काठमाडौं महानगरपालिकाले 'अन्डरग्राउण्ड पार्किङ' क्षेत्रमा सञ्चालित पसल हटाउन सुरू गरेको छ।
सवारी साधनको पार्किङको लागि भनी अनुमति मागेर व्यापार व्यवसाय सञ्चालन गरेपछि महानगरले उक्त ठाउँ खाली गराइरहेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।
उनका अनुसार अहिले बानेश्वरस्थित संसद भवनको पश्चिम गेट अगाडिका भवनका संरचना भत्काउन सुरू गरिएको हो।
‘अहिले भत्काउने काम भइरहेको छ,’ उनले भने, ‘अनधिकृत प्रयोग भएका ठाउँहरू मेयरजीको नेतृत्वमा खटिएको टोलीले भत्काइरहेको छ।’
सवारी साधनको पार्किङ गर्ने अनुमति लिई ती ठाउँमा व्यापार तथा व्यवसाय सञ्चालन भएका ठाउँ खाली गर्न महानगरले यसअघि नै सूचना प्रकाशित गरेर ३५ दिन समय दिएको थियो।
अटेर गरेर अझै पसल सञ्चालन गरेको पाइएपछि महानगरले हटाउन थालेको हो।
घर तथा भवनको नक्सा पास गर्दा ‘अन्डरग्राउण्ड पार्किङ’ को नक्सा पास गरे पनि ती क्षेत्रमा पसल सञ्चालित थिए।
हेर्नुहोस् तस्बिरहरू