बाँकेको खजुराकी ६४ वर्षीया डोल्मा सुनारलाई धेरै वर्षदेखि शरीर चिलाउने समस्या छ। यसबाट उनी हैरान भइन्। दाङको तुलसीपुर, डुर्मीगाउँका ५१ वर्षीय ईश्वरीप्रसाद चालिसेलाई खुट्टामा एलर्जी भइरहने समस्या भयो।
यी दुवै जना गत साताको एक दिन दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा जुकाले टोकाएर गर्ने उपचार गराउँदै गरेका भेटिए।
जुका पनि साधारण होइन। हेर्दै डरलाग्दा जुका उनीहरूका शरीरमा टाँसिएर रगत चुसिरहेका थिए।
डोल्माले जुकालाई टोकाएर उपचार गराउन थालेको करिब दुई हप्ता भयो। हातखुट्टा र शरीर चिलाउने उनको समस्या निकै पुरानो हो, बाह्र वर्ष जति भयो। जति उपचार गराए पनि निको नभएपछि यहाँ आएको उनले बताइन्।
डोल्मा बाँकेस्थित आयुर्वेद चिकित्सालयमा कार्यरत एक जना चिकित्सक महिलाको सल्लाहमा दाङ आएकी हुन्। उनी चिकित्सालयमा भर्ना भएकी छन्।
डोल्माका अनुसार दुई साताको उपचारले उनलाई केही राहत महसुस भएको छ। ईश्वरीप्रसादको चाहिँ पहिलो दिनको उपचार थियो। डोल्मा र ईश्वरीप्रसाद दुवै जनाका दुवै खुट्टामा चिकित्सकले जुका लगाइदिएका थिए। रगत चुसेर जुका ढाडिएका थिए, हेर्दै डरलाग्दो देखिने।
जुका चिसो प्याडले छोपिएका थिए। चिकित्सकका अनुसार जुकालाई सक्रिय राख्न चिसो बनाइराख्नु परेको हो। प्याड चिसो बनाइराख्न बेलाबेला पानी पनि हाल्थे।
ईश्वरीप्रसादका अनुसार करिब चार वर्षदेखि उनी गर्मी याममा हुने एलर्जीबाट पीडित छन्। घुँडादेखि कुर्कुच्चासम्म चिलाउने समस्या छ। जुकालाई टोकाएर गर्ने उपचारबारे थाहा पाएर आफू आएको उनले बताए।
त्यसरी जुकाले टोक्दा कस्तो अनुभव हुन्छ त!
डोल्माका अनुसार जुकाले टोक्दा कुनै बेला निकै साह्रो दुखेको र कुनै बेला अलिअलिमात्रै दुखेको अनुभव भयो। पहिलो दिन जुका लगाउँदा त आफू निकै तर्सिएको उनले बताइन्। ईश्वरीप्रसादले चाहिँ कमिलाले टोकेकोजस्तो चिसिक्क भएको बताए।
ईश्वरीप्रसादका अनुसार उनी जुकालाई टोकाउन मानसिक रूपमा तयार भएर आएका हुनाले खुट्टामा लगाउँदा खासै वास्ता लागेन।
चिकित्सकको सल्लाहअनुसार केही दिन उपचार गराउने उनले सोचेका छन्। आफ्नो रोग निको हुने उनको विश्वास छ। निको भएन भने नि!
उनले भने, ‘निको भएन भने यस्तो उपचारले पनि नहुने रहेछ भनेर बुझौंला।’
डोल्मा अझै केही दिन यही उपचार गराउने सोचाइमा छिन्। चिकित्सकको सल्लाहअनुसार उपचार पूरा गरेरमात्र फर्किने उनले बताइन्।
ईश्वरीप्रसाद धेरैतिरको उपचारले पनि पार नलागेपछि यहाँ आएका हुन्।
उनले भने, ‘डाक्टरहरू सिजनल सन बर्निङ एलर्जी (घामले भएको मौसमी जलन) हो भन्छन् तर खाने र लगाउने औषधि जति प्रयोग गरे निको भएन।’
जुकालाई टोकाएर गराउने यस्तो उपचारलाई आयुर्वेद चिकित्सकहरू ‘जलौका’ अर्थात् ‘लिच थेरापी’ भन्छन्।
डेढ महिनामा ५० जनाको उपचार
प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीले लिच थेरापी गर्न थालेको डेढ महिना पुग्न लाग्यो। चिकित्सालयका कन्सल्टेन्ट आयुर्वेद शल्यचिकित्सक डा. मदन भण्डारीका अनुसार यस अवधिमा ५० जना जति बिरामी उपचार गराएर फर्के।
उनका अनुसार संक्रमणसहितको निकै पुरानो घाउ, लामो समयसम्म निको नभएको छालासम्बन्धी घाउ, चिलाउने रोग, डन्डीफोर, रक्तनली अवरोध हुने लगायतका रोगहरूमा जुकालाई टोकाउने विधिबाट उपचार हुन्छ।
जुकालाई टोकाउँदा शरीरमा कुनै समस्या पो हुन्छ कि!
