प्राणघातक हमलामा परेका विश्वप्रसिद्ध लेखक सलमान रूस्दीको स्वास्थ्य अवस्था नाजुक रहेको बिबिसीले जनाएको छ। उनलाई भेन्टिलेटरमा राखिएको छ भने एउटा आँखाको ज्योति गुम्ने खतरा छ।
भारतीय मूलका रूस्दीमाथि शुक्रबार अमेरिकाको न्यूयोर्क राज्यमा हमला भएको थियो। साढे दुई हजार जनाभन्दा बढी सहभागी एक कार्यक्रमबीच कालो नकाब लगाएका व्यक्तिले मञ्चमै उक्लेर रूस्दीको घाँटी र शरीरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए। अमेरिकी समयअनुसार शुक्रबार बिहान ११ बजे उक्त हमला भएको हो।
रूस्दीका एजेन्ट एन्ड्रयू वायलीका अनुसार उनको स्वास्थ्य अवस्थालाई लिएर अस्पतालबाट प्राप्त जानकारी त्यति सकारात्मक छैन।
'सलमानको एउटा आँखा गुम्ने आशंका गरिएको छ,' उनले भने, 'उनको हातका केही नशाहरू काटिएका छन् भने कलेजोमा पनि छुराको चोट लागेको छ।'
अहिले रूस्दी भेन्टिलेटरमै भएको र बोल्ने अवस्थामा नरहेको उनले बताए। यसबीच रूस्दीको शल्यक्रिया पनि गरिएको बिबिसीले लेखेको छ।
उनी हमलालगत्तै भुइँमा ढलेका थिए। उनको मन्तव्य सुन्न आएकामध्ये दस-पन्ध्र जना व्यक्तिले मञ्चमा चढेर आक्रमणकारीलाई नियन्त्रणमा लिए। रगताम्मे रूस्दी करिब पाँच मिनेट भुइँमै लडिरहे। त्यसपछि उनलाई उठाएर कार्यक्रम स्थल बाहिर लगियो। त्यहाँबाट हेलिकप्टरमा राखेर नजिकको अस्पताल पुर्याइयो।
न्यूयोर्क राज्य प्रहरीले हमला गर्ने व्यक्ति पहिचान गरिसकेको छ। उनी २४ वर्षीय हादी मतर भएको प्रहरीले जनाएको छ। उनी हिरासतमा छन्।
प्रहरीका अनुसार हादी मतार न्यूजर्सीका बसोबासी हुन्। हमलाको पछाडि उनको उद्देश्य के थियो भन्नेबारे कुनै जानकारी प्राप्त भएको छैन।
अन्तर्राष्ट्रिय बुकर पुरस्कार विजेता ७५ वर्षीय रूस्दीले केही वर्षयता ज्यानको धम्की सामना गर्दै आएका थिए।
भारतमा जन्मिएका रूस्दीको सन् १९८१ मा प्रकाशित 'मिडनाइट चिल्ड्रेन' ले बुकर पुरस्कार जितेको थियो। यो उपन्यास बेलायतमा मात्र १० लाख प्रतिभन्दा बढी बिकेको रेकर्ड छ। उनी यसैबाट संसारभर लोकप्रिय भए। उनका १४ वटा उपन्यास प्रकाशित छन्।
सन् १९८८ मा प्रकाशित चौथो उपन्यास 'द सैटनिक भर्सेस' ले इस्लामविरोधी धारणा फैलाएको भन्दै उनीमाथि ज्यानको धम्की आउन थालेको थियो। त्यसपछि झन्डै एक दशक उनी भूमिगत भएका थिए।
संसारभरि किताबको विरोध हुन थालेपछि प्रतिबन्ध लगाउन माग गरिएको थियो। सँगसँगै सेन्सरसिप र किताब जलाउने प्रवृत्तिको विरोधमा पनि थुप्रै प्रदर्शन भए।
किताब प्रकाशन भएको एक वर्षपछि इरानका सर्वोच्च नेता अयातुल्ला खुमैनीले रूस्दीलाई मार्ने फतवा जारी गरेका थिए। यसले संसारभरि हलचल मच्चिएको थियो।
सैटनिक भर्सेस प्रकाशनपछि विभिन्न देशमा भएको विरोध प्रदर्शन क्रममा ५९ जनाको ज्यान गइसकेको बिबिसीले जनाएको छ। मृतकहरूको सूचीमा उपन्यासका अनुवादकहरू पनि छन्।