हामीले भजनहरूमा भगवानको जीवनी सुन्दै आएका छौं। उनीहरू भने आफ्नो मृत आफन्तजनको जीवनी भजन गाउँदै हिँडेका छन्।
गाईजात्राको अवसर पारेर पाटन पिलाछेँका दिवंगत रमेश महर्जनको स्मृतिमा उनका आफन्तले जीवनी भजन गाएका हुन्।
उनीहरू यही भजन गाउँदै पाटनका १७ बहाःबहीः र चार स्तुप परिक्रमा गर्छन्। स्तुपहरूमा बत्ती पनि बाल्छन्।
काठमाडौं उपत्यकामा प्रत्येक भाद्र शुक्ल प्रतिपदाको दिन गाईजात्रा अर्थात् सापारू मनाइन्छ। यो दिन नेवार समुदायले वर्षभरमा दिवंगत भएका आफन्तजनको सम्झना गर्छन्।
दिवंगतको सम्झनामा गाईजात्राको झाँकी निकाल्नु सामान्य भए पनि जीवनकथालाई नै भजनमा ढालेर गाउँदै हिँड्ने काम अचेल विरलै हुन्छ। केहीले दिवंगत व्यक्तिको गुणगान गाउँदै त हिँड्छन् तर जीवनी नै बनाउने काम धेरैले गर्दैनन्।
'रामायण भजन' नाम दिइएको यो भजन परिवारको मूल व्यक्ति बित्दा गाउने परम्परा रहेको रमेशकी श्रीमती सरिता महर्जनले बताइन्।
'भजनमा उहाँ कुन ठाउँमा जन्मिएको, कहिले विवाह गरेको, कति दुःख अनि संघर्ष गरेको र कसरी बित्नुभयो भन्नेसम्मका वृत्तान्त हुन्छन्,' सरिताले भनिन्, 'ती सबैलाई गीतमा उतारेर भजन बनाइएको हो।'
रमेश महर्जनका नाममा आज गाइने भजनका शब्दहरू यस प्रकार छन्:
'...२०७८ साल कार्तिक १ गते,
मज्वीमागु घटना जुल थन
रमेश महर्जन तं हे तन,
हाहाकार जुल चितकार थ्वल
रमेश लुमंका निशब्द खल...'
रमेशको नौ महिनाअघि कोरोनाका कारण निधन भएको थियो। उनी ५८ वर्षका थिए।
गहना व्यवसाय गर्ने उनको काठमाडौंमा 'आरबी डायमन्ड्स' पसल छ। पहिले सिमेन्ट कारखानामा सिमेन्टको बोरा भर्ने काम गरेका उनले गहना व्यवसायसम्मको यात्रामा लामो संघर्ष गरेका छन्। उनको संघर्षको वर्णन भजनमा सुन्न सकिन्छ।
सरितालाई यसरी मान्छे बित्दा भजन गाउँदै हिँड्ने परम्परा पनि छ भन्ने थाहा थिएन। उनी गाईजात्रा मात्र निकाले हुन्छ भन्ठान्थे। एकदिन उनका संगीत गुरू रत्न वोहोसीले जीवनी भजन गाउनुको महत्व सुनाए।
सरिताले सहमति जनाइन्।
'मैले यस्तो परम्पराबारे कहिल्यै सुनेकी थिइनँ,' उनले भनिन्, 'गुरूले रामायण भजन गाउँदा मृत व्यक्तिको आत्मालाई राम्रो हुन्छ भन्नुभयो। उहाँलाई राम्रो हुन्छ भने जे पनि गर्छु भनेर आँटेकी हुँ।'
रमेशको निधन हुनु एक महिनाअघि मात्र सरिताले हार्मोनियम सिक्न थालेकी थिइन्। तर श्रीमानको निधनले उनको सिकाई पूरा भएन।
सरितालाई सानैदेखि संगीतप्रति रूचि थियो। निधनको एक महिनाअघि उनका श्रीमानले भनेका थिए, 'तिमीलाई मैले पनि त्यति समय दिन भ्याउदिनँ, सरी। तिमी संगीत सिक है।'
