ललितपुर, पाटनमा करिब चार सय वर्ष पुरानो नरसिंह जात्रा मनाइएको छ। मल्ल राजा सिद्धीनरसिंहको पालादेखि सुरू भएको विश्वास गरिने यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ।
पाटनका विभिन्न टोलमा नरसिंहसहित विभिन्न देवदेवीले यात्रा गरेका छन्। नरसिंह जात्रामा बाजागाजा, प्रत्यक्ष भजनसहित नरसिंहको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारालगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ।
जात्रामा नगर परिक्रमा गर्दा मुलुकमा आइपर्ने अनेकौं आपत्ति, रोगव्याधी, डर, त्रास, आँधीहुरी र प्रकोपलगायत नाश भएर जाने मान्यता छ।
जात्रामा भगवान नरसिंहसँगै लक्ष्मी र सरस्वतीलाई देवीको रूपमा राखिन्छ।
विष्णुभक्त प्रह्लादले जात्रा अवधिभर भगवान नरसिंहको सेवा गरिरहेको देख्न पाइन्छ। यो जात्रा विष्णुभक्त प्रह्लादलाई उद्धार गर्न भगवान विष्णुले नरसिंह अवतार लिई दानव हिरण्डकश्यपुको वध गरेको सम्झनामा मनाइएको मानिन्छ।
जात्रामा अप्सराहरूले नरसिंह भगवान हिँड्ने बाटो कुचोले बढार्ने, गोरसले बाटो पखाल्ने, लावाले मार्गलाई सम्मान गर्ने, चवरपंखले हम्कने र दण्डद्वारा बाटोको सुरक्षा गरेका दृश्य जात्राका मुख्य आकर्षण हुन्।
यो जात्रा पाटनका राजोपाध्याय ब्राम्हण समुदायबाट सञ्चालन गर्ने चलन छ।
तस्बिरहरू: