झापाको कनकाई नहरमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ।
बिहीबार साँझ पौडी खेल्न पसेका शिवसताक्षी नगरपालिका–९ आइतबारेका १२ वर्षीय सिकुन् राई र सोही स्थानकी ११ वर्षीया एन्जिला सुन्दासको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मृतक राई स्थानीय बाल निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थी हुन् भने सुन्दास माईधारस्थित रेड रोज बोर्डिङ स्कुलकी छात्रा हुन्
मृतक बालबालिका एकै गाउँका सँगै खेल्ने साथी हुन्। स्थानीयवासीका अनुसार विद्यालयबाट घर फर्केपछि खाजा खाएर उनीहरू खेल्न गएका थिए।
बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए। सो क्रममा साँझ ५ बजेतिर शिवसताक्षी–९ स्थित कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो।
खेल्न गएका नानीहरूको बाहिरी बस्त्र मात्र फेला परेपछि स्थानीय र प्रहरीले दुवै जना नहरमा पसेको आशंकमा खोजी सुरू गरेका थिए।
घटनास्थलबाट चार किलोमिटर दुरीको सतासी खोलाको साइफनमा अड्किएको अवस्थामा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताए।
प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ भने घटनाको थप अनुसन्धान पनि सुरु गरेको जनाएको छ।