नवलपरासी पश्चिममा निर्दोष व्यक्तिहरूलाई लागुऔषध मुद्दामा फसाइएको खुलेको छ।
रामग्राम नगरपालिका-१७ पिपरहियाबाट असार २२ गते भारतको विहार मोतीहारीका रामा गुप्ता र जितेन्द्र पासवानलाई लागुऔषध मुद्दामा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्ता-पश्चिम) ले पक्राउ गरेको थियो। उनीहरू अझै पनि प्रहरी हिरासतमै छन्।
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले प्रहरीसँग मिलेमतो गरी उनीहरूलाई फसाएको आरोप लागेको छ। गुप्ता माओवादी केन्द्रबाट चुनाव जितेका हुन्।
यसरी उनीहरू निर्दोष रहेको भन्ने जानकारी पाएपछि प्रहरी प्रधान कार्यालय नक्साल र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले छुट्टाछुट्टै अनुसन्धानको टोली खटाएको थियो।
काठमाडौंबाट प्रहरी उपरीक्षकको कमान्डमा तीन सदस्यीय टोली नवलपरासी पुगेको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए। उनका अनुसार यसमा प्रदेशबाट छुट्टै प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन जारी छ।
‘त्यहाँका स्थानीयले निर्दोषलाई फसाइयो भनेर फोनबाट हामीलाई जानकारी दिए। यी पक्राउ परेका मानिसहरू यस्तो होइन, ठूलो षड्यन्त्र छ भन्ने कुरा आएपछि छानबिन गर्न टोली गएको छ,’ उनले भने, ‘रक्षक नै भक्षक हुनुहुन्न भनेर हाम्रो यहाँबाट पनि टोली गएको छ। त्यहाँ प्रदेशबाट पनि छुट्टै टोली गठन भएको छ। एसपीकै नेतृत्वमा अनुसन्धान अझै जारी नै छ।’
रामा कवाडीको काम गर्छन्। जितेन्द्र उनका सहयोगी हुन्। असार २२ गते एक जना व्यक्तिले आफ्ना श्रीमानलाई पटक/पटक फोन गरी बोलाएको रामाकी श्रीमती लालसा गुप्ताले बताइन्।
उनी भन्सार कार्यालयमा कवाडी मोटरसाइकल लिन हिँडेका थिए। एक जना व्यक्तिले उनलाई फोन गरेर कवाडीका सामान दिन्छु भनेका थिए। पटक/पटक फोन गरेर बोलाएपछि उनी पिपरहियामा पुगेका थिए। त्यहाँ पनि उनलाई फोन गरेर 'चिया खाँदै गर्नू आउँछु' भनेपछि दुई जना कुरेर बसेका थिए।
‘भन्सारमा मोटरसाइकल लोड गर्न जाँदै हुनुहुन्थ्यो। एक जनाले फोन गरेर बोलाइरहेका थिए। एक दिन अघि मात्रै पनि ती व्यक्ति श्रीमानलाई भेट्न आएका रहेछन्। सस्तोमा सामान दिन्छु भनेर आएका रहेछन्,’ उनले भनिन्, ‘पटक/पटक फोन गरेपछि मेरो श्रीमान चोकमा पुगे। चिया खाँदै बस्नुस् मान्छे आउँछ भनेका रहेछन्।’
त्यही बेला अर्का व्यक्तिले उनीहरूको मोटरसाइकल नजिकै एउटा झोला छाडेर गए। जबकि उनीहरूले कुनै झोला नै नबोकेको लालसाले बताइन्।
पछि प्रहरी आएर उनीहरू दुबैलाई पक्राउ गरी लगेको थियो। प्रहरीले उनीहरूबाट २७० एम्पुल डाइजेपाम, नुर्फिन, फेनार्गन लगायत बरामद गरेको जनाएको छ।
‘सामान उहाँको मोटरसाइकलबाट बरामद गरेको पनि थिएन। पछि भित्र ल्याइसकेपछि मात्रै उहाँहरूले लागुऔषध राखिदिएका हुन्,’ उनले भनिन्, ‘४५ दिन बढी भइसक्यो अझै मेरा श्रीमान भित्रै हुनुहुन्छ।’
आफ्ना श्रीमानलाई पाल्हीनन्दन गाउँपालिका अध्यक्ष समेत रहेका बैजु गुप्ताले फसाएको उनी बताउँछिन्।
उनका अनुसार रामाले बैजुसँग एक करोड ३५ लाख रुपैयाँ लिन बाँकी छ। केही समय अगाडिसम्म कवाडीका सामान रामाले बैजुलाई बेच्ने गर्थे। तर पछिल्लो समय उनीसँगको कारोबार नै बन्द गरेका थिए।
‘आठ महिना भइसकेको थियो हामीले बैजु गुप्तालाई फलाम दिन छाडेको। १२-१३ वर्ष भइसकेको थियो। हामीले उहाँलाई फलाम बेच्न थालेको,’ उनले भनिन्, ‘हामीले भैरहवाको पार्टीलाई फलाम दिन थालेका थियौं। यही रिसले हो कि किन हो थाहा भएन।’
