपमा आफ्नै प्रतिमूर्ति र मल्लपुरी विजयसम्बन्धी शिलालेख स्थापना गराएको थाहा भयो। मल्लपुरी विजयोत्सवका रूपमा आयोजित उक्त समारोहमा मानदेवका साथ जेठी महारानी भोगिनी र अन्य रानीहरू क्षेमसुन्दरी, गुणवती र भारदारहरू सरिक भएको पनि अनुमान लगाइयो। यस्ता तथ्य-विवरण जम्मा भएपछि हरिप्रसादले क्यानभासमा सर्सर्ती कुची चलाउन थाले।
कसैले नदेखेको र भौतिक अवशेष बाँकी नरहेको लिच्छविकालीन कैलाशकूट दरबारलाई हरिप्रसादले जसरी मिहिन उतारेका छन्, त्यसमा उनको कल्पनाको उत्कर्ष भेटिन्छ।
यो चित्र बनाउन बाबुछोराले इतिहासमा पाइने कैलाशकूट दरबारको वर्णन केलाएका थिए। त्यति बेला काठमाडौं भ्रमण गरेर यात्रा वृत्तान्त लेखेका चिनियाँ यात्रीहरूले कैलाशकूट दरबारलाई वास्तुकलाको अद्भूत नमूना भनेर बयान गरेका छन्।
पहिले लिच्छवि राजाहरू मानगृहबाट शासन गर्थे, अंशुवर्माले भने कैलाशकूटबाट शासन चलाएको अभिलेखहरूमा छ। यसै आधारमा हरिप्रसादले राजा अंशुवर्माले कैलाशकूट दरबारमा विदेशी पाहुनाहरू स्वागत गरिरहेको दृश्यचित्र उतारे। चित्रको बायाँ कुनामा एक चिनियाँयात्री आफूले अवलोकन गरेका कुरा टिपोट गरिरहेका देखिन्छन्। यसले हरिप्रसाद शर्माको चित्रमा हुने गहिराइ र दृश्यको व्यापकता समेट्छ।
यस्तै अध्ययन अन्य ऐतिहासिक घटनाक्रम र राजा-महाराजाका मुहारचित्र बनाउनमा पनि गरिएको उनीहरू बताउँछन्।
'मानदेवको मुहारचित्र बनाउन हामीले धेरै अध्ययन गर्यौं,' विष्णुप्रसादले भने, 'इतिहासकारहरूले उनको रूपरंग र हाउभाउबारे जस्तो वर्णन गरेका छन् र चाँगुनारायणको गरूडको मूर्तिमा जस्तो खालको प्रतिरूप भेटिन्छ, त्यसलाई मिहिन केलाएपछि बल्ल बुवाले मानदेवको चित्र उतार्नुभएको हो।'
उनका अनुसार मानदेवको चित्र चागुँनारायणमा भगवानको भक्त भई बसेको गरूणको मूर्ति हेरेर बनाइएको हो। त्यो गरूणलाई इतिहासकारहरूले मानेदवकै प्रतिरूप भन्दै आएका छन्। इतिहासमा वर्णन भएअनुसार मानदेवको छाती चौडा थियो। उनी हाँसेर बोल्ने स्वभावका थिए। यिनै विवरणका आधारमा हरिप्रसादले मानदेवको मुखाकृति अनुमान गरे।
जयस्थिति मल्लको पनि मूर्ति नभेटेर अनुहार ठ्याक्कै यकिन गर्न मुश्किल भएपछि उनले मुगल शैलीको लुगा, लामो जुंगा र मैथली स्वरूप झल्काएका छन्।
इतिहास मात्र होइन, जनजीवनका चित्र बनाउन पनि कम्ता अध्ययन चाहिँदैन। त्यो बेलाको परिवेशदेखि गल्ली, चोकको बनोट, तत्कालीन रहनसहनदेखि मान्छेको आर्थिक हैसियतसम्म अनुमान लगाउनुपर्छ।
लिच्छवि कालमा काठमाडौंमा हुने साँढे जुधाउने उत्सवको चित्र हेरौं।
