भारतमा मात्रै निर्भर नेपाली चियाको अन्तर्राष्ट्रिय बजार अब चीनतिर पनि फैलिने सम्भावना बढेको छ। उत्तरी छिमेकीले ‘गुणस्तर पुगेको नेपाली चिया ठूलो आकारमा आयात गर्ने’ वचन दिएपछि नेपाली चिया उद्योगमा आशा जागेको छ।
नेपाली चिया क्षेत्र पछिल्लो समय आयातमै कर लगाउने भारतीय तयारीले आतंकित छ। यहीबेला चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्कालाई चिनियाँ पक्षले नेपालको चिया आयात गर्ने वचन दिएपछि नेपालले अर्को अन्तर्राष्ट्रिय बजार पाउने सम्भावना बढेको हो।
नेपालमा उत्पादित चियाको ठूलो हिस्सा भारतीय बजारमा मात्रै पुग्दै आएको थियो। ज्यादै थोरै परिमाणको चिया मात्रै तेस्रो देश जाने गरेको छ। त्यो थोरै परिमाणको चिया चीन जान कुनै अवरोध भने थिएन। यस पटक बेइजिङमा भएको द्विपक्षीय कुराकानी क्रममा ठूलो आकारमै नेपाली चिया आयात गर्ने विषयमा चिनियाँ पक्ष सहमत भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले जानकारी दिए।
'बाटो नै बन्द थियो भन्ने होइन। थोरै-थोरै स्केलमा चिया चीन जान कुनै समस्या थिएन,' सचिव पाण्डेयले सेतोपाटीसँग भने 'यसपटक भने चिनियाँ पक्षले ठूलो स्केलमा आयात गर्ने बताएको छ।’
यसअघि नै बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै चिनियाँ पक्षले नेपाली चिया आयात बढाउने बताएको जानकारी दिएको थियो। चीनका परराष्ट्रमन्त्री वाङ यी ले नेपाली चिया र जडिबुटी आयात बढाउने बताएको जानकारी दूतावासको विज्ञप्तिमा उल्लेख थियो।
‘चिनियाँ विदेश मन्त्री नेपालको कृषि क्षेत्रमा सहयोग गर्न सहमत हुनुभएको छ। उहाँ नेपालको उत्पादन क्षमता बढाउन र नेपाली चिया र अन्य परम्परागत जडिबुटीको निर्यातका लागि सघाउन पनि सहमत हुनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ।
चिनियाँ विदेश मन्त्रीको यो सहमतिलाई नेपाली चिया क्षेत्रका सरोकारवालाले ‘ऐतिहासिक उपलब्धि’ मानेका छन्।
'नेपाली चियाको इतिहासमै यो ज्यादै ठूलो उपलब्धि हो,' राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले भने, ‘यसले भारत निर्भरता कम गर्न मात्र होइन हाम्रो चियाको बिक्रि उच्च मूल्यमा गर्न सघाउनेछ।’
भट्टराईका अनुसार चिनियाँ बजार नेपाली चियाका लागि ज्यादै ठूलो बजार त हो नै, भारतको दाँजोमा राम्रो मूल्य पाइने बजार पनि हो।
‘भारतीय सरकारबाट त नेपाली चिया क्षेत्रलाई खासै समस्या छैन,' उनले भने, ‘तर, त्यहाँको बजारले नेपाली चियाको बाध्यतालाई उपयोग गरेर अनेक बाधा गर्ने गरेको छ। चीनको बजार उपलब्ध हुने कुरा हाम्रा लागि खुसीको कुरा हो। भारतमा भन्दा चिनमा हाम्रो चिया धेरै उच्च मूल्यमा पनि बिक्री हुनेछ।’
नेपालले अहिले भारत पठाइरहेको चिया राम्रो गुणस्तरको भएको दाबी गर्दै भट्टराईले यो चिया चिनियाँ बजारमा सजिलै स्वीकार्य हुने पनि उल्लेख गरे।
‘हाम्रो चियामा भारतीय बजारको एकाधिकार भएका कारण उनीहरूले जे भन्यो त्यही मान्नुपर्ने अवस्था सिर्जना भएको होु,' उनले थपे ‘नेपालको चिया उनीहरूले भने जस्तो कम गुणस्तरको छैन। नेपाली चिया विश्वका जुनसुकै बजारमा पनि सजिलै स्वीकार्य हुने गुणस्तरको छ।’
दुई सरकारका प्रतिनिधिबीचको कुराकानीमा चिनियाँ पक्षले चियाको निर्यातमा सघाउने बताएपछि नेपाली पक्ष चिया चीन पठाउने तयारीका लागि जुटेको सम्बद्ध अधिकारीहरू बताउँछन्।
‘चीनले नेपालको चिया आयात गरोस् भन्ने हाम्रो लामो पहल थियो,’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘यसपटक त्यो काम पूरा भएको छ। अब प्रक्रिया कसरी मिलाउने, के कस्तो तयारी गर्ने, सरकार-सरकारबीच कसरी सहमति गर्ने भन्नेमा मन्त्रालयले काम थालेको जानकारी हामीलाई आएको छ। त्यसैले हाम्रा लागि यो खुसीको कुरा हो।’
यो प्रयास सफल भए खेती सुरू भएको १५९ वर्षपछि पहिलो पटक चीनमा नेपाली चियाको व्यापार सुरू हुनेछ। नेपालमा चिया खेतीको सुरूआतदेखि नै चीन जोडिएको थियो।