रमेशको त्यही भनाइबाट प्रेरित भएर हार्मोनियम सिक्न थालेकी सरिताले श्रीमानको अचानक निधनपछि अभ्यास अधुरै छाड्नुपर्यो। गुरू रत्नले भजनमार्फत दु:ख भुलाउने प्रयास गर्न सरितालाई घच्घच्याएपछि उनी अघि सरिन्।
उनी गुरू रत्न वोहोसीको नवसिर्जना समूहमा आबद्ध छन्। रत्नका अनुसार रामायण भजनमा जीवनी हालेर गाउने चलन निकै पुरानो हो।
'पहिले पहिले राजखलक र सम्पन्न परिवारले आफ्नो दिवंगत व्यक्तिका नाममा यस्तो भजन गाउँथे,' उनले भने, 'म आफैंले राजा महेन्द्र र वीरेन्द्रको मृत्युपछि जीवनी भजन बनाएको थिएँ। पुरानो चलन भए पनि पाटनमा यस्तो भजन गाउन छाडेको ३५ वर्ष भइसक्यो। पछिल्लोपटक २०४४ सालमा यस्तो भजन गाइएको थियो।'
उनले अगाडि भने, 'यो भजन राजखलकले पनि गाउँछन्, प्रजाखलकले पनि। भजन गाउँदा दिवंगत व्यक्तिको आत्माले शान्ति पाउँछ र परिवारले सन्तुष्टि पाउँछ भन्ने विश्वास छ।'
यसमा सुरूमा गणेश भजन गाइन्छ। त्यसपछि शिव, सरस्वती अनि बल्ल दिवंगतको जीवनी गाइन्छ।
'जीवनी भजन भनेको श्रीमतीले आफ्नो श्रीमानलाई समर्पित गरेर गाउने विरह गीत हो,' गुरू रत्नले भने।
जीवनी गाएपछि अन्तिममा भगवान राममै भजन टुंगिन्छ। त्यसैले यो भजन पूर्ण रूपले राममा समर्पित छ। त्यही भएर पनि यसलाई रामायण भजन भनिएको हो।
'छ नं राम जि नं राम,
झी झी सकलें सीताराम
रमेशयता तरे याना छ्वयत,
काय् कल सीता रामया नाा
तरय् याना ब्यु वैतर्णी धाम
जय जय जुइमा सीता राम'
'हामीले जन्म र मृत्युबीच यो सांसारिक रंगमञ्चमा विभिन्न गतिविधि गर्छौं। आखिरमा आफ्नो जीवन भगवानलाई नै समर्पण गर्नुपर्छ,' रत्नले भने।
रमेशको जीवनी तयार पार्न रत्नलाई करिब चार महिना लागेको थियो। सुरूमा उनले सरितालाई आफ्नो श्रीमानको बाल्यकालदेखि मृत्युसम्मका विवरण सोधे। त्यसपछि दुई महिना लगाएर गीत लेखे र संगीत भरे।
गीत-संगीत तयार भएपछि दुई महिनायता सरिताकै घरमा दिनहुँ अभ्यास गरियो।
'सुरूमा गुरू र अन्य कलाकार मात्र हुनुहुन्थ्यो,' सरिताले भनिन्, 'मेरा आफन्तजन र छिमेकीहरू पछि मात्र जोडिएका हुन्।'
पाटनका बहाःबहीः र स्तुप घुम्दै भजन गाउने टोलीमा केटाले सेतो र केटीले रातो लुगा लगाएका छन्। लुगा दिनेदेखि भोज खुवाउनेसम्म जिम्मेवारी सरिताकै परिवारको हो। उनले आफन्तजन, साथीहरू र नामसंगातिका ३० जना सदस्यलाई लुगा दिएकी छन्।
रमेशको घर पिलाछेँबाट सुरू परिक्रमा उनकै घरमा आएर टुंगिन्छ। त्यसबीच बाटोमा हिँड्दै र बीचबीचका बहाःबहीः भेटिने खुला ठाउँमा बसेर भजन गाइन्छ। गाउन नसकेको ठाउँमा स्पिकरबाट बजाउन भजन रेकर्ड पनि गराएका छन्।
यो भजन सञ्चालन गर्न धेरै पैसा लाग्ने भए पनि सरितालाई त्यसको चिन्ता छैन।
भन्छिन्, 'पैसाभन्दा ठूलो मन हो। मन भयो भने गर्न सकिन्छ।'