उनी घोप्टो परेर मिसिल पढिरहेकी थिइन्। अदालतमा अरू त के पढ्नु र? जसले पढे पनि मिसिलै त हो!
उनले पढ्नु चाहिँ सामान्य होइन भनेर मलाई सर्वोच्च अदालतकी वैतनिक वकिल सुधा धितालले बताइन्।
रातो पहिरन र सिउँदोभरि सिन्दुर लगाएकी ती महिला सोमबार सर्वोच्चको वैतनिक वकिल कक्षमा आफ्नो पावरवाला चस्माबाट मिसिलका मसिना अक्षर पढ्दै थिइन्। म अलिबेर उनलाई हेरेर बसेँ।
धितालले उनलाई थप चिनाउन खोजिन्, 'उहाँ तराईबाट जग्गासम्बन्धी मुद्दा लड्न सर्वोच्च आउनुभएको हो।'
धितालले आफ्नैबारे भनिरहेको थाहा पाएर होला, उनले टाउको उठाइन्।
उनको चस्मा टिलिक्क टल्कियो। उनी मुसुक्क हाँसिन्। त्यसपछि आफ्ना बारेमा आफैं बताउन थालिन्।
शान्तिदेवी कैथल वैश्यको घर सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका, वडा नम्बर ४ मा पर्छ। अहिले विराटनगर बस्छिन्। उच्च अदालत जनकपुरको राजविराज इजलासले आफ्नो जग्गा मुद्दामा गरेको फैसला दोहोर्याएर हेर्ने निवेदन दिन उनी १२ दिनअघि काठमाडौं आएकी हुन्।
'मेरो जग्गामा मोही थिएन। सतन रायकी श्रीमती हिरवादेवीले आफूहरू त्यो जग्गाको मोही हो भनेर मुद्दा हालिन्,' उनले भनिन्, 'जिल्ला र उच्च अदालतबाट मैले हारेँ। त्यसैले यहाँ फेरि अर्को मुद्दा हाल्न आएकी हुँ।'
मुद्दा हाल्न आएकी ६४ वर्षीया शान्तिदेवीले यसरी कनिकुथी अदालतको मिसिल पढ्नुको कारण भने अर्कै रहेछ।
भएछ के भने, राजविराज इजलासमा उनको मुद्दा चलिरहेको थियो। जिल्ला अदालतको फैसलामा के लेखेको रहेछ भनेर उनलाई जान्न मन लाग्यो। तर उनलाई फैसला पढ्न नआउने, अर्कैले अर्थ्याइदिँदा चित्त नबुझ्ने!
उनलाई आफूले पढ्न नपाएकोमा धेरैचोटि पछुतो भएको थियो, त्यस दिन बढ्तै भयो।
'नपढेर धेरै दु:ख पाइयो। अहिले त पढ्न थालेको छु,' उनले भनिन्।
'सानैमा स्कुल जान पाउनुभएन?' मैले सोधेँ।
'स्कुल?' उनको अनुहारमा थोरै चमक आयो। बाल्यकाल सम्झिँदा कसको अनुहारमा चमक आउँदैन र?
'पाएकी थिएँ,' उनले भनिन्, 'गएको पनि हो तर बीचैमा छाडिदिएँ।'
उनी राजविराजको हनुमाननगरमा जन्मिएकी हुन्। साठी वर्षअघि नेपाली समाज बल्ल खुला हुँदै थियो। स्कुलहरू बिस्तारै खुल्न थालेका थिए। छोराहरू स्कुल जान्थे तर छोरीले पढ्नुपर्छ भन्ने चेतना एकाधको मनमा बल्लतल्त पस्दै थियो।
घरमा पुल्पुलिएकी कान्छी छोरी शान्तिदेवी पनि खेल्दै खेल्दै स्कुल पुगिन्। स्कुलमा उनलाई साह्रै असुविधा लाग्यो।
'बहुत मार्थ्यो, पिट्थ्यो,' उनले भनिन्, 'मान्छे त म चकचके नै थिएँ। त्यसमाथि घरकी कान्छी छोरी, निकै पुल्पुलिएकी बदमास थिएँ। घरमा मेरो राज हुन्थ्यो, स्कुलमा खाइने पिटाइ मैले सहनै सकिनँ।'
'अनि मैले स्कुल जानै छाडिदिएँ,' उनले सम्झिइन्।
त्यसरी जान छाडेको स्कुल सम्झेर उनलाई जिन्दगीभर पछुतो भयो। त्यसको केही समयमै उनको विवाह भयो। माइतीमा नसिकेको घरधन्दाको काम उनले पतिको घर आएपछि सिकिन्।
माइतीमा छुटेको स्कुल भने छुटेको छुट्यै भयो।
उनका श्रीमान पनि पढेलेखेका थिएनन्। उनी काम खोज्न काठमाडौं आए। घरमा सासू-ससुरा र छोराछोरी उनले जिम्मा लिइन्। उनको जिन्दगी नै घरपरिवार र छोराछोरीमै घुम्न थाल्यो।