बोर्डका अनुसार वि.सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कँदा चिनियाँ जातको चियाको बीउ उपहारस्वरूप तत्कालीन चिनियाँ सम्राटबाट लिई नेपालमा भित्र्याएका थिए। चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं. १९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापना भएको थियो। त्यही दशकमा भारतको दार्जिलिङमा पनि चिया खेती प्रारम्भ भएको थियो।
२००७ सालको प्रजातन्त्र प्राप्तिपछि मात्र नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गयो र यसको सकारात्मक प्रभाव चिया क्षेत्रमा पनि पर्यो। फलस्वरूप २०१६सालमा झापा जिल्लाको रड्गिया डाँडामा बुधकरण चिया बगानको नाममा निजीस्तरको पहिलो चिया बगान स्थापना भएको बोर्डको भनाइ छ। सरकारी स्तरमा पनि २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो। सुरूआती दिनमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नु पर्ने अवस्था थियो। २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना भएको थियो।
२०३९ सालमा तत्कालीन सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम)लाई चियाक्षेत्र घोषणा गरेको थियो। व्यावसायिक रूपमा चिया उत्पादन हुन थालेपछि नेपालबाट तयारी चिया भारत निर्यात हुन थालेको थियो।
भारतीय बजार नै नेपाली चियाको ८० देखि ९० प्रतिशत हिस्सा ओगट्ने बजार बन्यो। यद्यपि भारतीय बजारले समय-समयमा नेपाली चियामाथि अनेक अवरोध खडा गर्दै आएको छ। पछिल्लो समयमा नेपाली चिया आयातलाई मात्रात्मक प्रतिबन्ध लगाउने गरी भारतीय संसद्का दुवै सदनमा प्रस्ताव पुगेपछि मुख्य अन्तर्राष्ट्रिय बजार गुम्ने जोखिम उच्च भएको छ। यसले नेपाली चिया क्षेत्रलाई अत्याएको छ।
लोकसभाको ‘डिपार्टमेन्ट रिलेटेड स्ट्यान्डिङ कमिटी अन कमर्स’ ले तयार पारेको प्रतिवेदनको १७१ नम्बर बुँदामा नेपाली चियालाई आयात प्रतिबन्ध लगाउने कुरा उल्लेख छ। समितिले दुई वटा कारण औंल्याउँदै चिया आयात कसिलो पार्नुपर्ने बताएको छ। समितिले औंंल्याएको पहिलो कारण हो, नेपाली चिया गुणस्तरहीन छ। दोस्रो, एकदमै न्यून मूल्यको चिया मात्रै भारतीय बजार आइपुग्छ। मूलतः गुणस्तरहीन चिया मात्रै नेपालले भारत पठाइरहेको कारण देखाएर समितिले भनेको छ ‘त्यसैले नेपाली चिया आयातमा मात्रात्मक प्रतिबन्ध लगाउनुपर्छ अथवा उच्च आकारमा ‘एन्टी डम्पिङ ड्युटी’ लगाउनुपर्छ।’
हालसम्म कुनै पनि करको दायरामा नपरी भारत निर्यात भइरहेको नेपालको चियामा कर लगाउने अनि गुणस्तरका नाममा मात्रात्मक प्रतिबन्ध लगाइने भएपछि नेपाली चियाले अन्तर्राष्ट्रिय बजार गुमाउने खतरा बढेको भन्दै सरोकारवाला यतिबेला तीव्र दौडधुपमा छन्। यहीबेला चीनले नेपाली चियाको आयात बढाउने बताएपछि नेपाली पक्ष उत्साही देखिएको हो।
यद्यपि नेपाली चियाको चीन निर्यात सहज नहुने कुरामा नेपाली पक्ष जानकार छ। भारतीय बजारमा नेपालको सहज पहुँच छ। खुला सीमाका कारणले र यातायात सुविधाका कारण पनि भारतीय बजार सजिलो मानिन्छ। तर, यातायात असुविधादेखि विकट भौगोलिक अवस्थाले चिनियाँ बजार नेपालीका लागि कठिन हुनसक्ने चिया उद्योगीहरू बताउँछन्। भारतीय बजारको दाँजोमा सयौं गुणा बढी मूल्य चियाले पाउने सम्भावना भएका कारण त्यो परिपूर्ति हुने आशा उनीहरूको छ।
‘भारतमा अहिले हाम्रो चियाले जुन मूल्य पाएको छ, त्यही चियाले चीनमा तीन सय गुणा बढी मूल्य पाउन सक्छ,’ चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक भट्टराईले भने, ‘त्यसैले पछिल्लो चिनियाँ वचन वा द्विपक्षीय सहमति ऐतिहासिक छ।’
बोर्डको पछिल्लो तथ्यांक अनुसार नेपालका २८ जिल्लाको १६ हजार ९ सय २० हेक्टर जमिनमा चिया उत्पादन भइरहेको छ।
सन् २०२०–०२१ मा नेपालमा १ करोड ५६ लाख ४१ हजार केजी सिटिसी चिया उत्पादन भएको थियो। अर्थोडक्स चिया ७१ लाख ६८ हजार २ सय ५५ केजी उत्पादन हुँदा ग्रिन टी ७ लाख ७२ हजार ४ सय ५५ केजी उत्पादन भएको थियो। अन्य चिया १ लाख ५१ हजार ९१ केजी उत्पादन हुँदा कूल २ करोड ३७ लाख ४५ हजार ९ सय १ केजी चिया उत्पादन भएको थियो।