उनले थपिन्, ‘प्रहरी नमिलिकन यस्तो काम गर्न सक्दैन होला। छोटा मान्छेहरूले यस्तो काम पनि गर्न सक्दैन। मेरो श्रीमानलाई फसायो।’
उनका अनुसार उनीहरू २० वर्षदेखि नेपालमै बसेर कवाडीको कारोबार गर्दै आएका छन्। सुरूमा हेटौंडामा कारोबार गरेपछि १४ वर्षयता भने नवलपरासी पश्चिमबाट कारोबार गर्दै आएका छन्।
पटक/पटक पैसा मागेपछि घटना हुनु एक हप्ताअघि मात्रै पनि आफू गाउँपालिका अध्यक्ष समेत भएको हुँदा फसाइदिने भन्दै बैजुले धम्की समेत दिएको स्रोतले बतायो।
निर्दोष व्यक्तिहरूलाई फसाएको भन्दै स्थानीय व्यक्तिहरूले पनि विरोध गर्दै आएका छन्। यस घटनामा संलग्न भनिएका गाउँपालिका अध्यक्ष बैजु गुप्ता र प्रहरी समेतलाई कारबाही गर्न माग गरेका छन्।
स्थानीयहरूले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक ऋषिराम कँडेलसँगको मिलेमतोमा यो घटना भएको आरोप लगाएका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) नलप्रसाद उपाध्यायले यस घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताए।
‘हामीले छानबिन गरिसकेका छौं। यसमा म यति भन्न चाहन्छु दोषी मान्छे कुनै हालतमा छुट्दैन। निर्दोष मान्छे निस्किन्छन् ढुक्क हुनुस्,’ उनले भने,‘छानबिन पनि भइरहेको छ। लगभग सकिएको छ। अहिले नै सबै भन्न मिल्दैन। निर्दोष मान्छे छुट्छ। प्रहरीको मिलेमतो देखियो, निर्दोषलाई फसायो भने उनलाई पनि कारबाही हुन्छ।’
छानबिन समितिले पनि गाउँपालिका अध्यक्ष बैजु गुप्ताले नै फसाएको निष्कर्ष निकालेको छ। उनले नै प्रहरीलाई दिएको सूचनाका कारण निर्दोष व्यक्ति फसेको प्रहरी स्रोतले बतायो। घटनाबारे बैजुसँग सोध्न खोज्दा सम्पर्क हुन सकेन।
गाउँपालिका अध्यक्षले दिएको सूचनामाथि विश्वास गर्दा मोटरसाइकल नजिकै राखेको लागुऔषध उनीहरूकै हो भन्ने प्रहरीको आत्मविश्वासका कारण यो घटना भएको छानबिन समितिको ठहर छ। यसमा प्रहरीको कमजोरी देखिए पनि मिलेमतो भने नदेखिएको स्रोतले जनायो।
‘उनीहरूको बाइकनजिकै कसैले लागुऔषध छाडेर गयो। प्रहरीलाई उनीहरूको मोटरसाइकल नम्बरसहित सूचना आयो। प्रहरी पुगेपछि उनीहरूले लागुऔषध फ्याँकेको भन्ने आत्मविश्वासका कारण निर्दोष व्यक्ति फसेको देखिन्छ,’ स्रोतले भन्यो।
यस्तै, प्रहरीले अध्यक्षका सहयोगी रघुनाथ धोबीलाई पक्राउ गरिसकेको छ।
धोबीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए। धोबी पूर्वप्रहरी समेत हुन्। उनलाई प्रहरीले साउन २४ गते पक्राउ गरेको हो।
यस घटनामा गाउँपालिका अध्यक्षको भूमिका के-कस्तो थियो भन्नेबारे पनि अनुसन्धान भइरहेको उनले बताए। प्रहरीकै मिलेमतोमा फसाइएको भन्ने प्रश्नमा भने प्रहरीलाई सूचना आए पनि उनीहरूबीचको सम्बन्ध के कस्तो थियो भन्ने लगायतका कुराहरू प्रहरीलाई भनिएको हुँदैन।
‘अध्यक्षको भूमिका के-कस्तो छ भन्ने अनुसन्धानकै पाटोमा छ। प्रहरीलाई सूचना आयो, टोली गएर लिएर आयो। उनीहरूबीच पछाडि के-कस्तो कुरा चलेको थियो भन्ने सबै कुरा प्रहरीलाई पनि थाहा हुँदैन,’ उनले भने, ‘जसले फसाएको भनिएको छ उनलाई समातेर ल्याएका छौं।’
प्रहरीले निर्दोष व्यक्तिहरू रामा र जितेन्द्रलाई पनि छुटाउने प्रयास गरिरहेको छ। तर कानुनी प्रक्रियाका कारण ढिलाइ भइरहेको प्रहरी स्रोतले जनाएको छ।