उनलाई आफ्नो सानो संसारबाट बेलाबेला बाहिर निस्किएर नयाँ ठाउँ जान मनपर्थ्यो। त्यसैले बेलाबेला काठमाडौं आउँथिन्। यहाँ श्रीमान ज्यामी काम गर्थे। डेरा लिएर बसेका थिए। आफूलाई भेट्न आएकी श्रीमती लिएर घुम्न जान उनी हच्किन्थे।
शान्ति एक्लै बाहिर निस्किन्थिइन्।
'मलाई नयाँ ठाउँ हेर्न मन लाग्थ्यो। त्यसैले म बजार निस्किन्थेँ, हिँडेरै कहाँ कहाँ पुग्थेँ अनि फर्किन्थेँ,' उनले भनिन्।
त्यति बेला पढ्न पाएको भए अझ धेरै कुरा थाहा हुन्थ्यो भन्ने उनलाई लाग्थ्यो।
काठमाडौंबाट केही समय बिताएर घर फर्किएपछि फेरि उनको जिन्दगी घरधन्दामै अल्झिन्थ्यो।
'घरमा दु:ख थियो। खानलाउन राम्ररी पुग्दैनथ्यो,' उनले भनिन्, 'मैले धेरै दु:ख पाएँ नि। छोराछोरीलाई पनि राम्ररी पढाउन सकिनँ। धेरै पढाउन पनि गाह्रो भयो।'
उनी हकी स्वभावकी भएकीले आफ्नो गरी खाने बाटो खोज्थिन्। काम खोज्न बाहिर पनि जान्थिन्। उनले सप्तरीको बजारमै होटल खोलिन् र धेरै वर्ष चलाइन्।
२०६८ सालमा उनले होटल बेचिदिइन्। त्यसको पैसाले सप्तरीको विष्णुपुर गाउँपालिका- ६ मा एक कट्ठा जग्गा किनिन्।
आठ लाख रूपैयाँमा किनेको त्यही जग्गाको मोही भएको दाबी गर्दै हिरवादेवी रायले २०७५ मा मुद्दा हालेपछि अहिले उनी अदातल धाउँदै छिन्।
२०७६ सालमा जिल्ला अदालत र गएको जेठमा उच्च अदालतको राजविराज इजलासले उनको मुद्दामा फैसला गरे।
'सर्वोच्च आउनुपर्छ भन्ने कसरी थाहा भयो त?' मैले सोधेँ।
'पहिला ससुराको जग्गा पनि मुद्दामा थियो। त्यो बेला पनि सर्वोच्च आएपछि मात्र न्याय पाइएको थियो,' उनले भनिन्, 'त्यो मुद्दामा प्रमाण नपुगेको भन्दै हार्दै आएका थियौं। एकदिन मैले घरमै एउटा रसिद भेटेँ। अनि अदालतमा पेस गर्न मिल्छ कि मिल्दैन भनेर वकिललाई देखाएँ। पछि त्यो मुद्दा हामीले जित्यौं।'
यो मुद्दामा पनि आफ्ना प्रमाण बलियो छन् भन्ने उनलाई लाग्दो रहेछ।
'यो मुद्दामा साँच्चै राम्ररी फैसला हुने हो भने मालपोत, भूमिसुधारका कर्मचारीसमेत फस्छन्,' उनले भनिन्, 'तै पनि अदालतले मलाई नै हराएको छ। किन हरायो थाहा भएन। अब त पढ्न-लेख्न सक्ने भएकी छु। म आफैं सबै कागजातबारे बोल्न सक्छु।'
उनले ससुराले दिएको अंश बेचेर छोराछोरीको बिहे गराइन्। बचेको थोरै पैसाले सानो घर बनाउने सोच थियो। यही एक कट्ठा जग्गाबाहेक आफूहरूको कुनै सम्पत्ति नभएको उनी बताउँछिन्।
अहिले उनी विराटनगरमा रहेको छोरीपट्टिका नातिको जग्गामा बसेका छन्। यो मुद्दा लड्न छोरा अघि बढ्नुपर्ने उनलाई लाग्छ।
'उनीहरूले गर्न सकेनन्। धेरै पढेका छैनन्, जान्दैनन् अनि मै अघि बढेको,' उनले भनिन्।
राजविराजमा मुद्दा चलिरहँदा यसपालि पनि हारिन्छ कि भन्ने उनलाई डर भइरहन्थ्यो। पढालेखा भएको भए कागजात पढेर अदालतलाई बुझाउन सक्थेँ कि भन्ने कुरा खट्केको उनले बताइन्। फैसला आएपछि आफैंले पढ्न सक्ने भए कति जाती हुन्थ्यो भन्ने लागिरहेकै बेला उनले विराटनगरस्थित भरतमोहन फाउन्डेसनमा प्रौढहरूलाई पढ्न-लेख्न सिकाउने गरेको खबर पाइन्।
आफ्नो टोलका बूढाबूढी पढ्न जाने गरेको सुन्नासाथ उनी फागुन ९ गते फाउन्डेसनको अफिस गइन्। त्यहाँ ४० जनालाई पढाउने कोटा रहेछ। तर सबै भरिइसकेको।