काठमाडौंको लगनटोललाई लिच्छवि कालमा दक्षिण कोलिग्राम भनिन्थ्यो। त्यहाँ पहिला ठूलो चउर थियो। त्यही चउरमा साँढे जुधाउने राजकीय समारोह हुने गरेको थियो। यसका लागि राज्यद्वारा करसमेत उठाउने गरेको इतिहासमा छ। काष्ठमण्डपमा पनि यस्तै साँढे जुधाउने परम्परा थियो, जसलाई 'गोयुद्ध' उत्सव भनिन्थ्यो। हरिप्रसाद शर्माले इतिहासमा उल्लिखित यिनै विवरणका आधारमा गोयुद्ध उत्सवको दृश्यचित्र उतारेका छन्।
बौद्धनाथ स्तुपको पेन्टिङ हेर्ने हो भने तत्कालीन समाज छर्लंगै हुन्छ।
काठमाडौंको उत्तर-पूर्वी भागमा रहेको बौद्धनाथ स्तुपलाई नेवारहरू 'खास्ती' भन्छन्। यो चित्रकलामा शर्माले दुई-तीन सय वर्षअघिको बौद्धनाथ स्तुप र वरपरको जनजीवन परिकल्पना गरेका छन्।
चित्रमा असोज-कात्तिक महिनातिर बिहानको न्यानो घाममा अन्नपात र जाँडका घ्याम्पा सुकाएर मानिसहरू घाम ताप्दै गरेका देखिन्छन्। अलि पर कञ्चन बागमती नदी, हराभरा फाँट, जंगल र विश्वरूप मन्दिर छन्।
बौद्धनाथको पेन्टिङ बनाउन हरिप्रसादले मौसमअनुसारको तत्कालीन भेषभूषा र घाममा अन्नपात सुकाउने तरिकादेखि जाँडका घ्याम्पाहरूको बनोटमा पनि सूक्ष्म ध्यान दिएका छन्।
छोरा विष्णुप्रसादको मद्दतले जब ऐतिहासिक सन्दर्भसामग्री, पुरानो परिवेश झल्किने पुराना तस्बिर र त्यही ठाउँका नयाँ तस्बिरहरू संकलन भएपछि जब हरिप्रसाद रङ र कुची बोकेर क्यानभासका अगाडि बस्छन्, उनलाई समयसीमाको हेक्का रहन्न। उनी चित्र बनाउँदा समय सीमामा बाँधिन पनि चाहन्नन्। एउटै चित्र बनाउन महिनौं वा वर्षौ लगाउँछन्। कतिपटक त चित्र कोर्दै, चित्त नबुझेर मेट्दै फेरि बनाउँछन्।
जस्तो, लुम्बिनीमा अशोक आगमनको चित्र बनाउँदा मुख्य पात्र अशोकको मुहारमा छोराले चित्त नबुझाउँदा उनले छ-सात पटकसम्म मेटेर बनाएका थिए।
छोराले धेरैपटक 'त्यति राम्रो देखिएन बुवा' भन्दा कहिले त उनी झर्किँदै भन्थे, 'यिनलाई चित्त बुझाउन कत्ति गाह्रो हो!'
भोेलिपल्ट रिस शान्त हुन्थ्यो अनि फेरि छोरासँग सल्लाह गरेर मेट्थे र सुधार्थे। छोराले ठिक छ भनेपछि बल्ल ढुक्क हुन्थे।
'मेरो परिवारको प्रेरणा र सहयोग नहुने भए म कुन हौसलाले यसरी यो उमेरमा काम गर्थें हुँला र?' हरिप्रसादले भने।
हिजोआज उनी भक्तपुर दरबारमा भएको कोटीहोमको चित्र बनाउँदैछन्। त्यहाँ मल्लराजा सरिक छन्। रानीहरू छन्। पुजारी र भारदार पनि छन्। त्यसबाहेक भक्तपुरका स्थानीय कोही खासखुस गर्दै छन्, कोही टोलाएर राजाले यज्ञ मण्डपमा आहुति दिइरहेको हेर्दै छन्।
यो चित्र बनाउन हरिप्रसाद र विष्णुप्रसाद भक्तपुर दरबार स्क्वायर पुगेका थिए। दरबार अवलोकन गरी विभिन्न कोणबाट फोटो खिचेर ल्याए। त्यसलाई हरिप्रसादले क्यानभासमा उतारे र आफ्नो कल्पनाअनुसारका पात्रहरू भर्दै गए।
बन्दाबन्दैको पेन्टिङ देखेपछि हामीले हरिप्रसादलाई सोध्यौं, 'तपाईंको पेन्टिङ गर्ने तरिका के हो?'
