दुई-दुई पटक विश्वकै १४ सर्वोच्च शिखरको सफल आरोहण गर्ने पहिलो व्यक्ति बनेका सानु शेर्पाको आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत सम्मान गरिएको छ|
दोहोर्याएर १४ वटा सर्वोच्च शिखर आरोहणमा उनले विश्व किर्तिमान समेत कायम गरेका छन्।
शनिबार पाकिस्तानबाट नेपाल फर्किंदा नेपाल पर्वतारोहण संघ, माउन्टेन गाइड एशोसिएशन अफ नेपाल (मोगान), संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्डसम्वद्ध व्यक्तिहू, पर्वतारोही र पर्यटन व्यवसायीहरूले विमानस्थल पुगेर उनको स्वागत गरेका हुन्।
विमानस्थलमा झाँकीसहित स्वागत तथा सम्मानपछि शेर्पालाई तीनकुने, थापाथली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ, ठमेल हुँदै भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा पुर्याएर सम्मान गरिएको थियो।
सानु शेर्पाले जुलाई २१ को बिहान पाकिस्तानी समयअनुसार ८ बजेर १७ मिनेटमा विश्वको तेह्रौं अग्लो तथा ८,०३५ मिटर उचाईको गसेरब्रुम–२ हिमालको सफल आरोहण गरेसँगै विश्वका १४ अग्ला हिमालहरूको दोहोर्याएर सफल आरोहण पूरा गरेका हुन्।
संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएका ४८ वर्षीय शेर्पाले सन् २००६ मा पहिलो पटक चो-ओयु हिमालबाट आठ हजार मिटर अग्ला हिमालको आरोहण सुरू गरेका थिए। त्यसपछि उनले २००७ मा सगरमाथा, २००८ मा ल्होत्से, २०१० मा मनास्लु, २००६ सिसापाङमा, २०१२ मा केटू, २०१३ मा गसेरब्रुम–१, २०१४ मा कञ्चनजंगा, २०१४ ब्रोडपिक, २०१६ मा अन्नपूर्ण, २०१७ मा नाङगापर्वत, २०१९ मा गसेरब्रुम–२, मकालु र धौलागिरीको आरोहण गरेका थिए।
सन् २०१९ मै अग्ला सात वटा हिमालको दोस्रो पटक आरोहण सम्पन्न गरेका शेर्पाले सन् २०२१ मा अन्नपूर्ण, ल्होत्से र केटु हिमालको आरोहण गरेका थिए। उनी १४ वटा हिमाल आरोहण गर्ने तेस्रो नेपाली पनि हुन्।