उनले आफूलाई पढ्न मन भएको सुनाएपछि फाउन्डेसनले फर्काउन सकेन। कक्षा सुरू भएको १५ दिनपछि उनी भर्ना भएको शिक्षिका शिखा भट्टराईले बताइन्।
त्यसयता उनी दिनहुँ पढ्न जान्छिन्। दिउँसो ११ बजेदेखि दुई घन्टा पढाइ हुन्छ। उनलाई त्यो संस्थाले 'अल इन वान' नामक एउटा किताब दिएको छ। त्यसमा नेपाली, गणित र अंग्रेजीका सुरूआती सिकाइ हुन्छन्।
शिक्षिका भट्टराईका अनुसार फाउन्डेसनले प्रौढ महिलाहरूलाई आधारभूत शिक्षाबाहेक मोबाइल र ग्यास चुल्होजस्ता दैनिक जीवनमा चाहिने सामग्री र विद्युतीय सामान चलाउन सिकाउँछ।
एक वर्षसम्म पढाइ हुने यो कक्षाको अन्त्यतिर संविधान र कानुनमा भएका महिला अधिकार के के छन् भनेर पनि पढाइने उनले बताइन्।
यसरी आधारभूत सिकाइ कक्षामा भर्ना भएको केही समयमै शान्तिदेवीले अक्षर सिकिन्। शब्दहरू बनाउन जानिन्। तिनलाई जोडेर पढ्न पनि जानिन्।
'उहाँले निकै छिटो पढ्न-लेख्न जान्नुभयो। उहाँमा सिक्ने क्षमता धेरै रहेछ,' शिक्षिका भट्टराईले भनिन्, 'नियमित पढ्न आउनुहुन्छ र धेरै सिक्न खोज्नुहुन्छ। अरूले पनि यहाँ पढेपछि धेरै कुरा जानियो र जिन्दगी सजिलो भएको छ भन्नुहुन्छ।'
शान्तिदेवीले पनि आफूलाई पढिरहन मन लाग्ने बताइन्।
'पढ्ने ठाउँबाट घर आएपछि पनि छिटो छिटो काम सकेर किताब पढ्न मन लाग्छ। मिसले दिएको किताब पढ्छु,' उनले भनिन्, 'मलाई धेरै मन छ पढ्ने।'
उनले पढ्दा पढ्दै यता राजविराज अदालतले फैसला सुनायो। उनले फेरि मुद्दा हारिन्। फरक के भयो भने, उनले यसपालि अदालतको फैसला आफैं पढिन्।
उच्च अदालतको फैसला दोहोर्याएर हेरिपाऊँ भन्ने निवेदन दिन सर्वोच्च आउँदा उनले पतिलाई पनि साथै लिएर आएकी थिइन्। उनीहरू सुरूमा गौशालाको धर्मशालामा बसेका थिए। पैसा भएको भए आफ्नो मुद्दा लडिदिने वकिल खोज्दै उनी हिँड्थिन् होला। तर वकिल राख्ने पैसा थिएन।
'पहिला पनि मैले अदालत गएर बहस गरेकी छु, उता अदालतमा,' उनले भनिन्, 'वकिल राख्ने पैसा नभएपछि आफ्नो कुरा आफैं भन्नुपर्यो नि।'
सर्वोच्च अदालत आएपछि कसैले वैतनिक वकिलकहाँ जान सल्लाह दिए। त्यसपछि उनी सर्वोच्चको वैतनिक वकिल शाखामा गइन्। सर्वोच्चले मुद्दा लड्न वकिल नियुक्त गर्न पैसा नहुनेका लागि भनेर दुई वकिल व्यवस्था गरेको छ।
वैतनिक वकिलकहाँ गएपछि उनीहरूले नै मुद्दा दोहोर्याइपाऊँ भन्ने निवेदन लेखिदिने भए। सुरूमा उनका कुरा सुनेर वैतनिक वकिल अधिवक्ता अमिता गौतमले निवेदन लेखिदिइन्। त्यो निवेदन उनले धेरै समय लगाएर पढिन्।
त्यसपछि उक्त निवेदनमा के के कागजातका विवरण राख्ने र कुन कुन कुरा बोल्ने भनेर उनले नै सम्झाइन्।
'हामीले लेखिदिएको निवेदन पनि चित्त नबुझेर यसरी लेखिदिनुहोस् भन्दै सम्झाउनुभयो। आफ्नो मुद्दाका लागि कुन कुन कागजात राख्ने भनेर आफैं भन्नुभयो,' गौतमले भनिन्, 'उहाँको निवदेन एकैदिनमा लेखेर पनि सकिएन।'
शान्तिदेवीलाई मैले दोस्रोपटक माइतीघरको एउटा कम्प्युटर टाइप गर्ने ठाउँमा भेटेँ। उनी अधिवक्ता गौतमसँग मिलेर निवेदन टाइप गराउँदै थिइन्।
बुधबार उनको निवेदन सर्वोच्चमा दर्ता भयो। उनी अहिले विराटनगर फर्किसकिन्।
उनले उतैबाट फोन गरेर भनिन्, 'भदौ २९ गते मेरो पेसी तोकिएको छ। म त्यति बेला फेरि आउँछु।'