जवाफमा उनले भने, 'म पहिला पेन्सिलले कागजमा चित्र कल्पना गर्छु अनि बल्ल त्यसलाई क्यानभासमा उतार्छु।'
भक्तपुर दरबारको चित्रमा भने उनी अलि फरक प्रयास गर्दै छन्। उनले पहिला सधैंझैं कागजमा चित्र बनाए। त्यसपछि कागजको पछाडि पेन्सिलले पूरै कोरेर कालो पारे। यसरी कागजपछाडि पेन्सिलले कोरेको कालोले कार्बन कपीको काम गर्छ। यति गरेपछि कागजमा बनाएको चित्र माथिबाट डटपेनले कोरे। यसले पेन्सिलको मधुरो आकृति तल क्यानभासमा देखियो।
तर यो ढाँचा मात्र हो, पूरा चित्र होइन। कागजमा बनाएको चित्रलाई क्यानभासमा उतारेर रङ भर्दासम्म आकृति निकै परिवर्तन भइसक्छ। कति पात्रको अनुहारको स्वरूप र हाउभाउ फेरिन्छ। कति नयाँ पात्र थपिन्छन्, कति हटाइन्छन्। यो सब उनको कल्पनामा भर पर्छ।
कल्पना जति जति फराकिँदै जान्छ, चित्र उति उति निखारिँदै आउँछ।
कहिलेकाहीँ पात्रहरूको हाउभाउ कस्तो देखिन्छ भनेर अड्कल गर्न नसक्दा उनी आफ्ना छोरा र बुहारीलाई नै तिनको अभिनय गर्न लगाउँछन्।
जस्तो, उनले हालै रूसी लेखक लियो टलस्टयको कथा 'हाउ मच ल्यान्ड डज अ म्यान निड' को चित्र बनाएका छन्। त्यसको निम्ति पात्रहरूको हाउभाउ उतार्न छोराबुहारीले अभिनय गरेर देखाएका थिए। प्रमुख पात्र मरेको बनाउन उसको मुद्रा कस्तो देखिन्छ भनेर विष्णुले भुइँमा सुतेर अभिनय गरेका थिए। शव गाड्न खाल्डो खन्दै गरेको मान्छेदेखि चित्रमा देखिने सबै पात्रका अनुहारको हाउभाउ देखाउन पनि विष्णु आफैं कलाकार बनेर बाबुको अगाडि उभिएका थिए।
उनको अभिनयलाई चित्रमा उतार्न सबभन्दा पहिला विभिन्न कोणबाट फोटो खिचिन्छ र त्यही फोटोका आधारमा हरिप्रसाद आफ्नो क्यानभास भर्छन्।
'अहिले पो हातहातमा मोबाइल भएर फोटो खिच्न सहज छ। पहिले क्यामरा सजिलै उपलब्ध नहुँदा म केही बेरसम्म एउटै मुद्रामा हलचल नगरी बसिरहन्थेँ,' विष्णुले भने, 'मेरो मुद्रा हेरेर बुवा सिधै कागजमा खेस्रा कोर्नुहुन्थ्यो।'
चित्र बनाउन मान्छेको अनुहार र हाउभाउ मात्र भएर पुग्दैन। विषयवस्तु सुहाउँदो भूगोल र त्यहाँको परिवेश पनि चाहिन्छ। यसका लागि विष्णु इन्टरनेट चहार्छन् वा किताबहरू खोज्न थाल्छन्। जुन चित्रका लागि जुन भूगोल र जुन परिवेश उपयुक्त हुन्छ, त्यो लगेर बुवाको अगाडि राखिदिन्छन्।
यसरी बुवालाई पेन्टिङ बनाउन जतिसक्दो सहयोग गरेपछि बचेको समय मात्र अरू काममा लगाउने गरेका विष्णुलाई उनकी श्रीमतीले कहिलेकाहीँ जिस्क्याउँछिन् पनि, 'बुवालाई भन्दा बढी पेन्टिङको नसा त तपाईंलाई लागेको छ।'
त्यो नसा विष्णुका दुई छोरामध्ये ठूलो छोरा चेतनलाई पनि छ। उनले सिसाकलमबाट हरिप्रसादको मुहारचित्र कोरेका छन्। भान्साको पारदर्शी सिसामा अघिल्लो लकडाउन बेला मयुरको चित्र पनि बनाए। उनी व्यावसायिक रूपले पेन्टिङमा लागेका भने छैनन्।
अमेरिकामा पढ्दै गरेका उनी नेपाल आउँदा हजुरबुवालाई भनेर रङ, क्यानभास र कलाकारका किताबहरू ल्याइदिन्छन्। त्यहीँ हुँदा पनि उनलाई हजुरबुवाले बनाएको हरेक पेन्टिङको विवरण दिनुपर्छ, त्यसको फोटो पठाउनुपर्छ। पेन्टिङ अझ निखार्न के गर्न सकिन्छ भनेर उनी उतैबाट सल्लाह पनि दिन्छन्।
'ग्यालरी व्यवस्थापन गर्ने र लाइटिङ मिलाउने काम उसैले गरेको हो,' विष्णुप्रसादले भने, 'कुन ठाउँमा कस्तो लाइटिङ राख्नुपर्छ भनेर ऊ आफैं हेर्छ र आफैं लिएर आउँछ।'
हरिप्रसादलाई ठूलो नातिले भविष्यमा पेन्टिङ अंगाल्छन् कि भन्ने आशा छ। विष्णु भने छोरालाई पेन्टिङमा रूचि भए पनि अब यो क्षेत्रमा लाग्न ढिला भइसकेको बताउँछन्, 'रहर गरेर बेलाबेला बनाउँछ तर उसको बाटो अर्कैतिर मोडिइसक्यो। धन्न बुवाको सीप अगाडि बढाउनुपर्छ भनेर मलाई बेलैमा बुद्धि आएछ।'
२०५२ सालमा बुवालाई पत्नीशोकबाट निकाल्न जसरी उनले चित्रकलामा तल्लीन हुने टख बसाइदिए, यसपालि त्यस्तै बुद्धि लगाएर बुवाका कलाहरूको संकलन पुस्तक निकाल्ने जमर्को गरेका छन्।
किताबको कुरा उठेपछि विष्णुले आफ्नो कोठाबाट एउटा ठूलो कालो बाकस लिएर आए र हरिप्रसादका अगाडि राखिदिए।
हरिप्रसादले बडा तन्मयका साथ बाकस खोले।
बाकसभित्र भर्खरै प्रेसबाट छापिएर आएको तात्तातो किताब थियो, जसलाई उनी आफ्नो जिन्दगीकै सबभन्दा ठूलो सम्पत्ति भन्छन्।
काठमाडौं महानगरपालिकाको सहकार्यमा प्रकाशन गरिएको यो किताब पाँच खण्डमा विभाजित छ – इतिहास, संस्कृति, जीवनशैली र सम्पदा, बुद्धको जीवन र मुहारचित्रहरू। यसको छपाई पनि विशेष छ। झट्ट हेर्दा नेपाली कागजझैं खस्रो देखिने बाक्लो इटालियन कागज प्रयोग गरिएको विष्णु बताउँछन्।
किताबमा नेपालको इतिहासका महत्वपूर्ण क्षण तथा इतिहासको मार्ग बदल्ने ऐतिहासिक घटनाहरूलाई कालक्रमानुसार सिलसिलेवार प्रस्तुत गरिएको छ। यसले लगभग दुई हजार वर्षको काठमाडौं इतिहास, सभ्यता र संस्कृतिको दृश्ययात्रा गराउनेछ।
किताबका पाना फर्लकफर्लक फर्काउँदा दाहिनेतिर पेन्टिङ छ भने देब्रेतिर उक्त पेन्टिङबारे अंग्रेजी, नेपाली र नेपाल भाषामा विवरण प्रकाशित छ। कुनै समय व्यावसायिक अनुवादकका रूपमा काम गरेका विष्णुले नेपाली र अंग्रेजी विवरणमा आफैंले काम गरेका हुन्। नेपाल भाषामा लेख्ने जिम्मा भने छुट्टै मान्छेलाई दिए। प्रत्येक आख्यान चित्रको भाव, संवेग र सन्देश हेरेर तयार पारिएको उनको भनाइ छ।
दुई-तीन वर्षको दौडधुपपछि प्रकाशन भएको किताबका मोटा पाना पल्टाउँदै हामीलाई त्यसमा संग्रहित चित्रहरू देखाउँदा हरिप्रसादको अनुहारमा सन्तुष्टिका लहर यस्तरी दौडिएका थिए, जसरी हाम्रो शरीरका नशामा रगत दौडिन्छन्।
'मेरो जीवनभरिको कमाई यही हो। हामीले आफ्नो समयमा बाँचेको सहरको परिवेश र यसको इतिहास चित्रकथाका रूपमा आगामी पुस्तालाई सुम्पने अवसर पाएँ, म त्यतिमै धन्य छु।'
यसो भन्दै गर्दा हरिप्रसादका आँखा आकाशमा जून चम्केझैं चमक्क चम्केका थिए।
साँझ पर्दै थियो। पर पशुपतिनाथ मन्दिरमा बजेको घन्टीको टङटङ आवाज सुनिन थाल्यो। सायद पशुपतिमा नित्य आरतीको बेला भयो कि!
छुट्टिने बेला हरिप्रसादले आफ्नो ८५ वर्षे जीवन र लामो कलायात्राको निचोड खिच्दै भने, 'मैले आफ्नो परिकल्पनाअनुसार बनाउनुपर्ने ऐतिहासिक चित्रहरूको सूची अझै लामो छ। ती चित्र बनाउन मलाई यो जुनीले मात्र पुग्दैन। त्यसैले अर्को जुनीमा पनि चित्रकार भएर जन्मन मन छ।'
त्यो जुनीमा पनि उनीसँग सहकार्य गर्न विष्णुप्रसादजस्तै छोराको खाँचो पर्ला कि!