‘शरीरमा जुका लगाएर उपचार गर्दा कुनै पनि हानी हुँदैन,’ डा. भण्डारी भन्छन्, ‘यी जुकाले बिरामीको शरीरबाट दूषित रगत चुसेर रोग निको पार्न सहयोग पुर्याउँछन्।’
उपचारमा प्रयोग गरिने जुका खास प्रजातिका हुन्। यी जुका ‘हिरुडो मेडिसिनलिस’ प्रजातिका हुन्। यी युरोपेली जुका हुन्। यिनका एसियाली प्रजाति पनि छन्। नेपाल र भारतमा पनि पाइन्छन्। यी जुका पानीमा बस्छन्।
चिकित्सालयले केही जुका काठमाडौंबाट र केही भारतबाट किनेको र एउटालाई तीन सय रुपैयाँ परेको डा. भण्डारीले बताए। सफा पानीमा पाइने यी जुका दाङमै पनि पाइन्छन्।
उनका अनुसार बिरामीलाई जति वटा जुका लगाए पनि एक दिनमा एक सय रुपैयाँ शुल्क लिने गरिएको छ। कमजोर आय भएका र भर्ना भएका बिरामीलाई उनीहरूको अवस्था हेरेर उपचार निःशुल्क गर्ने गरेको पनि उनले बताए।
चिकित्सालयले यी जुका प्लास्टिकको बट्टामा राखेर लेउ खुवाएर पाल्ने गरेको छ।
डा. भण्डारीका अनुसार एक जना बिरामीको उपचारमा एक दिनमा बढीमा पाँच वटा जुकाले टोकाउन सकिन्छ। बिरामीको अवस्था हेरेर कम्तीमा पाँच दिनमा यो प्रक्रिया दोहोर्याउनु पर्छ।
एक जना बिरामीमा प्रयोग गरिएका जुका अर्को बिरामीलाई कहिल्यै पनि प्रयोग गरिँदैन। रगतबाट सर्ने रोग भए अर्कोलाई सर्न नदिन यसो गर्नु परेको डा. भण्डारीले बताए।
उनका अनुसार पहिलो पटक शरीरमा जुका राख्दा बिरामी अलिअलि डराउने गरे पनि बिस्तारै बानी पर्छ।
अस्पतालका निमित्त प्रमुख डा. सन्तोषकुमार ठाकुरका अनुसार नेपालमा जलौका पद्धतिको उपचार परापूर्वकालदेखि भए पनि प्रयोग कम हुने गरेको छ।
काठमाडौंका नरदेवी आयुर्वेद चिकित्सालय र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा यस्तो उपचार गरिन्छ।
डा. ठाकुरका अनुसार प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी यस्तो उपचार सुरू गर्ने तेस्रो हो। आयुर्वेदमा आधुनिक चिकित्साले पनि लिच थोरापीको प्रभावकारिता स्वीकार गरेको उनको भनाइ छ।
बिजौरीको चिकित्सालयमा लिच थेरापी सुरू भएपछि बिरामीहरू उपचार गराउन आउन थालेका छन्।
डा. ठाकुरका अनुसार भारत र श्रीलंकामा पनि लिच थेरापी प्रचलनमा छ।
उनी भन्छन्, ‘लिच थेरापीमा उपचार गर्दा बिरामीलाई कुनै पीडा हुँदैन, चिरफार गर्नु पर्दैन।’
जुका अभाव हुन नदिन चिकित्सालयले सफा पानीबाट जुका समातेर ल्याउन स्थानीयवासीलाई आह्वान गरेको निमित्त डा. ठाकुरले बताए। लिएर आउनेसँग चिकित्सालयले किन्नेछ।
आधुनिक उपचार पनि
प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीले आधुनिक प्रविधिबाट पनि बिरामीको उपचार सुरू गरेको छ। आधुनिक उपकरणहरूसहितको प्रयोगशाला तथा रेडियोलोजी सेवा उपलब्ध छ।
मधुमेहका बिरामीले नियमित रक्त परीक्षण सेवा पाउँछन्। मुटुको इसिजी (इलेक्ट्रोकार्डियोग्राम) सेवा पनि उपलब्ध छ।
विशेषज्ञले गराउने फिजियो थेरापी सेवा पनि छ। यो सेवा लिन ढाड दुख्ने समस्याका बिरामीहरू आउने गरेका छन्। पाइल्स र फिल्टुका बिरामीहरूको पनि छारसूत्र विधिबाट उपचार हुने गरेको छ।
चिकित्सालय परिसरमा खुला नागरिक व्यायामशाला पनि राखिएको छ। चिकित्सालयको आफ्नै फार्मेसी छ।