प्युठानमा भएको जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। दुई जना भने उपचारपछि घर फर्किएका छन्।
जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ६ बहानेमा आइतबार बेलुकीपख लु १ ज १५४५ नम्बरको जीप दुर्घटना हुँदा वडा नम्बर ५ की ७ वर्षीया करुणा बुढा, उनकी २५ दिनकी बहिनी चेतना बुढा र सोही ठाउँका जीप चालक २५ वर्षीय लुकेश थापाको मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले दिदीबहिनीको अस्पताल लैजाँदै गर्दा बाटोमै र चालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उपरीक्षक थापाले बताए।
दुर्घटनामा दुई छोरीहरू गुमाएकी आमा २५ वर्षीया रेमसरा बुढा र उनका श्रीमान २८ वर्षीय हुमबहादुर बुढा पनि घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको तथा जिल्ला अस्पताल बिजुवारमै उपचार भइरहेको डिएसपी थापाले सेतोपाटीलाई बताए।
नौबहिनी-५ कै थप दुई गम्भीर घाइते ३० वर्षीय दलबहादुर खत्री र २८ वर्षीय मिनराज राना क्षत्रीलाई थप उपचारका लागि बुटवल पठाइएको डिएसपी थापाले बताए।
घाइतेमध्ये १८ वर्षीय धनबहादुर थापा मगर र १८ बर्षीया लक्ष्मी घर्ती मगर उपचारपछि घर फर्किएका छन्। अन्य घाइतेको बिजुवारमै उपचार भइरहेको डिएसपी थापाले बताए।
आइतबार बुलुकी ५ बजेतिर जिल्लाको बाग्दुलाबाट डार्मीतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप नौबहिनी– ६ बहाने बजारनजिकै दुर्घटनामा परेको थियो। डिएसपी थापाका अनुसार स्टेरिङ र ब्रेकले काम नगरेपछि जीप दुर्घटनामा परेको आशंका छ।
'पानी परेको पनि छैन र सडक अप्ठ्यारो पनि होइन,' डिएसपी थापाले भने, 'स्टेरिङ र र ब्रेकले काम नगरेपछि दुर्घटना भएको हुन सक्ने अनुमान छ।'
जीप झन्डै ३५ मिटर तल खसेको उनले जानकारी दिए।